मेचीनगर । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउने क्रममा मेचीनगरमा चरम लापरवाही भएको भेटिएको छ ।
मेचीनगर वडा नम्बर ७ अन्तर्गत रहेको खोप केन्द्रका स्वास्थ्यकर्मीले भेरोसेलको दोेस्रो डोजको पर्खाइमा रहेका एक पुरुषलाई एस्ट्राजेनेका खोप लगाइदिएको पाइएको छ ।
मेचीनगर ७ का ६४ बर्षीय लक्ष्मीप्रसाद कोइरालाले मेचीनगरमा गत साउन १३ गते भेरोसेलको पहिलो डोज लगाएका थिए ।
सोही अभियानमा पहिलो डोज लगाएका नगरवासीलाई मेचीनगरमा भदौ ११ गतेदेखि १३ गतेसम्म भेरोसेलको दोस्रो डोज लगाइएको थियो । तर, सो अवधिमा भेरोसेलको दोस्रो डोज आएको कोइरालालाई पत्तै भएन ।
सरकारले यसअघि फागुन÷चैतमा कोरोनाविरुद्धको कोभिशिल्ड खोपको पहिलो डोज लगाएकालाई दोेस्रो मात्रा एस्ट्राजेनेककै दिने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम झापामा भदौ १५ गतेदेखि २२ गतेसम्म एस्ट्राजेनेका खोप अभियान चलिरहेको छ ।
कोरोनाको दोस्रो डोज वडा कार्यालयमा लगार्इँदैछ भन्ने थाहा पाएपछि खोपबारे बुझ्न आँफू ७ नम्बर वडा कार्यालय पुगेको कोइराला बताउछन् । ‘खोप लगाइँदैछ भनेको सुने र कार्ड बोकेर वडा कार्यालयमा रहेको खोप केन्द्रमा पुगे, कोइरालाले भने,– स्वास्थ्यकर्मीले कार्डमागेर लेखे र मलाई खोप लगाउन पठाए ।’
कोइराला र उनकी श्रीमती दुबैजना दोस्रो डोजको पर्खाइमा थिए । आँफूले खोप लगाइ सकेपछि खोप आएको रहेछ भनेर उनले श्रीमतीलाई खोप केन्द्रमा बोलाए । उनकी श्रीमती भागिरथी कोइरालाले केन्द्रमा पुगेर खोपकार्ड देखाइन्, स्वास्थ्यकर्मीले उनलाई यो खोप लाउन नमिल्ने बताए ।
यसअघि एकै समयमा एकै किसिमको खोप लगाएका श्रीमान÷श्रीमतीमध्ये एउटालाई मिल्ने अर्कोलाई नमिल्ने जवाफ स्वास्थ्यकर्मीबाट पाएपछि मात्र खोप लगाउने क्रममा स्वास्थ्यकर्मीबाट भएको गम्भीर त्रुटी बाहिरियो ।
एउटा भुल सच्याउन स्वास्थ्यकर्मीको अर्को भूल :
खोप लगाउने क्रममा आँफूबाट गम्भीर त्रुटी भएको थाहा पाएपछि ती स्वास्थ्यकर्मीले कोइरालासँग भएको कार्ड मागेर आँफूसँगै राखेर नयाँ कार्डमा एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएको खोपकार्ड भरेर उनको हातमा थमाइ दिए ।
यतिबेला कोइरालासँग भएको खोपकार्ड हेर्दा भदौ २० गते एस्ट्राजेनेकाको पहिलो डोज लगाएको देखिन्छ । जबकी उनले पहिलो डोजको रुपमा गत साउन १३ गतेनै भेरोसेलको पहिलो डोज लगाइसकेका छन् । सो डोज लगाएको आधार अब उनीसँग छैन् ।
खोप लगाउने क्रममा गम्भीर त्रुटी भएपछि पनि स्वास्थ्यकर्मीहरुले उनलाई केही बताएनन् । न अहिलेसम्म उनको स्वास्थ्य अवस्था बुझ्न कुनै सम्पर्कनै गरेका छन् । आइतबार खोप लगाएदेखिनै उनी उच्च ज्वरोसँगै घरमै बसिरहेका छन् ।
सम्बन्धित निकायमा जानकारीसम्म गराइएन :
स्वास्थ्यकर्मीले उल्टो खोप लगाएर पठाएको २४ घण्टा बितिसक्दासमेत नगर स्वास्थ्यशाखा प्रमुखलाई कुनै जानकारी गराइएको छैन् । खोप लगाउने क्रममा वडा कार्यालयबाट भएको त्रुटी सम्बन्धमा आँफूलाई अहिलेसम्म कुनै जानकारीनै नआएको मेचीनगर स्वास्थ्य शाखाप्रमुख रामनारायण यादवले बताए । गम्भीर त्रुटी भएको भन्दै उनले यसबारे तत्काल जानकारी लिने बताए ।
वडा नम्बर ७ का वडाध्यक्ष नेत्र दाहालले समेत आँफूलाई यसबारे कुनै जानकारीनै नभएको बताए । उनले यदी सो भएको भए आँफूले तत्काल बुझेर सम्बन्धित निकायमा जानकारी गराउने बताए ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले एस्ट्राजेनेका र भेरोसेलको भ्याक्सिन क्रस सम्बन्धमा स्वास्थ्य अनुसन्धान नभएकाले भ्याक्सिन क्रस गरेर लगाउने अनुमती सरकारले नदिइएको बताए ।
भेरोसेलको दुबै डोज लगाएको जस्तो कोरोनाविरुद्ध लड्ने प्रतिरोध क्षमता प्राप्त नहुने तर गम्भीर प्रकृतिको असर हालसम्म नदेखिएको दाबी गरे । सो बारेमा आँफूलाई जानकारी नभएको भन्दै घिमिरे सम्बन्धित शाखा प्रमुखसमक्ष जानकारी लिने बताए ।
जनसंसद् दैनिकबाट