इटाभट्टा । मेचीनगर नगरपालिकाले बालुवा तथा ढुंगा उत्खनन् कार्य नियम विपरीत भएको आशंकामा छानविन समिति बनाएर काम अघि बढाएको जनाएको छ ।
केही दिनअघि मेची र नन्दा नदीमा अवैध तरिकाले नदी उत्खनन् भएको र त्यसबाट स्थानीय प्रभावित भएको समाचार सार्वजनिक भएको छ । नदी उत्खनन् कार्यमा नगरपालिकाकै जनप्रतिनिधि संलग्न रहेको आशंकामा छानविन समिति गठन भएको हो ।
नगर प्रमुख आचार्यको संयोजकत्वमा नगर उपप्रमुख मीना उप्रेती, वडाध्यक्ष शंकर पोखरेल, सन्तोष मेचे र राजन भट्टराई सदस्य छन् ।
नगरपालिकाले आज नगर कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर नदीजन्य पदार्थ उत्खनन्को सत्यतथ्य कुरा सार्वजनिक गर्ने जनाएको हो । नगर प्रमुख विमल आचार्यले नदीजन्य पदार्थ उत्खनन् कार्य नियम विपरीत भएको पाइए कारवाही गरिने बताए ।
प्रमुख आचार्यले भने– ‘छानविन समितिले अध्ययन तथा अनुसन्धान गरिरहेको छ, एक/दुई दिन भित्रमा समितिले प्रतिवेदन बुझाउँदैछ, त्यसपछि हामी सत्यतथ्य सार्वजनिक गर्नेछौँ ।’
उनले उत्खनन् कार्य सम्झौता विपरीत ठहर भएको पाइए कारवाहीको दायरामा ल्याइने बताए । विधि र प्रक्रिया विपरीत कोही पनि जान नहुने बताउँदै उनले भने, ‘यस विषयप्रति हामी गम्भीर रुपमा प्रस्तुत भएका छौँ । वास्तविक कुरा हामी नगरवासीसमक्ष स्पष्ट पार्नेछौँ ।’
नगर प्रमुख आचार्यले अहिलेको विषम परिस्थितिलाई मध्यनगर गर्दै नगर सरकार कोभिड नियन्त्रणमा लागि परेको पनि बताए । उनले नगरबासीको स्वास्थ्य सुरक्षाका निम्ति हरदम प्रयासरत रहेको स्पष्ट पारे ।