मेचीनगर । नेपाली कांग्रेसको जारी अधिवेशनबाट मेचीनगरका १५ वटै वडामा सभापित चयन गरिएको छ । धेरै वडामा सर्वसम्मतबाट नेतृत्व चयन गरिएको छ । केही वडाको सभापति छान्न कांग्रेसलाई सकस भएको छ ।
सहमतिको अन्तिम प्रयास विफल भएपछि नेतृत्व छान्न मतदान प्रक्रिया अगाडि बढाउनु परेको छ । मेचीनगरको ५, १३ र १४ नम्बर वडामा सभापति छान्न आइतवार मतदान गर्नुपरेको कांग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले जानकारी दिए ।
वडा नं. १३ मा श्रीराम मरासिनी निर्वाचित भएका छन् । उनले फुर्वा लामालाई पराजित गरेका छन् । यस्तै, वडा नंं. १४ को सभापतिमा प्रेम न्यौपाने निर्वाचित भएका छन् । उनले प्रत्यासी अनिल ढुंगानालाई पराजित गरेका हुन् ।
यस्तै वडा नंं. ५ को सभापतिमा मतदान प्रक्रियाबाटै नारायण खड्का निर्वाचित भएका छन् ।
शनिवारबाट सुरु भएको वडा अधिवेशनमा पहिलो दिन मेचीनगरका १२ वटा वडामा निर्विरोध कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।
१५ वटा वडामध्ये वडा नम्बर १, २, ३, ४, ६, र ७ मा सहमतिका आधारमा नेतृत्व चयन भएको छ । त्यस्तै, वडा नम्बर ८, ९, १०, ११, १२ र १५ मा वडा समिति तथा क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएका हुन् ।
निर्विरोध चयन भएका वडा सभापतिहरूमा वडा नम्बर १ मा हेमलाल गुरागाईं, २ मा नगेन्द्र रिजाल, ३ मा सन्तोष दाहाल, ४ मा सागर कार्की, ६ मा पारस सुवेदी र वडा नम्बर ७ मा कञ्चन बराल रहेका छन् ।
त्यसैगरी, वडा नम्बर ८ मा गिरीराज धमला, ९ मा उद्धव बानियाँ, १० मा चन्द्रबहादुर तिवारी, ११ मा भक्त तामाङ, १२ मा ज्ञानबहादुर तामाङ र वडा नम्बर १५ मा बिर्खलाल राजवंशी सभापतिमा सर्वसम्मत चयन भएका छन् । निर्वाचित भएका अधिकांश वडा सभापतिहरु युवा छन् ।
मेचीनगर घर भई जिल्लादेखि केन्द्रसँग पुगेका नेताहरुको गृहनगर भएकाले पनि यहाँको चुनावलाई विशेष महत्वका साथ हेरिएको थियो । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मादेखि जिल्ला उपसभापति राम कट्टेल, कोषाध्यक्ष केशवराज पाण्डे, सचिव प्रेम सम्वाहाम्फे, ताराविर कट्वाल मेचीनगरबासी हुन् ।
त्यही भएर पनि मेचीनगरमा कांग्रेसले नेतृत्व सर्वसम्मत बनाउन प्रयत्न गर्दागर्दै केही वडामा भने मतदान नै गर्नु परेको कांग्रेस मेचीनगर समितिले जनाएको छ ।