प्रिय पाठक, नमस्कार !
आधुनिकता र विज्ञानको विकाससँगै विश्वका तमाम मिडियाहरुले आफनो रुप र रंग फेर्दै आएका छन् । भर्खरै मात्र हामीले सामना गरेको कोभिडले त झन मिडियाहरुलाई नयाँ र नौलो खुराक पस्कन वाध्य नै पारे । कोभिडको चुनौतीका वीच पनि मिडियाहरुले निरन्तर खवरदारी गरि नै रहे ।
यही मेसोमा तपाईं पाठक र हामी (मिडियाकर्मी) वीच एउटा नयाँ साँइनो गाँसिन लागेको छ । त्यो साँइनो भर्चुअल साँइनो हो । अर्थात अनलाइन पोर्टलमार्फत हामी तपाई पाठकको सेवामा समर्पित हुन लागेको कुरा सगौरव बाँड्न पाउँदा हामी हर्षले गदगद छौ ।
देशकै पूर्वी नाका, सीमान्त सहर मेचीनगरमा अनलाइन मिडियाहरुको भीड छिचोल्दै एउटा नयाँ र भिन्नखाले अनलाइन शुरु गर्ने जमर्को गरेका छौ । ‘सुदूरपूर्व डटकम’ ले आफ्नो प्रकाशन प्रारम्भ गरेको छ । आम पाठकमाझ सही सूचनासंगै सामाजिक रुपान्तरण, राजनीतिक वेथिति र समाजमा व्याप्त कुसंस्कार विरुद्ध हाम्रो कलम सदैव चनाखो वन्ने छ ।
हरेक विहानीको झुल्को सँगै खबरको पन्तुरो वनेर उदाउने छ, सुदुरपूर्व । जसले फुटाउने छ, अन्धविश्वास, कुरीति, विभेद, असमानतासंगै भ्रष्टाचार, दुराचारले भरिएको घैटोलाई । अवचेतन मष्तिस्कलाई चेतना र प्रेरणाले भरिपूर्ण पार्दै हाम्रो कलमी यात्रा निरन्तर अविचलित रुपमा चलिरहने छ । अज्ञानताको खाडलमा परिश्रम र मेहनतले सिञ्चिएका ज्ञानरुपी माटो भर्ने हाम्रो कलम अविछिन्न यात्री हो ।
नेपालको सुदूरपूर्वको भूभागलाई सँधैं शिरमा राखेर आम पाठकमाझ सूचना र चेतनाका आवाजहरु मुखरीत गर्नु हाम्रो पहिलो अभिष्ट हो । मातृभूमीको रक्षार्थ सिमानामा लहरै खडा भएका जंगे पिलरहरु बीच थपिएको अर्को कलमी स्तम्भ हो ‘सुदूरपूर्व’ । नेपाल आमाको स्वाभिमानलाई जीवन्त राख्न जसरी सिमानामा जंगेहरु अविचलित भई ठडिरहेका छन् त्यसरी नै उभिरहनेछ ‘सुदूरपूर्व’ ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा हामी सदैव विश्वास गर्नेछौ । तमाम पाठकलाई पनि हामी चाँडै नै हाम्रो अनलाइनप्रति विश्वासनीय बनाउने प्रण पनि गर्दछौ । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, गोपनियता जस्ता संवेदनशील बिषयलाई सधैं ख्याल गर्दै यहाँहरु समक्ष समाचार पस्कने छौ । समाचारमा बिषयवस्तुप्रतिको गाम्भीर्यता एवम् वास्तविकतामाथि ध्यान दिँदैं बिषयवस्तुहरु सुझबुझसाथ उठान गर्नेछौं ।
मानिस चेतनशील सामाजिक प्राणी भएपनि ऊ जन्मसिद्ध शिक्षित, सचेत एवम् सक्षम हुदैन । समय क्रमसंगै ऊ शिक्षित, सचेत र सक्षम वन्छ । ब्यक्तिको चेतना र ज्ञान आर्जनको पहिलो खुड्किलो शिक्षा नै हो । यही तथ्यलाई आत्मसाथ गर्दै हामी हाम्रो अनलाइनको मुल विषय (विट) शिक्षालाई वनाउने योजनामा छौ । शिक्षा क्षेत्रमा भएका तमाम विकृति, विसंगति, भ्रष्टाचारप्रति हामी सदैव खवरदारी गर्नेछौ। सस्तो र प्रभावकारी शिक्षा उपलव्धतावारे राज्यको ध्यानाकर्षण गराउने छौ ।
देश विकासको मेरुदण्ड मानिने शिक्षा जगत मानव सभ्यता र समृद्धीको आधारशिला हो । हरेक देशको विकास र समृद्धीको मूल सूचकको रुपमा शिक्षालाई लिने गरिन्छ । तर, नेपालमा लगानी अनुरुपको प्रतिफल शिक्षा क्षेत्रले दिन नसकेका गुनासा र सवालहरु वारम्वार उठ्ने गरेका छन् । हामी तिनै सवालमा विचार र विमर्श गर्ने छौ । सम्वद्ध निकायलाई निरन्तर प्रश्न गर्ने र जनउत्तदायी बनाउने हाम्रो मुल धर्म हुने छ ।
यसका अतिरिक्त आम नागरिकमा पलपलका खबर सम्प्रेषण गर्न समसामयिक बिषयवस्तुलाई समेत चुस्तरुपमा प्रस्तुत गर्दै आम नागरिकलाई सुसुचित गराउने हाम्रो प्रयत्न रहनेछ । समाचार सम्प्रेषणमा पत्रकारिताको मुल मर्म र आचारसंहिताको पूर्ण पालनाप्रति हामी संवेदनशिल रहने छौ ।
-सुदूरपूर्व