हाँस्य टेलिसिरियल ’मेरी बास्सै’बाट मरिचमान श्रेष्ठ र राजु पौडेलले हाँस्य विधामा आफ्नो परिचय बनाइसकेका थिए । मरिचमान ’बल्छी धुर्वे’ का रूपमा परिचित छन्, राजु ’राजु मास्टर’ बनेर हिट छन् ।
पछिल्लो समय यी दुईको सहकार्यमा ’हल्का रमाइलो’ नामक टेलिसिरियल निर्माण भइरहेको छ । बल्छी धुर्वे र राजु मास्टरले सोही सिरियल मार्फत् दर्शक हसाँइरहेका छन् ।
’हल्का रमाइलो’ सफल सिरियल मानिन्छ । टीभीमा राम्रो टीआरपी बनाएको यस सिरियलले युट्युबमा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । तर, हल्का रमाइलोको सफलतामा मात्र बल्छी धुर्वे र राजु मास्टर रमाउन कहाँ सके र ? हसाँउदा मात्र उनीहरूको आँत कहाँ भरियो र ? उनीहरूले केही नयाँ गर्ने सोच बनाए ।
नयाँ काम त गर्ने, तर के गर्ने ?
उनीहरूमाथि नै उब्जिएको ठूलो प्रश्न चिह्न थियो यो । के गर्ने भन्ने विषयमा उनीहरूले लामो छलफल गरे । निष्कर्ष निस्कियो– इतिहास देखाउने ।
बल्छी धुर्वे र राजु मास्टरले दलित समुदायले भोग्नु परेको पीडालाई मुख्य विषयवस्तु बनाउन चाहे । नाम राखे– ’जुठे’ ।
बल्छी र राजुको लागि यो सहज काम थिएन । पर्दामा हसाँइरहेका उनीहरूले गम्भीर विषयलाई उठाउँदै थिए, जहाँ मजाक चल्दैन ।
बल्छी र राजुले उक्त विषयमा गहन अध्ययन गरे । किनकी, उनीहरूले त्यो पीडा देखेका थिए, भोगेका थिएनन् । अझ पर्दामा उनीहरू नै मुख्य पात्र बन्ने भएपछि उनीहरूले थप अध्ययन गर्नै प¥यो ।
निकै मिहिनेत गरेर बल्छी र राजुले ’जुठे’का केही भागहरू लेखे । दलितको पीडाको विषयमा स्कृप्ट लेख्दा उनीहरूलाई सकस नै प¥यो । ’त्यो भोगाईलाई महसुस गरेर स्कृप्ट लेख्न त हामीलाई निकै गाह्रो भएको थियो,’ बल्छीले सुरुआति दिन सम्झिए ।
दलित बनेर अभिनय गर्नुपर्दा पनि उनले पुर्खाहरूमा दलितले खेप्नु परेको पीडालाई महसुस गर्न सके । जुन साच्चिकै दुःखद थियो ।
जब ’जुठे’को प्रशारण सुरु भयो, यसले तहल्का नै पिट्यो । पहिलो भागदेखि नै युट्युबमा यसले राम्रो दर्शक पायो । ट्रेन्डिङको शीर्ष स्थानमा कब्जा जमायो । पर्दामा हसाँइरहेका बल्छी र राजु मास्टरले गरेको नयाँ अभ्यासलाई दर्शकले रुचाए । राम्रो प्रतिकृया दिए ।
अहिले ’जुठे’ १६ भाग पुगेको छ । सिरियलले सुरुआति दिन झैँ अहिले पनि युट्युबमा तहल्का पिटिरहेको छ । लाखौँ भ्युजसँगै ट्रेन्डिङमा यस सिरियलले स्थान बनाइरहेको छ ।
दलितको कथाभन्दा दलित समुदायको आपत्ति
दर्शकको मन जितिरहेको ’जुठे’का केही भाग प्रशारण भएपछि भने विवादमा पनि प¥यो । दलितकै मुद्दा बोलिरहेको ’जुठे’माथि दलित समुदायले नै प्रश्न उठाए । छुवाछुतको परम्परालाई प्रोत्साह गरेको भन्दै सरियल नै बन्द गर्नुपर्नेसम्म उनीहरूले माग गरे ।
अन्ततः ’जुठे’को प्रशारण केही समय रोकियो ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासँगै अन्य माननीय र सचिवसँग बसेर छलफल गरेपछि यस सिरियल पुनः सुरु भयो । अहिले दलित समुदायबाट आफूहरूलाई निकै राम्रो साथ मिलिरहेको राजु पौडेलले बताए ।
’६५ लाख दलितहरूको आवज बोकेर हिडेको भन्दै उहाँहरूले हामीलाई साथ नै दिनुभएको छ । आउँदा दिनहरूमा कमी कमजोरी सुधार्दै समाज रूपान्तरणमा दलित समुदायले खेलेको भूमिकालाई सकारात्मक ढंगले प्रस्तुत गर्नुस् भन्ने उहाँहरूको सल्लाह छ,’ राजु भन्छन्, ’उहाँहरूको सल्लाहलाई शिरोपर गर्दै हामीले सिरियलमार्फत् दलित समुदायलाई न्याय हुने नै काम गर्नेछौँ ।’
सुरुआति भागहरूदेखि नै दलितको अधिकारका लागि लड्न नमिलेको भन्दै अबको दिनमा न्याय खोज्ने कथाहरू देखाइने बल्छीले बताए ।
’पहिला पीडा नदेखाइ अधिकार कसरी माग्ने ? त्यसैले सुरुआति भागमा पीडा देखाइयो । अब अधिकारका लागि गरिएको लडाई देखाइने छ,’ बल्छीले भने ।
कथा दलितको मात्र होइन
’जुठे’को आगमी भागहरूमा दलितको कथालाई मात्र नदेखाइने मरिचमानले बताए । पहिला–पहिला हुने घरेलु हिंसा, महिलाले भोग्नु परेका दुर्व्यवहारलाई पनि सिरियलमा समेटिने उनको भनाइ छ ।
मरिचमान भन्छन्, ’हामीले सुरुआतमा यी कथाहरू पस्किएका हौँ । अबका दिनहरूमा भिन्न–भिन्न विषयवस्तुलाई पनि पस्किँदै जानेछौँ । हाम्रो कथा दलितको विषयमा मात्र सीमित हुने छैन ।’
आफूहरूको उद्येश्य नै समाज रूपान्तरणको लागि केही भूमिका खेल्ने भएकाले हरेक कुराको सकरात्मक पक्षलाई देखाउने जमर्को गर्ने बल्छीले सुनाए ।
’हाम्रो टिभीसँग ३ वर्षको सम्झौता भएको छ । तत्कालै सिरियल रोकिँदैन्,’ मरिचमान भन्छन्, ’यो तीन वर्षको समयमा हामीले विभिन्न सामाजिक कुरीतिका विषयलाई देखाउने छौँ ।’
मरिचमान र राजुले आउँदा दिनहरूमा पनि दर्शकबाट यस्तै मायाको अपेक्षा रहेको सुनाए ।
मरिचमान र राजुलाई भ्याई–नभ्याई
अहिले मरिचमान र राजुले कुनै दिन फुर्सद पाएका छैनन् । दुई सिरियल एकसाथ गर्नुपर्ने भएकाले पनि उनीहरूले फुर्सद निकाल्न सकेका छैनन् । ’हामीलाई त ९ दिनको एक हप्ता भए हुन्थ्यो जस्तो लाग्न थालिसक्यो,’ मरिचमानले हैरानी पोखे ।
चलिरहेको ’हल्का रमाइलो’ सिरियलको कथा लेख्न उनीहरूलाई एक–दुई दिनको समय लाग्छ । सुटिङको तर्जुमा मिलाउँदा एक दिन बित्छ । सम्पादनको कामले अर्को दिन बिताउँछ ।
त्यो नसकिँदै ’जुठे’को कथामा घोत्लिन थाल्नुपर्छ । कथा लेख्नु प¥यो । छायांकनको लागि कास्की पुग्नुपर्ने । साच्चिकै हैरान छ उनीहरूलाई ।
राजु भन्छन्, ’सकिन्छ होला भनेर हात हालियो । अहिले आएर निकै दुःख खेप्नुप¥यो । हामीलाई त आराम गर्ने फुर्सद पनि छैन ।’
तर, दर्शकले दुवै सिरियलमा देखाएको मायाले उनीहरूलाई ऊर्जा दिएको छ । त्यही मायाकै कारण उनीहरू दिन–रात नभनी काम गरिरहेका छन् । शिलापत्रबाट