भीम बास्कोटा ।
पछिल्लो बेमौसमी वर्षाले पुर्याएको क्षति निरीक्षणका लागि केही दिनअघि इलाम र पाँचथरको सीमा क्षेत्रमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वी पहाडीको ‘लाइफलाइन’ का रूपमा रहेको मेची राजमार्गको अवस्था सुधार गर्ने प्रतिबद्धता जनाए ।
घरघरमा गाडी पुर्याउने होडले पनि समस्या निम्तिएको भन्दै पछिल्लो समय अनगिन्ती खनिएका सडकले पनि विनाश गरेको प्रमको आशय थियो । तर कात्तिक सुरुवातदेखि आएको अविरल झरीका कारण ९० ठाउँमा पहिरो झरेको मेची राजमार्ग अझसम्म दोहोरो रूपमा खुलाउन भने कुनै पहल हुन सकेको छैन ।
इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको उत्तरपूर्वी क्षेत्रका लागि मेरुदण्डका रूपमा रहेको राजमार्ग पछिल्लो विपत्तिभन्दा अघिदेखि नै क्षयीकरण हुन थालिसकेको थियो । वर्षाका कारण क्षतिग्रस्त राजमार्गको मर्मतका लागि साढे ८ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ । गएको असोज १६ मा इलामको नारायणस्थान क्षेत्रमा मेची राजमार्गको आधा भाग खसेको थियो ।
मोटरसाइकलसम्म ओहोरदोहोर गर्न मिल्ने अवस्थामा रहेको उक्त सडक कात्तिक ३ मा मान्छेसमेत आउजाउ गर्न नसक्ने अवस्थामा जीर्ण बन्न पुग्यो । राजमार्ग अवरुद्ध भएपछि सवारी साधन बाक्ला घर र साँघुरो सडक भएको इलाम बजार क्षेत्रबाट पास भइरहेका छन् । जसका कारण नियमितको ट्राफिक जाम, प्रदूषण, कोलाहल र बजार क्षेत्रको सडक पनि क्षयीकरण हुने क्रम निरन्तर बढेको छ । पहिरोको अस्थायी समाधान गरेर इलाम बजार क्षेत्रको राजमार्गलाई सञ्चालनमा ल्याउनुपर्ने भन्दै स्थानीयले माग गरिरहेका छन् ।
वर्षाका कारण माईखोला नजिक राजदुवाली, रोङको किटेनी, इलाम नपाको वरबोटे, मलाते, देउमाई नगरपालिकाको रक्से–राँके खण्डमा धेरै अवरोध देखिएको छ । तर सडक एकतर्फी रूपमा खुले पनि सामान्य पहिरो पनि नहटाइँदा दुर्घटनाको जोखिम भने बढेको छ । ‘अल्पकालीन र दीर्घकालीन रूपमा सडकको समस्या समाधानका लागि प्रयास भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्काले भने, ‘तत्कालका लागि सुरक्षा निकाय र सरोकारवालाबीचको समन्वयमा अवरोध खुलाइए पनि दीर्घकालका लागि पनि ठोस प्रस्ताव गरेका छौं ।’
झापाको चारआलीबाट ७७ किलोमिटर इलाम बजारसम्मको क्षेत्रमा ६० वटाभन्दा धेरै गोलाइ छन् । पहाडबीच नागबेली खनिएको यही राजमार्ग बनोटकै कारणले उच्च जोखिममा रहँदै आएको छ । ‘अप्ठेरो भूगोलमा रहेको राजमार्गमा क्षमताभन्दा धेरै भारवहन गर्ने गाडी गुड्दा समस्या झन् थपिँदो छ,’ इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले भने, ‘राजदुवाली क्षेत्रको सडक कुनै समय पनि चुँडिएर जाने अवस्था भएकाले वैकल्पिक उपाय खोजिनुपर्छ ।’
सामान्य अवरोध हटाउन पनि तीन तहका सरकारी संयन्त्रबीच समन्वय नहुँदा समस्या देखिएको हो । ‘सडक डिभिजन र पालिकाबीच तत्काल समन्वय गर्ने हो भने अवरोध हटाउन मुस्किल हुँदैन,’ माई नगरपालिकाका मेयर दीपक थेबेले भने । पछिल्लो भलबाढीले इलाममा देउमाई खोलाको पक्की पुल र एउटा कल्भर्ट बगाएको छ । अधिकांश ग्रामीण सडक क्षतिग्रस्त छन् । पछिल्लो वर्षाका कारण मेची राजमार्गमा मात्र ८ करोड ५८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
वर्षाका कारण ८ परिवारका १५ जनाले ज्यान गुमाएको इलाममा २ सय ८५ जना विस्थापित भएका छन् । यो विपत्तिमा परेका ५ जना घाइते तथा ९ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरोका कारण ६ सय ४४ घरगोठमा पूर्ण र आंशिक क्षति पुगेको छ । १९ घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन् । क्षतिको विवरण आउने क्रम जारी रहेको प्रशासनले जनाएको छ ।
जोरपाटीबाट