मेचीनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन वडा तहबाट सुरु भइसकेको छ । झापाका सम्पूर्ण वडामा अधिवेशन सम्पन्न भएका छन् । कतै सहमति त कतै निर्वाचनमार्फत वडा समितिदेखि क्षेत्रीय प्रतिनिधिहरु चुनिएका छन् ।
झापाका पन्ध्र स्थानीय तह मध्ये मेचीनगरमा कांग्रेस नेतृत्वको नजर बढी ढल्किएको देखिन्छ । जिल्लातहदेखि केन्द्रीय राजनीतिमा प्रभाव पार्ने नेतृत्वहरुको जमघट मेचीनगरमा हुनुले पनि कांग्रेसको महाधिवेशनको माहोल मेचीनगरमा बढी नै तातेको छ ।
महाधिवेशन सुरु हुन अघि नगरमा सभापति पदका आकांंक्षीहरु केही संख्यामै देखिएका थिए । तर, नगर अधिवेशन आउन चार दिनमात्र बाँकी रहँदासमेत अहिलेसम्म नगर सभापतिको दाबेदारीका उम्मेद्वार सार्वजनिक भएका छैनन् ।
सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्ति दिनु बाहेक कोही नेतागण सभापतिको उम्मेद्वारको पंक्तिमा देखिन चाहेका छैनन् । यसबाट दुईवटा तथ्य सहजै अनुमान लगाउन सकिन्छ ।
पहिलो, नगरमा सर्वमान्य व्यक्तिले नेतृत्व सम्हाल्दै छन्, जसका अगाडि सबै आकांक्षीहरु पछि हट्न बाध्य प्रायः छन् ।
दोस्रो, कांग्रेसको वडा समितिदेखि क्षेत्रीय प्रतिनिधि छनोट हुँदासम्मको परिदृश्यले नै के स्पष्ट देखाएको छ भने नेतृत्व न त व्यक्ति स्वयम्को चाहनाबाट प्राप्त हुनेछ न त कार्यकर्ता मात्रको स्वीकारोक्तिमा नै ।
यहाँ त पार्टीका अग्रज नेतागण वा गुटलाई मुठ्ठीमा कसेर हिँड्न सक्ने नेताले नचाहेसम्म कुनै उम्मेद्वारको सपना विपनामा परिणत हुने सम्भावना नै नरहेको आत्मबोध सबै आकांक्षीहरुले गरेको हुनुपर्छ ।
क्षेत्रीय सभापतिमा वर्तमान नगर सभापति इन्द्रबहादुर बुढाथोकीको चर्चा बाहिरी रहँदा नगर सभापतिको उम्मेद्वारको चर्चा किन सुनिदैन भन्ने प्रश्नमा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलले पार्टीको तर्फबाट समन्वयकारी भूमिका जारी रहेकोे बताए । उनले क्षेत्रीय सभापति मणि उप्रेतीको नेतृत्वमा पार्टीको तर्फबाट सर्वसम्मत उम्मेद्वारी छनोट गर्ने विषयमा आन्तरिक गृहकार्य चलिरहेको बताए ।
क्षेत्रीय सभापति उप्रेतीले नगर सभापतिमा सर्वसम्मत नेतृत्व चुन्नका लागि पार्टी भित्र घनिभूत छलफल चलिरहेको बताए । उनले नगर सभापतिको टुंगो लगाउनकै लागि दुई पटकसम्म पार्टी नेतृत्व तथा सभापतिका आकांक्षीसँग सामूहिकरुपमा बहस चलाइएको बताए ।
यतिबेला नगर सभापतिको लाइनमा वर्तमान नगर उपसभापति सुरेन्द्र बुढाथोकी, नेताहरु पुष्प कार्की, धनकाजी खत्री, वडा नम्बर ४ का अध्यक्ष नवीन बराल, ५ का अध्यक्ष योगेन थापा मगर, १० का अध्यक्ष सुदयकुमार पनेरुको नाम आकांक्षीको रुपमा आएको सभापति उप्रेतीले बताए । यसअघि आकांक्षीको रुपमा देखिएका केही नेताहरु भने पछि हटेको बुझिएको छ ।
भदौ २७ गते आइतबार नगर अधिवेशन हुँदैछ । जसका लागि निर्वाचन गराउनु परे भदौ २६ गते शनिबार उम्मेद्वारी दर्ता गर्नु पर्नेछ । त्यसैले अब कांग्रेस नेतृत्वसँग सर्वसम्मत नेतृत्व छान्ने अवधि दुई दिनको मात्र रहेको छ ।
दुई दिन भित्रमा नगरले सर्वसम्मत नेतृत्व पाउने विश्वास लिइएको उप्रेतीले बताए । यदि सर्वसम्मत सभापति छानिन नसके लोकतान्त्रिक अभ्यासअनुसार निर्वाचनमा जाने र त्यसका लागि समेत आकांक्षीहरु तयार रहेको उप्रेतीको भनाई छ ।
पार्टीको क्षेत्रीय समितिको नेतृत्वका लागि वर्तमान नगर सभापति इन्द्रबहादुर बुढाथोकी र कांग्रेस युवा नेता गोपाल तामाङले इच्छा जाहेर गरेका चर्चासमेत केही समयअघि बाहिरिएको थियो । तर, पार्टी नेतृत्वले भने बुढाथोकीलाई क्षेत्रमा नेतृत्व दिने र तामाङलाई नगरमा राखेर सहमतिको प्रयास गरिरहेको पार्टीको आन्तरिक स्रोतमार्फत बुझिएको छ ।
मेचीनगर नगर तथा क्षेत्रको नेतृत्वलाई सर्वसम्मत बनाउनका लागि कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मासमेत बिहीबार गृहनगर आइपुग्ने स्रोतले बताएको छ ।
नगर अधिवेशनका मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुन् । क्रियाशील सदस्यबाट नगरमा कार्यसमिति चुन्ने विधानको व्यवस्था हालका लागि निलम्बन गरिएको छ ।
पन्ध्रवटा वडा रहेको नगरमा करिब ६१० जना क्षेत्रीय प्रतिनिधिको उपस्थिति रहनेछ । यसअघि ५९० जना क्षेत्रीय प्रतिनिधि छनोट हुने गरेको मा पछिल्लो पटक दलित, अपांगलगायतमा अनिवार्य आरक्षण व्यवस्था गरिएकाले अधिकतम २० जनासम्म प्रतिनिधि बढ्न सक्ने अनुमान छ ।
कांग्रेसका केन्द्र तथा जिल्ला तहका नेताको बाक्लो उपस्थिति रहेको नगरको नेतृत्वलाई सबैले महत्वका साथ हेरेका छन् । यो पटक नेपाली कांग्रेस मेचीनगरको नेतृत्व कसले सम्हाल्ने छ भन्नका लागि भने अझै दुई–चार दिन फर्कनु पर्ने भएको छ ।
काँग्रेसको प्रदेश तहको महाधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अुसोज ५, जिल्लाको असोज १०, प्रदेशको कात्तिक १० देखि १२ र केन्द्रको मंसिर ९ देखि १३ गते भित्रमा गरिसक्नु पर्ने पार्टीको कार्यतालिका छ ।
जन-संसद् दैनिकबाट