झापा । प्रदेश १ मा कोरोना परीक्षण गर्ने रिएजेन्ट अभावले पिसीआर परीक्षण गर्ने प्रयोगशाला बन्द हुन थालेका छन् ।
प्रदेशमा रिएजेन्ट अभावकै कारण प्रयोगशालामा परीक्षण घटेको छ । झापाको मेची अस्पतालको प्रयोगशालाले परीक्षण बन्द गरेको छ । मेची अस्पतालले पिसीआर किट रिएजेन्टको अभाव भएको भन्दै शनिबार सूचना जारी गरेर अनिश्चितकालका लागि परीक्षण बन्द गरेको हो ।
अस्पतालका सूचना अधिकारी मनोज पोखरेलका अनुसार दैनिक २०० जनाको परीक्षण भइरहेको अस्पतालको प्रयोगशालालाई सरकारले किट उपलब्ध नगराएपछि परीक्षण बन्द भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले किट छैन भनेकोले परीक्षण बन्द गर्नुपरेको अस्पतालले जनाएको छ ।
मन्त्रालयले ७ दिनअघि ५०० किट उपलब्ध गराएको र त्यो सकिएको अस्पतालले जनाएको छ । मेचीमात्र हैन अन्य प्रयोगशालामा पनि किट सकिँदै गएको छ । किट अभावकै कारण दैनिक २ हजारभन्दा धेरै परीक्षण भइरहेको प्रदेशमा बिहीबार १ हजार ४ सय र शुक्रबार १ हजार ७ सयको मात्र परीक्षण भएको थियो ।
सामाजिक विकास मन्त्रालयका सचिव सचिव गोविन्दबहादुर कार्की एन्टिजेन किट अभाव नभएको बताउँछन् । बिहीबार थप १४ हजार ७ सय ५० थान एन्टिजेन किट आएको उनले बताए । तर, त्यो पर्याप्त नभएको उनको भनाइ छ ।
मेची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा पीताम्बर ठाकुरले अस्पतालले खरिद गर्ने प्रयास गर्दा पनि आपूर्तिकर्ताले तत्काल रिएजेन्ट उपलब्ध गराउन असमर्थता देखाएकाले परीक्षण बन्द गर्नुपरेको बताए । सरकारले किट उपलब्ध गराएपछि मात्र परीक्षण सुरू हुने उनको भनाइ छ ।
मेचीको प्रयोगशालामा ताप्लेजुङ, इलाम, पाँचथर र झापामा संकलित स्वाब परीक्षण हुने गरेको थियो । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल, कन्काई कोटिहोम प्रयोगशाला र अन्य निजी क्षेत्रका केही अस्पतालमा कोरोनाको पिसीआर परीक्षण हुँदै आएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले किट अभावको समस्या प्रदेशभरिका प्रयोगशालामा रहेको बताउँदै आपूर्तिका लागि पहल भइरहेको बताए । किट अभावकै कारण धरानको बीपी प्रतिष्ठानमा स्वावको नमुना संकलन नै कम गरिएको प्रतिष्ठानले जनाएको छ ।
यसअघि दैनिक एक हजारसम्मको स्वाव संकलन गरेर परीक्षण गर्ने प्रतिष्ठानले अहिले दैनिक सयदेखि डेढ सयसम्म मात्रै संकलन गरिरहेको छ ।
प्रदेश १ प्रदेशसभाको सामाजिक विकास समितिले शुक्रबार आयोजना गरेको छलफलमा पनि अस्पतालका प्रतिनिधिहरूले किट अभाव रहेको समस्या सुनाएका थिए । उनीहरूले एकातिर किट अभाव भएको र अर्कोतिर उपचार र पिसीआर परीक्षणको लागि सर्वसाधारणको आवागमन भइरहेकाले संक्रमण रोकथाममा समस्या भएको बताएका थिए ।