झापा । नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यमाथि कारवाही गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारबाही गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
खनाल, नेपाल, रावलसहित ११ जना पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको ती सदस्यले जानकारी दिए । बैठकले झलनाथ खनाल, माधव नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो ।
यस्तै, बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
यस्तै बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय गरेको छ ।
आज रिट निवेदनमा २३ जना सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफलल भएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।
विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका थिए ।
यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल, गणेश पहाडी र राजबहादुर बुढाले हस्ताक्षर गरेका थिएनन् । यस्तै अघिल्लो पटक हस्ताक्षर नगरेकी कलिला खातुनले भने यसपालि हस्ताक्षर गरेकी छन् ।
आफूहरूले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च अदालत गएका थिए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र–बाबुराम समूह), राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षरसहित आफैं उपस्थित भएर अदालतमा रिट हालेका हुन् ।
रिटमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जसपाका १२ र जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेका थिए ।
यसअघि गत शुक्रबार विपक्षी गठबन्धनका १४९ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका थिए । सेतोपाटी