झापा । बालबालिका पढ्ने विद्यालय सबैभन्दा सुरक्षित हुनुपर्ने हो । तर, बझाङको केदारस्युँ गाउँपालिकाको भूमिदेव आधारभूत विद्यालय वारिबाट हेर्दा धरापजस्तै देखिन्छ । डरलाग्दो भीरको बीचमा रहेको विद्यालयका पाँच भवनलाई बीचमा पारेर दुईतिरबाट सडक बनाइएको छ । सडक बनेपछि सुरु भएको पहिरो विद्यालयको दायाँ र बायाँतिर निरन्तर बगिरहेको छ ।
विद्यालयलाई बीचमा पारेर माथिबाट बखेत भाट्सैन सडक र तलबाट बागथला भामचौर सडक बनेपछि दुई वर्षदेखि विद्यालयको पढाइ बिथोलिएको छ । ‘पानी पर्नासाथ गड्याङगुडुङ आवाजसहित पहिरो झर्न सुरु हुन्छ । ठूलो पहिरो आयो भने भवन भुइँचालो गएजसरी हल्लिन्छन्,’ कक्षा ८ का विद्यार्थी ईश्वर धामीले भने, ‘पहिरोको आवाज आउनासाथ पढ्दापढ्दैको क्लास छोडेर दगुर्दै बाहिर निस्किन्छौं ।’
पहिरोले बगाएर ल्याएको लेदो कक्षाकोठामा पस्न थालेपछि वर्षा नभएको बेला पनि पढाउन गाह्रो भएको प्रधानाध्यापक मानबहादुर धामी बताउँछन् । ‘पानी पर्दा सबै कोठा हिलोले भरिन्छन् । घुँडासम्म हिलो भएर बस्नै मिल्दैन,’ उनले भने, ‘एक दिन पानी पर्यो भने चार–पाँच दिन स्कुल बन्द गर्नुपर्छ ।’ २ सय ३६ विद्यार्थीको भविष्यप्रति चिन्तित प्रधानाध्यापक धामी विद्यालय भवन अन्यत्र नसारे समस्या नसल्टिने निष्कर्षमा पुगेका छन् ।
विद्यालयको अवस्था देखेर स्थानीय सिद्धु कामी पनि चिन्तित छन् । ‘नपठाऊँ भने केटाकेटीको पढाइ बिग्रने, पठाऊँ भने कुन बेला स्कुल नै पहिरो बगाएर लैजान्छ भन्ने सुर्ता लाग्छ । केटाकेटी घर नफर्केसम्म बाटो हेरिराख्न मन लाग्छ ।’
बाढी र पहिरोको जोखिमपूर्ण भूगोलमा ठडिएका विद्यालय जिल्लामा दर्जनौं छन् । सडक बनेपछि पहिरोको जोखिममा परेका विद्यालयम केदारस्युँमा मात्रै भूमिदेवलगायत आठ वटा छन् । जहाँ ३ हजार १ सय ९१ विद्यार्थी पढ्छन् । दुर्गाथली गाउँपालिकाका २३ विद्यालय पनि विभिन्न कारण पहिरोको जोखिममा छन् । यी विद्यालयमा २ हजार ९७ विद्यार्थी अध्ययनरत छन् ।
बझाङको शिक्षा विकास तथा समन्वय इकाईका अनुसार मस्टा गाउँपालिकाका १३, सुर्माका १०, बित्थडचिरका ७, साइपालका ६, छबिस पाथीभेराका २, खप्तडछान्नाका ५, जयपृथ्वीका ५, बुंगलका ४ गरी जिल्लाका १ सय १० विद्यालय पहिरोको उच्च जोखिममा छन् । तीमध्ये अधिकांशमा सडक बनेपछि पहिरो जान थालेको हो । सन् २०२१ मा बेलायती सहयोग नियोग, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट र पोलिसी एन्ड इस्टिच्युसन फ्यासिलिटीले गरेको ‘नेपालको राजनीतिक अर्थव्यवस्थामा पहिरो, सडक निर्माण र जोखिम न्यूनीकरण’ अध्ययन प्रतिवेदनमा जथाभावी सडक निर्माणका कारण पहिरोको जोखिम बढेको उल्लेख छ ।
यो खबर वसन्तप्रताप सिंह ले कान्तिपुरमा लेख्नु भएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९ ११:५७