मेचीनगर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता भएको छ ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा उम्मेद्वारी दर्ता उत्साहजनकरुपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।
झापाका निर्वाचन क्षेत्र मध्ये विशेष महत्वका साथ हेरिएको निर्वाचन क्षेत्र नं १ मासमेत विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभातर्फ कुल १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा १३ दलीय उम्मेदवार रहँदा ३ जनाको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए ।
प्रतिनिधि सभा प्रत्यक्षमा नेपाली काँग्रेसबाट विश्वप्रकाश शर्मा, नेकपा एमालेबाट अग्नीप्रसाद खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओमनाथ भण्डारी, लाकतान्त्रिक समावादी पार्टी नेपालबाट ओलिन राजवंशी तथा राष्ट्रिय जनमुक्ति पार्टीबाट चित्रहांग जबेगुले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट राधा थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सन्तराज कार्की, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष तामांग, नेपाल जनता पार्टीबाट रामकुमार काफ्ले, जनसमाजवादी पार्टी नेपालबाट रमेश बास्तोला, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द दाहाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पदममाया लिम्वू, हाम्रो नेपाली पार्टीबाट ठगडबहादुर अधिकारीले मनोनयन दर्ता गराएको अधिकृत महतले बताए ।
प्रतिनिनिध सभातर्फ नै ३ जनाले स्वतन्त्र नाम मनोनयन गराएका छन् । जसमा मेचीनगर-१४ का विकास राजवंशी, मेचीनगर-१० की केन्द्रकुमारी दाहाल तथा मेचीनगर-६ का विदुरकुमार खतिवडा रहेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी प्रदेश सभातर्फ १ मा ६ जना तथा २ मा १२ जना गरी कुल १८ जनाले मनोनयन दर्ता गराएका छन् । जसअन्तर्गत १ मा सबै दलीय प्रतिनिधि छन् भने २ मा ३ जनाको स्वतन्त्र उम्मेदवारी मनोनयन गराएका छन् ।
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ तर्फ नेपाली काँग्रेसबाट गोपाल तामाङ, नेकपा एमालेबाट रवीन काइराला, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट गंगालाल राजवंशी, जनता समाजवादी पार्टीबाट मीरा कार्की, मंगोल नेशनल अर्गनाइजेशनबाट सागर राई तथा मौलिक जरोकिलो पार्टीबाट सिता दुलालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं २ तर्फ ९ जना दलीय तथा ३ जनाले स्वतन्त्र मनोनयन गराएका कार्यालयले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सबिना बजगाईं, नेकपा माओवादी केन्द्रबाट श्यामवीर लिम्बू, जनता समाजवादी पार्टी नेपालबाट ओमप्रकाश खापुंगले मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कल्याण खड्का, राष्ट्रिय जनमुुक्ति पार्टीबाट नन्दकुमार लिम्बू, नेपाल संघीय समाजवादी पार्टीबाट प्रकाश राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट प्रदिप राई, मंगोल नेशनल अर्गनाइजेशनबाट मोहन सिंह लिम्बू, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट रमा मेचेले उम्मेदवारी मनोनयन गराएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारी दिनेहरुमा बुद्धशान्ति-६ का गिताप्रसाद अधिकारी, मेचीनगर-१२ का राजन चिमोरिया तथा भद्रपुर-९ का हिराप्रसाद पोखरेल रहेको निर्वाचन अधिकृत महतले जानकारी दिए ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आइतबार दर्ता भएका मनोनयन उपर सोमबार दावी बिरोध तथा मंगलबार जाँचबुझ हुनेछ । उम्मेदवारी फिर्ताका लागि २६ गते बुधबारलाई समय तोकिएको छ । सोही दिन बेलुका सम्ममा अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्हसमेत प्रदान गरिने छ ।