झापा । अंग्रेजी शिक्षाको मागसँगै अभिभावकको पहिलो रोजाईमा पर्छन्,महंगा–महंगा निजी स्कूलहरु । आफ्ना नानीहरुलाई अंग्रेजी बोल्ने बनाउन चर्को शुल्क बुझाउन पनि अभिभावक पछि पर्दैनन् । तर, अहिले समय फेरिएको छ । अधिकांश सामुदायिक विद्यालयले निजीले झैं अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेसँगै ‘सरकारी’ विद्यालयमा विद्यार्थीको चाप थामिनसक्नु छ । त्यो ‘क्रेज’ले वरु निजी छाडेर सामुदायिकतर्फ विद्यार्थी र अभिभावक दुवैको मोह वढ्न थालेको छ ।
सरकारी विद्यालयप्रति आम अभिभावकको वुझाई नकारात्मक थियो । तर, अहिले कतिपय सरकारी विद्यालयहरुको शैक्षिक स्तरले ती अभिभावकहरुमा गढेर वसेको नकारात्मक छाप क्रमशः मेटिदोँ छ । अझैपनि अधिकांश सामुदायिक विद्यालयहरु परम्परागत रुपमै संचालित छन् । तर, केही विद्यालयले भने अभिभावक र विद्यार्थी दुवैको मन जित्न सकेका छन् । ती विद्यालयहरुले भिन्न ढंगवाट विद्यार्थीलाई सिकाउने प्रयत्न गरिरहेका छन्, जुन अन्य विद्यालयहरुका लागि पनि अनुशरणयोग्य छ । औँलामा गन्न सकिने केही उत्कृष्टसामुदायिक विद्यालय वारे हाम्रो रिपोर्टः
धुुलावारी माध्यमिक विद्यालय
झापा, मेचीनगर १०, धुलावारीको ‘धुलावारी मावि’ मा अहिले साढे तीन हजार वढी विद्यार्थी पढ्छन् । विद्यालयका सूचना अधिकारी दिपेन्द्र कन्दङ्वा भन्छन्,‘विद्यालयबाट यो वर्ष ४५० विद्यार्थी एसईई परीक्षामा सहभागी बन्दैछन्, यसले पूर्व कै उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाउँदै छ ।’
विद्यालयको प्रारम्भिक बाल कक्षामा १०६ जना, कक्षा १–५ मा ५३७ जना, ६–८ मा ६५६ जना, ९–१० मा ७६७ जना तथा कक्षा ११–१२ मा १४७५ विद्यार्थी अध्ययनरत रहेको सूचना अधिकारी कन्दङ्वाले जानकारी दिए ।
कक्षा ९ बाट नै प्राविधिक धारको पढाई हुने सो विद्यालयमा एनिमल साइन्स , साधारणधारतर्फ शिक्षा, विज्ञान तथा व्यवस्थापन विषयमा अध्यापन हुने गरेको छ । विद्यालयमा हाल ५२ दरवन्दी तथा आन्तरिक स्रोतका २५ गरी ७७ जना शिक्षक तथा ११ जना कर्मचारी कार्यरत छन् ।
धुलावारी माविका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंले विद्यालय अव्वल हुने प्रकृयामा रहेको बताए । उनले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिसंगै अतिरिक्त कृयाकलापमा पनि विद्यालय केन्द्रित रहेको जनाए । उनले थपे,‘हामी अव्वल हुने अभियानमा छौ, अब्बल भइसकेका छैनौ ।’
हिमालय मावि
८० जना दिवा तथा ४३ जना विहानी शत्रमा गरी कुल १२३ शिक्षक रहेको दमक २, दमकमा अवस्थित हिमालय माध्यमिक विद्यालयमा दिवा तथा विहानी शत्रमा गरी हाल ३ हजार २ सय ५१ विद्यार्थी अध्ययनरत छन् । विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षाजस्ता विषय अध्यापन गराइरहेको विद्यालयमा कक्षा ११/१२ मा १३ सय ५० विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक द्रोणबहादुुर श्रेष्ठले जानकारी दिए । यो वर्ष विद्यालयबाट ३५६ विद्यार्थी एसईई परीक्षामा सहभागी बन्दैछन् ।
मंगलमय मावि
झापामा पछिल्लो समय सामुदायिक विद्यालयतर्फ उचाई लिँदै गइरहेको विद्यालयमध्येमा पर्छ कमल गाउँपालिका ५, पाडाजुँगीमा रहेको मंगलमय माध्यमिक विद्यालय । सरकारले तोकेको भौतिक मापदण्ड पुरा गर्न नसक्दा सरकारी तवरमा नमुना विद्यालयमा छनोट हुन नसके पनि अभिभावक र विद्यार्थीको रोजाइमा नमुना बन्नबाट बञ्चित हुनु नपरेको विद्यालयका प्रधानाध्यापक मोहनकुमार बगालेको भनाई छ । विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म पूर्णतयाः अंग्रेजी माध्यममा तथा ६ देखि १२ सम्म नेपाली माध्यममा पढाउने गरिएको छ । विद्यालयमा दरवन्दीमा ३८ तथा आन्तरिक व्यवस्थापनमा ११ जना गरी कुल ४९ जना शिक्षक कार्यरत छन् । विज्ञान, व्यवस्थापनजस्ता विषयहरु समेटिएको कक्षा ११–१२ मा हाल अढाई सय तथा कक्षा १० सम्म १४ सय विद्यार्थी अध्ययनरत छन् । प्रअ श्रेष्ठका अनुसार ४ वटा सेक्सन रहेको विद्यालयबाट यो बर्ष २ सय ३ जनाले एसईई परीक्षा दिँदैछन् । गत वर्षको एसईई परीक्षामा विद्यालयले ३.७६ जीपिए प्राप्त गर्दै गाउँपालिका मै सर्वोत्कृष्ट नतिजा हात पार्न सफल भएको थियो ।
महेन्द्ररत्न मावि
महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्तामोड नगरपालिका ३, बिर्ताबजारमा अवस्थित छ । २ हजार माथि विद्यार्थी अध्ययनरत रहेको विद्यालयको कक्षा ११–१२ मा ५ सय ५० विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानध्यापक खड्गप्रसाद खरेलले जानकारी दिए । यो वर्ष विद्यालयबाट २ सय ६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी बन्दैछन् । विहानी र तथा दिवा दुई गरी दुई शत्रमा ६५ जना शिक्षक तथा १४ कर्मचारी कार्यरत छन् । विद्यार्थीको सुविधाका लागि दुईवटा बसको व्यवस्था विद्यालयले गरेको छ ।
ढुकुरपानी मावि
साधारणधार तर्फ शिक्षा, व्यवस्थापन, कम्प्युटर विज्ञान तथा प्राविधिक धारमा जियोमेट्रिक इन्जिनियरिङ जस्ता बिषय पढाई ढुकुरपानी माध्यमकि विद्यालय दमक ३, ढुकुरपानीमा अवस्थित छ । विद्यालयमा यो वर्ष १ हजार ५५९ विद्यार्थी अध्ययनरत छन् । दुईवटा स्कूलबसको व्यवस्थासमेत गरेको विद्यालयको कक्षा ११–१२ मा दुई सय विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
देवी माध्यमिक विद्यालय
विर्तामोड नगरपालिका ५, मा रहेको देवी माध्यमिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दो छ । झापासँगै बाहिर जिल्लाबाट आएरसमेत यो विद्यालयमा अध्ययन गर्ने संख्या तुलनात्मकरुपमा बढी रहेको पाइएको छ । विद्यालयमा अहिले ३ हजार १२६ विद्यार्थी अध्ययनरत छन् जसमा ११ र १२ मा १७ सयबढी विद्यार्थीले अध्ययन गरि रहेको विद्यालयकी प्रधानाध्यापक अम्विका श्रेष्ठले जानकारी दिइन् । प्रअ श्रेष्ठका अनुसार विहान शत्रमा ६९ तथा दिवा शत्रमा ७८ जना शिक्षक कार्यरत छन् । यो वर्ष २४० विद्यार्थी कक्षा १० बाट एसईईमा सहभागी बन्दैछन् । हरेक वर्ष सहभागी विद्यार्थीहरुको उत्कृष्ट नतिजा कै कारण विद्यालय जिल्ला मै रोजाईको विद्यालय बन्दै गइरहेको दावी गरिन् ।
आदर्श मावि
मेचीनगर ८ इटाभट्टामा रहेको आदर्श माध्यमिक विद्यालयसमेत अभिभावक र विद्यार्थीबाट नमुना विद्यालयको उपमा पाएको विद्यालयमा पर्ने गर्दछ । विद्यालयमा यो वर्ष १ हजार ४२६ विद्यार्थी अध्ययनरत छन् । कक्षा ११–१२ मा २ सय ३५ विद्यार्थी छन् । प्रविधियुक्त विद्यालयको रुपमा झापा मै पहिलो पटक हरेक कक्षा कोठामा सिसीटिभी क्यामेरा तथा साउण्ड सिस्टमको व्यवस्था गर्ने विद्यालयको रुपमा यस विद्यालयले पहिचान बनाएको छ । सरकारले तोकेको भौतिक मापदण्ड पुरा गर्न नसक्दा तात्कालिन समयमा नमुना विद्यालयको रुपमा विद्यालय छनोट हुन सकेन । ३६ जना शिक्षक कार्यररत रहेका विद्यालयबाट यो वर्ष १ सय ८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी बन्दै छन् ।
प्रगति मावि
गौैरादह ८, ग्वालडुबा रहेको प्रगति माध्यमिक विद्यालय झापाको दक्षिणी भेगमा रहेको एक उत्कृष्ट विद्यालयको रुपमा रहेको छ । १ हजार १६५ विद्यार्थी अध्ययनरत विद्यालयमा कक्षा ११–१२ मा २ सय ४० विद्यार्थी छन् । पाठ्यक्रम केन्द्रित शैक्षिक योजनाका साथ विद्यालय अघि बढेको विद्यालयका प्रधानाध्यापक डिल्लीराम अधिकारीले बताए । विद्यालयले कक्षा ९ सम्म पूर्णतया अंग्रेजी तथा कक्षा ६–१० मा नेपाली माध्यममा सञ्चालित छ । २०६६ सालतिर यो स्कुल परीक्षा संचालन मर्यादित वनाएको भन्दै सरकारवाट पुरस्कृत पनि भएको थियो । ‘ग्रामीण भेगमा संचालन भएर पनि यो स्कुल अन्य तुलनामा राम्रो छ’। प्रधानाध्यापक अधिकारीले भने,‘नतिजाका हिसावले पनि सन्तोषजनक छ ।’
बुद्धआदर्श मावि
कक्षा ११ मा विज्ञान समूहअन्तर्गतका सबै बिषयहरु, शिक्षाशास्त्र, मानविकी तथा व्यवस्थापन संकायसहित सञ्चालनमा रहेको बुद्धआदर्श माध्यमिक विद्यालय बुद्धशान्ति–१, बुधबारेमा अवस्थित छ । कक्षा ११–१२ का ४ सय २० विद्यार्थीसहित विद्यालयमा अहिले १ हजार ७७२ विद्यार्थी छन् । यो वर्ष १ सय २२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी बन्दैछन् । गतवर्ष विद्यालयबाट सहभागी १ सय ७० विद्यार्थी मध्ये ३.६ जीपिएका साथ १ सय ५७ जना विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले जानकारी दिए । विद्यालयमा हाल दरवन्दीमा ३५ शिक्षक, आन्तरिक व्यवस्थापनमा २५ तथा ७ जना कर्मचारी कार्यररत छन् । कक्षा ६ देखि ९ मा ३÷३ सेक्सन तथा अंग्रेजी माध्यममा २/२ सेक्सनमा सञ्चालित छन् ।
बालसुबोधिनी मावि
नमुना विद्यालय बनेर देखाउन विद्यार्थी संख्या धेरै हुनु पर्छ भन्ने आम बुझाई छ । सरकारले पनि त्यो कुरालाई आफ्नो मापदण्डमा समेटेको छ । तर, औसत विद्यार्थी तथा सिमित पूर्वाधारका बीच पनि नमुना विद्यालय बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ मेचीनगर–१४ मा रहेको बालसुबोधिनी माध्यमिक विद्यालयले । विद्यालयमा हाल ६ सय बढी विद्यार्थी पढ्छन् । कक्षामा पढाएका कुरालाई व्यवहारसँग जोड्दै दक्ष, उत्पादनमूखी जनशक्ति उत्पादनमा विद्यालय लागि परेको प्रअ विश्व थापा बताउँछन् ।
सफा, बालमैत्री, चटक्क व्यवस्थापनयुक्त विद्यालयको रुपमा पहिचान बनाएको बालसुवोधिनले पछिल्लो समय सरोकारवालाहरुको ध्यान खिचि रहेको छ । हरेक उत्सव तथा अवसरमा विद्यालयले विद्यार्थीहरुलाई प्रयोगात्मक कार्यमा संलग्न गराउँदै आइ रहेको छ । विद्यालयमा तस्वीर खिच्नका लागि ‘सेल्फी जोन’, मौलिक तथा पुरातात्विक बस्तु, फोहोर मैला संग्रहको आकर्षक व्यवस्थापन जस्ता सामग्रीहरुले विद्यालयलाई फरकरुपमा चिनाएका छन् ।
उल्लेखित विद्यालयको छनोट शिक्षा विकास तथा समन्वय इकाई झापाको सिफारिससमेतको आधारमा तयार गरिएको हो ।