झापा : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १८ वटा विषय पार्टीको भावी कार्यक्रम र योजनामा अनिवार्य समेटिनु पर्ने बताएका छन् । १४ औं महाधिवेशनबाटै कांग्रेसले यी विषय अघि बढाउनु पर्नेमा उनले जोड समेत दिए । ” पार्टीको महाधिवेशनले नेतृत्व मात्र छान्छ कांग्रेसले अरु केही गर्दैन भन्ने कुरा बारम्बार उठ्छ,अब अन्त्य गरिनै पर्छ ” झापा मेचीनगरका विजेतालाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा उनले भने,” मत दिने र नदिने मात्र होइन, राजनीतिबाट टाढा रहनेलाई पनि कांग्रेसले सम्झनु पर्छ ।”
उनले कांग्रेसले कांग्रेसलाई मात्र सम्झेर नपुग्ने धारणा राखे । शर्माले आफ्नो गृहनगर धुलाबारीमा बेरोजगार र वैदेशिक रोजगारमा गएको जनशक्ति, भूमिहीन , स्वास्थ्य पहुँचमा नभएको समूदाय, किसान- श्रमिक, विद्यार्थी- शिक्षक – प्राध्यापक , सहिद तथा घाइते, जायज माग उठाउने वर्ग, पत्रकार, लेखक – साहित्यकार, चिकित्सक, सुरक्षाकर्मी, पुरानो पुस्ता लगायत १८ अनुहारलाई सम्झनु पर्ने बताए । भ्रष्टाचार र सामाजिक बिकृति – विसंगति विरुद्ध लड्ने स्पष्ट खाका र रणनीति पार्टीले तय गर्नु पर्नेमा शर्माले जोड दिए ।
असोज ३ गते गृहजिल्ला झापा आएर राजनैतिक परिवर्तन सम्बन्धि २४ बुँदे अवधारणा सार्वजनिक गरेका प्रवक्ता शर्माले दुई सातापछि गृहनगर धुलाबारीबाट १४ बुँदे कार्यक्रम तथा योजना अघि सारेका हुन् । आफूले अघि सारेका कार्यक्रम पुरा गर्ने सके नवीन कांग्रेस बनाउन कसैले रोक्न नसक्ने उनले दावी समेत गरे । ” हामीले कुरा मात्रै गरौं, काम गरेनौं” उनले भने,” खाका बनाएर काम गर्न सके १५ वर्षमा धेरै काम गर्न सम्भव छ, राजनीति परिवर्तनको आभास नागरिकलाई अवस्य दिलाउन सकिन्छ ।” लोकतन्त्रको बिकल्प लोकतन्त्र भए जस्तै कांग्रेसको बिकल्प कांग्रेस नै भएको उनको तर्क छ ।
राजनीतिक दल र तिनका नेताले देशभन्दा पनि संसद, मन्त्री र प्रधानमन्त्री बनाउँदैमा समय खर्चिएको स्वीकार गरेका उनले अब त्यसमा समय खर्चेर जनताको निराशा चिर्न नसकिने बताए। पाकाको आँखामा आँसु नआउने अवस्था र भूमिका नपाएकाले भूमिका पाइनँ भन्ने अवस्था रहेसम्म पार्टी सशक्त नहुने उनको भनाइ छ। विश्वप्रकाश र कृष्णप्रसाद सिटौलालाई जिताउन नसक्ने कांग्रेसले झापामा केपी ओलीसँग जुध्न नसक्ने लाक्षणिक तर्क गरे।