मेचीनगर । समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा कुरो नमिल्दा मेचीनगर ६ काँकरभिट्टा स्थित काँकरभिट्टा हेल्थ डेस्क उद्घाटन कार्यक्रम स्थगित भएको छ ।
हालै निर्माण सम्पन्न भएको डेस्कको उद्घाटन कार्यक्रम साउन ९ गते शनिबारलाई तय गरिएको थियो । मध्यान्न १२ बजे उद्घाटन हुने भनिएको कार्यक्रमका प्रमुुख अतिथि विवादका कारण स्थगित भएको जानकारी आयोजक समितिले दिएको छ ।
कार्यक्रमको उद्घाटन स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोेख्रेलबाट गर्ने निर्माण उपभोक्ता समितिले निर्णय गरेको थियो । स्वास्थ्य सचिव उपस्थित हुन नसक्दा इपिडिमियोलोजी तथा महामारी रोग व्यवस्थापन शाखा प्रमुख डा अमृत पोख्रेलबाट गरिने तय भएको थियो ।
आयोजकका अनुसार मेचीनगर प्रमुख विमल आचार्य तथा उपप्रमुख मीना उप्रेतीलाई विशिष्ट अतिथिको रुपमा बोलाइएको थियो । तर, प्रमुख अतिथि र विशेष अतिथिमा ओहोेदाक्रम नमिल्नेकारण देखाइ नगर प्रमुुख आचार्य तथा उपप्रमुख उप्रेती उपस्थित हुन नमानेको आयोजक स्रोतले बताएको छ ।
आयोजक काँकरभिट्टा हेल्थ डेस्क निर्माण उपभोक्ता समितिका अध्यक्ष निरबहादुर कार्की नेत्रले कार्यक्रम सुरु गर्ने समयमा आएर नगर प्रमुख उपप्रमुखज्यूहरुबाट कार्यक्रमको बारेमा औपचारिक जानकारीनै नभएको जवाफ दिएको तर यथार्थ त्यस्तो नभएको बताए ।
कार्कीले डेस्कको उद्घाटन गर्ने सम्बन्धमा नगर प्रमुुख÷उपप्रमुखकै कार्यकक्षमा पुगेर मिति तय गरिएको बताए । ‘हामीले समय अभावका कारण प्रमुख अतिथि परिवर्तन भएको खबर पछिल्लो समयमा गर्यौ होला, कार्कीले भने– तर, सोही कारणले कार्यक्रमनै स्थगित पुग्नु अत्यन्त दुःखद भयो ।
सो सन्दर्भमा नगर प्रमुख विमल आचार्यले मन्त्रालयलका सचिव डा पोख्रेलको प्रमुख आतिथ्यतामा शनिबार उद्घाटन कार्यक्रम गर्ने सल्लाह भएको बताउँदै पछिल्लो समयमा अर्कै प्रमुख अतिथि राखिएको भन्ने सुन्नमा आएको बताए । उनले प्रमुख अतिथि परिवर्तन भएको बिषय तथा समग्र कार्यक्रमकै बिषयमा आधाकारीक जानकारीनै नआएको दाबी गरे । ‘जोकोही आउँदा त हाम्रासँग प्रोटोकल मिल्छ मिल्दैन हामीले त त्यो पनि हेर्नपर्छ प्रमुख आचार्यले भने, डिजी वा डाक्टर को प्रमुख अतिथि आउँदैछ भन्ने अन्यौलता रह्यो र कार्यव्यवस्ततासमेत रहेकाले कार्यक्रममा उपस्थित हुन सकिन । ’
निर्माण उपभोक्ता समिति अध्यक्ष काकीले सार्वजनिकरुपमै फेरीएको प्रमुख अतिथिको बारेमा नगर प्रमुख तथा उपप्रमुखज्यूलाई ढिला जानकारी गराइएको र सोही कारणले नगरप्रमुख, उपप्रमुखहरु अनुपस्थित रहेका कारण कार्यक्रमलाई सुरु गर्न नसकिएको भन्दै उपस्थित ब्यक्तित्वहरुसँग क्षमायाचना गरे ।
उद्घाटन कार्यक्रमका लागि रोग नियन्त्रण महाशाखा प्रमुख डा पोेख्रेलसहितको टोली कार्यक्रम सुरु हुन अगावै डेस्क परिसरमा उपस्थित भएको थियो ।
स्थानीय सरकारको तर्फबाट प्रतिनिधि उपस्थित हुन नसक्दा महाशाखाको टोलीले कार्यक्रम उद्घाटन गर्ने अनुमती पाउन सकेन । स्वास्थ्य मन्त्रालयबाट स्थानीय सरकार अनुपस्थित रहेकाले उद्घाटन कार्यक्रममा सहभागी नहुन टोलीलाई बताएको बुझिएको छ ।
कार्यक्रममा उल्लेख्य संख्यामा संघ संस्थाका प्रतिनिधि, स्थानीय प्रशासन प्रमुख, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
जन–संसद् दैनिकबाट