अहिलेको परिप्रेक्ष्यमा मास्क लगाउनु अनिवार्य भइसकेको छ । विगत डेढ वर्षदेखि विश्वभरिकै मानिसहरूलाई कोभिडले आक्रान्त पारेको छ । कैयौँ मानिसले आफ्नो ज्यान गुमाएका छन् । त्यसैले मास्क लगाउनु अनि सामूहिक दूरी कायम गरी आफ्नो दैनिकीलाई निरन्तरता दिनु सबैका लागि सामान्यजस्तै भइसकेको छ । किनकि बिनापैसा हामी सजिलै घरबाहिर निस्कन सक्छौँ होला । तर, बिनामास्क अन्यन्त्र निस्कने हामी कल्पना पनि गर्न सक्दैनौँ ।
बच्चादेखि वृद्धसम्मको उमेर समूहका मानिसहरू सबैमा अब मास्क नलगाई घरबाट बाहिर तथा अरू मानिसको अघि बस्नु हँुदैन भन्ने मनोभावनाको विकास भइसकेको छ । मास्कको पहिले पनि उत्पादन तथा बेचबिखन गरिन्थ्यो, तर यसको व्यापक प्रयोग भने कोरोना भाइरस देखिएपश्चात गरिएको हो । पहिले प्रायः कम मानिसहरूले मात्र मास्कको प्रयोग गर्ने गर्थे । मोटरसाइकलमा हिँड्दा, रुघाखोकी लाग्दा, धूलो–धूवाँको एलर्जी भएमा मास्कको प्रयोग गरिने गरिन्थ्यो । स्वयम् म आफैँ पहिले मास्क लगाउनुपर्दा कानको जरा दुख्छ भनेर स्कुटर चलाउँदा पनि मास्कको प्रयोग गर्दिनथेँ ।
तर, अहिले कोरोनाको कारणले गर्दा बिनामास्क घरबाट बाहिर निस्कँदा लाज लागेजसो, केही सामान छुटेजस्तो र अन्य मानिसले के भन्लान् र प्रहरीद्वारा दण्डित हुनुपर्छ भन्ने पिरलोले पनि मास्क लगाएर निस्कने गर्छौँ ।
कोरोना महामारीले एउटा पाठचाहिँ सबैलाई सिकाएको छ कि मास्कको प्रयोग गर्नाले पहिलेको दाँजोमा अहिलेको समयमा सबैलाई प्रायः रुघाखोकी कम लागेको छ । नेपालमा कोभिडको पुष्टि भएपश्चात् निरन्तर रूपमा मास्कको प्रयोग र चिसो पदार्थको सेवनमा कमी गरेको कारणले गर्दा आजको दिनसम्म मलाई रुघाखोकी, घाँटी दुख्ने तथा ज्वरो आउने जस्ता समस्याहरू देखिएको छैन । झनै अहिले मास्कको यति धेरै लोकप्रियता बढेको छ कि अब त महिलाहरूको कपडाको डिजाइनअनुसारको बजारमा मास्क पाइन्छ ।
कोरोनाको सुरुवाती समयमा मास्कको अभाव हुनुका साथै मानिसहरूले एउटा मास्कको ४–५ सय रुपैयाँ तिरेर समेत प्रयोग गरेका थिए । तर, अहिलेको समयमा भने मूल्य र स्तरअनुसारका मास्कहरू बजारमा सजिलै पाउन सकिन्छ ।
तर, मानिसहरूको खराब आचरण यो पनि छ कि जब कोरोना संक्रमणको दर बढ्दै जान्छ तब मास्कको कृत्रिम अभाव गराई मूल्यमा समेत वृद्धि गर्ने गर्छन् । सदावहार सहज तरिकाले अनि सुपथ मूल्यमा पाइने मास्क त्यतिबेला किन्न नपाइने अवस्था सिर्जना गरिदिन्छन् । त्यस्तै, निषेधाज्ञाको समयमा पनि मास्क उत्पादकहरू नाफामै रहेका थिए । अहिले प्रत्येक पसलमा मास्क राख्ने गर्छन् । किनकि अहिलेको परिप्रेक्ष्यमा मास्क हाम्रो जीवनको अभिन्न अंग जस्तै भइसकेको छ ।
बच्चाहरूसमेत बाहिर जाने भन्नासाथ मास्क खोइ लगाएको भनेर प्रश्न गर्ने गर्छन् । यो स्वास्थ्यको हिसाबले एकदम राम्रो पनि हो । किनकि मास्कको निरन्तर प्रयोगले गर्दा अन्य सरुवा रोगहरू सर्नमा समेत कमी आइसकेको छ । मास्कमा भएको कपडाको लेयरले धूलो–धूवाँ र अन्य कीटाणुहरूलाई नाक तथा मुखको माध्यमबाट शरीरभित्र पस्न दिँदैन । घरमा एक जनालाई रुघा मात्र लागेमा पनि स्वयम् आइसोलेट भई घरभित्रै पनि मास्क लगाएर बस्नाले अरूलाई सर्नबाट जोगाउन सकिन्छ ।
त्यसैले मास्कको अनेक फाइदाहरू रहेका छन् । स्वयम् मलाई नै धूलोको एलर्जीका कारण घाँटीमा खसखस हुने, खोकी लाग्ने गथ्र्यो । तर, मास्कको प्रयोगपश्चात् यस्तो समस्या खासै आएको छैन ।
यस्तै बालबालिकाहरूमा पनि लगातार मास्कको प्रयोग अनि बारम्बार हात धोइराख्ने बानी बसाल्नाले पहिलेको दाँजोमा स्वास्थ्यसम्बन्धी समस्याहरू निकै कम आएको स्वतः हामी आफ्नै घरमा देख्न सक्छौँ । तर, कतिपय मानिसहरू मास्कको दुरुपयोग गरी चिउँडोमा अनि कानमा अड्काउने र नाकसमेत नछोपी लगाउने गर्छन् । यसो गर्नाले स्वयम् आफैंलाई हानि पुर्याउने गर्छ । त्यसैले स्वयम् सजग अनि सतर्क भएर बसौँ । केही घटना घटेर पश्चात्ताप गर्नुभन्दा घटना घट्न नै नदिनु बुद्धिमानी हो ।