मेचीनगर । मेचीनगरमा क्रियाशील संस्थागत विद्यालयका सञ्चालकहरुले विद्यालय सञ्चालन गर्ने वातावरण तयार गरिदिन अनुरोध गर्दै आइतबार ज्ञापन पत्र बुझाएका छन् ।
निजी विद्यालयका दुईवटै संगठन एनप्याब्सन र प्याब्सन मेचीनगर अध्यक्ष क्रमशः भगिरथ राई र डम्बर रुचालद्वारा हस्ताक्षरीत ज्ञापन पत्र मेचीनगर नगर प्रमुख विमल आचार्य तथा उप–प्रमुख मीना पोखरेल उप्रेती समक्ष हस्तान्तरण गरिएको एनप्याब्सन मेचीनगर अध्यक्ष भगिरथ राईले जानकारी दिए । ज्ञापन पत्रको बोधार्थ नगर शिक्षा शाखामा समेत दिइएको छ ।
ज्ञापन पत्रमा लामो समयदेखि कोभिडका कारण विद्यालयहरु बन्द रहँदा शैक्षिक गतिविधि अस्तव्यस्त बनेको र बैकल्पिक सिकाइ सहजीकरणमा आधाभन्दा धैरै विद्यार्थीहरु समेट्न नसकिएको उल्लेख छ ।
अभिभावकहरुबाट समेत विद्यालय सञ्चालनमा दबाब आउन थालेको भन्दै ज्ञापन पत्रमा विद्यालय बन्द हुँदा विद्यालयमा आस्रित हजारौं श्रमजीवी शिक्षकहरुको रोजगारी संकटमा पर्न गएको उल्लेख गरिएको छ । हाल नगर भित्र कोभिडको संक्रमणसमेत घटदो क्रममा रहेकाले विद्यालय सञ्चालन गर्ने वातावरण बनाइदिन नगर समक्ष माग गरिएको छ ।
स्वास्थ्यका सम्पूर्ण मापदण्ड पुरा गरेर विद्यालय सञ्चालन गर्न .तयारी अवस्थामा रहेको र नगरबाट अनुमति प्राप्त भएमा जुनसुकै बेला विद्यालय सञ्चालन गर्न सक्ने तयारीमा आँफूहरु रहेको प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालले बताए ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख आचार्यले विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन आफू तत्पर रहेको र जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न दिने अनुमति लिन आफूले प्रयत्न गर्ने आश्वासन दिएका छन् ।
देशका बिभिन्न स्थानमा विद्यालयहरु भौतिक रुपमा नै सञ्चालन गर्ने अनुमति दिन थालिए पछि मेचीनगरमा समेत विद्यालय खुलाउन प्रयत्न गरिएको छ ।