बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ ।
परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिन्छिन् । दाँत झरेका कारण मुखबाट समय–समयमा केही ¥याल आउँछ । फुलेका कपाल खासै झरेका छैनन् । आँखा तेजिला देखिन्छन् । बोली स्पष्ट नभए पनि अरुले कानमा पुगेर भनेका कुरा सुन्ने र बुझ्न सक्छिन् ।
नजिकै आएकालाई शरीरको हाउभाउबाट प्रतिक्रिया दिनसक्ने हजुरआमाका आमा लामिछाने सम्भवतः विश्वकै ज्येष्ठ नागरिक भएकाले उहाँको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ज गराउने अन्तिम तयारी भएको छ ।
लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उहाँको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको छ । हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड देखिएको छ ।
तानाकाभन्दा जेठी लामिछानेलाई नेपालले अभिलेखीकरणको प्रक्रियामा ढिलाइ गरेकाले उक्त विश्व पहिचान प्राप्तिमा ढिलाइ भएको हो । नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी छविलालकी श्रीमती लामिछानेको आवासका लागि बाटुली लामिछाने फाउण्डेशनले निर्माण गरेको बाला भवन बिहीबार हस्तान्तरण कार्यक्रममा यी हजुरआमालाई ह्विलचियरमा राखेर मञ्चमा लगिएको थियो ।
उनी झण्डै पाँच घण्टासम्म एकै ठाउँमा रहेर अरुले लगाइदिएको खादा, दोसल्ला ओढेर बसिन् र सहभागीको आकर्षणको केन्द्र भइरहिन् । ‘मलाई आशीर्वाद दिनुस् आमा’ भन्दै खुट्टा ढोग्न पुग्नेलाई टाउकामा हात राखिदिने, ‘मलाई चिन्नुभो ?’ भन्नेहरुलाई एकछिन हेरेर हाँसिदिनेजस्ता उहाँका व्यवहार टाढाबाट त्यहाँ पुगेकाका लागि अप्रत्यारिला लाग्थे तर उनलाई वर्षौैँदेखि देखिरहेका छिमेकी केदार भण्डारी भन्छन्, “उहाँ बलियो हुनुहुन्छ, अझै केही वर्ष केही हुँदैन, तर राज्यले उहाँलाई विश्वकै ज्येष्ठको पहिचान दिलाउन भने ढिलाइ गर्नु हुँदैन ।”