मेचीनगर । नेपाली काँग्रेस मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् ।
निर्वाचन समितिले दिएको अन्तिम मतपरिणाम अनुसार पनेरुले २४८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नवीन बरालले २३३ मत प्राप्त गरे ।
सभापतिमा निर्वाचित भएका पनेरु मेचीनगर वडा नम्बर १० का अध्यक्ष हुन् । स्थानीय तहको निर्वाचनमा समेत लोकप्रिय मत प्राप्त गरी विजयी बनेका छन् । नेपाली काँग्रेस झापा समिति सदस्य पनेरु निडर र हाक्की स्वभावका रुपमा परिचत छन् ।
सभापतिका आकांक्षीमध्ये पनेरुले मात्र सर्वसम्मत सभापतिमा आफू बाहेक अरुमा सहमती हुन नसक्ने अडान कायम गरेका थिए ।
लोकतान्त्रिक विधिबाट आफू अघि बढ्ने धोेषणा गरेका पनेरुले अन्ततः निर्वाचनमार्फत आम प्रतिनिधि तथा मतदाताको मन जित्न सफल बनेका छन् ।
काँग्रेस प्रवक्ता विश्वप्रकाशको गृह नगरमा कृष्णप्रसाद सिटौला पक्षका पनेरुले जित हासिल गर्दा विश्वप्रकाश शर्मा पक्षलाई धक्का पुगेको र यसले पार्टीको जिल्ला तथा केन्द्रीय तहको महाधिवेशनमा समेत प्रभाव पाने आकलन नेताहरुले गर्न थालेका छन् ।
उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले ३८० मत प्राप्त गरेका छन् भने खत्रीले ३४६ मत प्राप्त गरेका छन् ।
उपसभापतिका अन्य उम्मेद्वारहरु सन्दिप ओलीले १२६ मत तथा राजु अधिकारीले ५७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिवमा मनोज घिमिरे र मुुकेश लिम्बू निर्वाचित भएका छन् । घिमिरे ३२७ मत तथा लिम्बूले २६८ मत प्राप्त गरेका छन् । सचिवका अन्य उम्मेद्वारमा अशोक राईले १५७ तथा लक्ष्मी काफ्लेले १२५ मत प्राप्त गरेका छन् ।
सहसचिवतर्फ टिकाराम धमला र बिजय भट्टराई विजयी भएका छन् । धमलाले २९६ मत तथा भट्टराईले २१३ मत प्राप्त गरेका छन् ।
सहसचिवकै उम्मेद्वार चन्दन गौतमले १६८ मत, नवीन खतिवडाले १३५ तथा लोकेन्द्र थपलियाले ७१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
मेचीनगरमा काँग्रेस नगर समितिका कुल ४९९ मतदाता मध्ये ४९३ मत खसेको थियो ।