बुद्धशान्ति । कोरोना संक्रमण बढेसँगै झापाको बुद्धशान्तिका विद्यालयहरु खुलेको एकहप्ता नपुग्दै फेरि बन्द हुन थालेका छन् ।
झापामा जिल्ला प्रशासन कार्यालयबाट भदौमा जारी गरिएको आदेशमा स्थानीय तहसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने अधिकार प्रत्यायोजन भएसँगै झापाका अधिकांश स्थानीय तहले विद्यालय खुलाउन सकिने किसिमको निर्णय सार्वजनिक गरेका थिए ।
त्यही अधिकारको प्रयोग गर्दै एक हप्ताभित्रमा झापाका सबै पालिकाामा विद्यालयहरु भटाभट खुले । सो अवधिमा झापामा दैनिक दर्जनको संख्यामा कोरोना संक्रमित थपिँदै थिए । तर, यतिबेला झापामा कोरोना संक्रमण दैनिकरुपमा बढ्दो छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश १ अन्तर्गत रहेको कोरोना डेस्कले दिएको तथ्यांक अनुसार झापामा पछिल्लो पाँच दिनमा कोरोनाको संक्रमण उकालो लाक्दो अवस्थामा छ ।
असोज ९ गते ३० जनामा कोरोना संक्रमण पुष्टि भएको झापामा १० गते ७० जना, ११ गते ८५ जना तथा १२ गते मंगलबार ८९ जना तथा बुधबार ७० जनामा संक्रमण पुष्टि भएको छ ।
बढ्दो कोरोना संक्रमणको प्रभाव झापा बुद्धशान्तिमा फेरि देखिन थालेको छ । कोरोनाका संक्रमित बढ्दै जाँदा संक्रमित क्षेत्रका विद्यालयहरु क्रमशः बन्द हुन थालेका छन् ।
बुद्धशान्ति–१ मा रहेको बुद्ध आदर्श माविका १४ जना शिक्षकमा कोरोना संक्रमण देखिए पछि विद्यालय खुलेको तीन दिनमै बन्द गर्नु परेको विद्यालयका प्रध्यानाध्यापक कृष्ण भण्डारीले जानकारी दिए ।
‘कक्षा ११/१२ तथा कक्षा १ देखि ३ सम्मको पठनपाठन सुरु गरेका थियौं, मसहित विद्यालयका १४ जना शिक्षकमा कोरोना संक्रमण भयो, ‘प्रअ भण्डारीले भने–’अनिश्चित कालसम्मका लागि विद्यालय बन्द गरेका छौं ।’
उनले विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सुरुवाती चरणमा संक्रमण देखिन साथ विद्यालय बन्द गरेर उपलब्ध शिक्षकहरु मार्फत अनलाइन कक्षाहरु सञ्चालन गरि रहेको जानकारी दिए ।
बुद्धशान्तिकै वडा नम्बर ५ शान्तिनगरमा रहेको संस्थागत विद्यालय शान्ति निकेतन अंग्रेजी माविले समेत अधिकांश विद्यार्थीहरुमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएका विद्यालय बन्द गरिएको सूचना मंगलबार जारी गरेको छ । भौतिक उपस्थितिमा सञ्चालन हुँदै आएको विद्यालयका कक्षाहरु अनलाइनमार्फत सञ्चालन गर्ने निर्णय भएको विद्यालयले जानकारी दिएको छ ।
त्यस्तै बद्धशान्ति–४ स्थित श्री मावि बर्नेले समेत भौतिक उपस्थितिको कक्षाहरु बन्द गरेको छ । विद्यालयका प्रध्यानाध्यापक चन्द्रप्रसाद उप्रेतीले विद्यालयमा दैनिक ज्वरो आउने विद्यार्थीको संख्या बढ्दै गएको तथा समुदाय एवम् विद्यालयमै जोखिमको तह बढेको पाइएकोले गाउँपालिका शिक्षा शाखा तथा विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा बुधबारबाट पठनपाठन बन्द गर्नु परेको बताए ।
बुद्धशान्ति-७ मा रहेको राष्ट्रिय विजय माविले समेत बिहीबारबाट भौतिक उपस्थितिको पठन पाठन बन्द गर्ने निर्णय गरेको विद्यालयका प्रध्यानाध्यापक शिवप्रसाद पौडेलले बताए । एक जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको र सम्पर्कमा रहेका अन्य विद्यार्थीहरुमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएकाले संक्रमण जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको पौडेलको भनाई छ ।
विद्यालयमा ज्वरोको प्रकोप बढेको भन्दै विद्यालयबाट शिक्षा शाखा समक्ष जानकारी आउँन थालेको बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले बताए । निरौलाका अनुसार हालसम्म तीनवटा विद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकिने जानकारी शिक्षाशाखा समक्ष गराएका छन् । स्थानीय स्तरमा संक्रमण जोखिमको अवस्थालाई हेरेर विद्यालय व्यवस्थापन समिति तथा अभिभावकसँगको समन्वयमा विद्यालयले भौतिक उपस्थितिका कक्षाहरु स्थगन गर्न सकिने निरौलाले बताए ।
संक्रमण घटेको भन्दै प्रशासनबाट विद्यालय सञ्चालन गर्न सकिने आदेश आएसँगै खुलेका विद्यालयहरु पुनः बन्द हुने अवस्थामा पुगेका छन् । संक्रमण जोखिमलाई मध्य नजर गर्दै विद्यालयमा भौतिक उपस्थितिको सिकाइ बन्द गर्ने स्थितिमा विद्यालयहरु पुगेको पाइएको छ ।
झापालगायत देशकै तथ्यांकलाई हेर्ने हो भने पनि २० वर्षदेखि कम उमेर समूहका बालबालिकाहरुमा कोरोना संक्रमण हुने दर बढेको छ । बुधबार नेपालमा देखिएका १ हजार १५७ जना कोरोना संक्रमितमध्ये १ सय ३० बालबालिका छन् ।
यसरी हेर्दा बालबालिकाको स्वास्थ्य तथा शिक्षासमेतलाई मध्यनजर गर्दै सरकारले बालबालिकाहरुका लागि यथाशीघ्र कोरोना विरुद्धको खोपको व्यवस्था गर्नु पर्ने देखिएको छ ।
अन्यथा बालबालिकाहरु ठुलो संख्यामा जमघट हुने विद्यालय जस्ता क्षेत्रहरु अनिश्चितकालसम्म प्रभावित हुने देखिन्छ । यसमा सरोकारवालाहरुको बेलैमा ध्यान जान जरुरी देखिएको छ ।
जन-संसद् दैनिकबाट