मेचीनगर । मेचीनगरकै महत्वकांक्षी योजनाका रुपमा रहेको रिङरोड बनाउने प्रक्रिया अघि बढ्ने भएको छ ।
यसै नगरका कांग्रेस युवा नेता विश्वप्रकाश शर्माको पहलबाट वर्तमान सरकारले रिङरोड बनाउन बजेटको रातो पुस्तिकामा उल्लेख गरेको छ । जनताको विकाससँग जोडेर हेरिने रिङरोड मेचीनगर नगरपालिका स्थापना भएदेखि नै चर्चामा थियो ।
मेचीनगर नगरपालिका २०५४ सालमा स्थापना भएको थियो । यस नगरका प्रथम तथा जननिर्वाचित प्रमुख रविन कोइरालाको कार्यकालदेखि नै रिङरोडको विषय खुब उठ्दै आएको थियो । यसअघि सम्पन्न स्थानीय तह, प्रदेश र संघको निर्वाचन र त्यस अघिका चुनावहरुमा दलहरुले यो विषयलाई एउटा मुख्य मुद्धाका रुपमा अघि सारेका थिए ।
सुशील कोइराला प्रधानमन्त्री रहँदा झापा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस नेता विश्वप्रकाश शर्माको परिकल्पना, प्रस्ताव र पहलमा रिङरोड निर्माणका लागि प्रथम किस्ता बापत ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
प्रस्तावित गरी अघि बढाइएको झापा क्षेत्र नम्बर १ को रिङरोडमा प्रथम किस्ताका रूपमा ३ करोड रुपैयाँ बजेट यही भदौ २५ गते संसद्मा प्रस्तुत बजेटमा विनियोजन गरिएको छ । यसै क्षेत्रवासी समेत रहेका कांग्रेस केन्द्रीय सदस्य एवम् प्रवक्ता शर्माको आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नयाँ बजेटमा रिङरोडको योजनाले प्रवेश पाएको हो ।
२०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचन प्रचार प्रसारका क्रममा प्रत्यक्षतर्फ उम्मेद्वार बनेका शर्माले झापाको पूर्वी भू–भागको विकासका परियोजनामध्ये रिङरोडको अवधारणा अघि सारेर प्रस्ताव गरेका थिए ।
चुनावी अभियानका क्रममा मुख्य मुद्दाका रुपमा अघि सारिएको सो योजना कार्यान्वयनमा आउन सकेको थिएन । तर, मेचीनगरवासीले रिङरोडको प्रतिक्षा गर्न भने छोडेका थिएनन् । दलहरुले चुनावी दौरानमा मत माग्ने क्रममा मतदातासँग गरेका बाचा प्रायः अलपत्रै पर्ने गरेका छन् । अन्ततः त्यो सपनाले भने मूर्तरुप पाएको छ ।
सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले आर्थिक वर्ष २०७१/०७२ मा रिङरोडको भूगोल उल्लेख गरी ल्याएको पहिलो बजेटमा सो योजना परेको थियो । नगरको गौरवका रुपमा हेरिएको सो योजना रातो किताबमा प्रकाशित गरी सर्भेका लागि रकम विनियोजन विनियोजन भएको थियो ।
त्यसक्रममा भूगोल परिमार्जनको प्रस्ताव गरी प्रस्ताव बमोजिम सर्भे भएको थियो । आ.व. २०७२/०७३ मा डिपीआरका लागि बजेट स्वीकृत भई डिपीआरको काम २०७३ मा सम्पन्न भएको थियो । त्यसयता २०७४ देखि २०७७ सम्म सो योजना अन्तर्गत कुनै पनि शीर्षकमा बजेट विनियोजन भएको छैन ।
यही भदौ २५ को संसद बैठकमा प्रस्तुत बजेटमा सो रिङरोड निर्माणको थालनी गर्न प्रक्रिया अघि बढाउन प्रथम किस्तास्वरुप ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्वी झापाको पहिचान र प्रतिष्ठासँग जोडिएको रिङरोडको क्षेत्र काँकरभिट्टादेखि सतिघट्टा, दुहागढी, चन्द्रगढी, तेलीबारी, धाइजन, शान्तिनगर, गडीगाउँ, बाहुनडाँगी हुँदै काँकरभिट्टाससम्मको हुनेछ ।