विर्तामोड । प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा गरेको संसद विघटनको निर्णयको नेपाली कांग्रेस झापाले घोर निन्दा र भत्र्सना गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘संविधानको मर्म र भावना, नेपाली जनताको बलिदानीपूर्ण संघर्षको अवमूल्यन गर्दै जालझेलपूर्ण तरिकाले जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गर्नु मुलुकलाई जटिल र गम्भीर राजनैतिक दुर्घटनातर्फ धकेल्ने आपराधिक षडयन्त्र’ हो विज्ञप्तिमा भनिएको छ ।
‘मैले बिश्वासको मत लिन सकिन, मसँग प्रतिनिधिसभाको बहुमत छैन भन्ने पुष्टि भैसक्यो, बजेट ल्याउन ढिला भएकोले नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न मैले संविधानको धारा ७६ को ५ अनुसारको सरकार गठनका लागि राष्ट्रपतिकोमा सिफारिस गरेको हुँ’ भनेका के.पी. ओलीले त्यसको केही घण्टापछि आफूसँग बहुमत छ भनेर दावी गर्नु राजनीतिक पाखण्डीपन भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ –‘नेपाली जनताले चाहेको केपी र बिद्याले षडयन्त्रमा संविधान मिचेर चल्ने बिकृत गणतन्त्र होइन, थिएन ।
समुन्नत, सभ्य लोकतान्त्रिक गणतन्त्रका जनताले गरेको त्याग र बलिदानलाई अपमान र अवमूल्यन गर्ने कुकर्मीहरुलाई नेपाली जनताले दण्डित गर्ने नै छन् ।’ बहुमत (१४९) सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दावी पेश गर्नुभएका पार्टी सभापति शेरबहादुर देउवा र उहाँको समर्थनमा राष्ट्रपति कार्यालयमा माअेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरु स्वयम् उपस्थित हुदाँसमेत केपी ओलीको कीर्ते बखेडाको मतियार बनेर राष्ट्रपति भण्डारीले राष्ट्रघाती कुकर्म गरेको र यसले लोकतान्त्रिक गणतन्त्रलाई नै विकृत बनाएको सभापति थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समुन्नत, सभ्य लोकतान्त्रिक गणतन्त्रका जनताले गरेको त्याग र बलिदानलाई अपमान गर्नेलाई नेपाली जनताले दण्डित गर्ने विश्वास समेत विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीको गुटगत राजनीतिको सिकार बनेर राष्ट्रपतिले राष्ट्रिय अहितमा संविधानविरोधी कार्य गरेको ठहर गर्दै विज्ञप्तिमा प्रतिनिधिसभा पुनस्थापनाका लागि पुनः आन्दोलनमा जानुको विकल्प नरहेको जनाइएको छ ।
कोरोना संक्रमणको तेस्रो भेरियन्टसमेत भित्रिइसकेको र संक्रमणका कारण जनता घरबाहिर निस्कन नसक्ने अवस्थामा चुनावी बहानामा निरंकुश अधिनाकवादी शासन ब्यवस्था लाद्ने प्रधानमन्त्री र राष्ट्रपतिका षडयन्त्रविरुद्ध लोकतन्त्रवादी जनसमुदाय र शक्तिहरुलाई एकजुट हुन पनि आह्वान गरिएको छ ।
‘संविधानलाई मिचेर सम्पूर्ण सत्ता आफ्नो हातमा लिने तत्कालीन राजा ज्ञानेन्द्र शाहका बिरुद्ध महान बलिदानी संर्घष गरेका नेपाली जनतालाई केपी र बिद्याले जिस्क्याउने गल्ती गरेका छन’ विज्ञप्तिमा भनिएको छ– ‘कोरोनाको महामारीमा बिरोध प्रर्दशनहरु हुन सक्दैनन् भनेर गरिएको यो षडयन्त्रलाई बैचारिक तहबाट भण्डाफोर गर्दै कोरोना प्रकोप न्यूनीकरणसँगै आन्दोलनको आधिबेहरी ल्याइनेछ ।’ संविधान मिच्दा ज्ञानेन्द्र शाहको जुन हविगत भएको थियो, केपी र बिद्याको पनि त्यही हालत हुने चेतावनी पनि दिइएको विज्ञप्तिमा संविधान विरोधी गलत कार्यको डटेर प्रतिरोध गर्न पनि आह्वान गरिएको छ ।
यसैबीच नेपाली काँग्रेस झापाको सूचना, सञ्चार तथा प्रचार विभाग झापाको संयोजनमा नेपाली कांग्रेस झापाका पदाधिकारी, क्षेत्रीय, प्रदेश क्षेत्रीय तथा गाउँ÷नगर सभापतिहरुको शुक्रबार सम्पन्न बैठकले लाइगरेको भर्चुअल बैठकको निर्णय बमोजिम जिल्लामा रहेका पार्टीका सबै भवनहरु कोभिड निवारणका लागि आइसोलेशन वार्ड सञ्चालनका लागि प्रयोग गर्न जिल्लास्थित म्ऋऋःऋ लाई पत्राचार समेत गरिसकिएको जनाएको छ । कोभिडबाट ज्यान गुमाएका नेता, कार्यकर्ता र सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना व्यक्त गर्दै उपचाररत नेता कार्यकर्ताको शीघ स्वास्थ्य लाभको कामना गरिएको छ ।
बैठकले गरेका निर्णय समेत उल्लेखित विज्ञप्तिमा कोभिड महामारीविरुद्ध लड्न पार्टीले जिल्ला तहमा जिल्ला सभापति, क्षेत्रीय तहमा क्षेत्रीय सभापति र संसदीय निर्वाचन क्षेत्रमाक्षेत्रीय सभापतिहरूको संयोजकत्वमा कोभिड सहायता समिति निर्माण गरी नागरिकको घरदैलोमा पुग्ने निर्णय गरेको एललेख छ । पार्टीको क्रियाशील सदस्यताका विषयमा पार्टी केन्द्रको निर्देशन र तोकिएको कार्यतालिका अनुसार कार्यसम्पादन गर्ने निर्णय भएको पनि जनाइएको छ ।
नेपाली जनताको त्याग र शहीदको बलिदानबाट पा्रप्त लोकतान्त्रिक गणतन्त्र नै समाप्त हुने अवस्था बन्दै गएको हुनाले यस्तो संविधान बिपरित कार्य गर्ने राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव दर्ता गर्नका लागि नेपाली काँग्रेस केन्द्रीय समितिलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको विज्ञपितमा जनाईएको छ ।