झुलन रेग्मी
मेचीनगर । स्थानीय सरकार मेचीनगर नगरपालिकाले कोरोना नियन्त्रणका कार्यहरु प्रभावकारी ढंगले सञ्चालन गरिरहेको जनाएको छ ।
बढ्दो कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा नगर सरकारले विभिन्न कार्यहरु गर्दै आएको छ । नगर कार्यपालिकाबाट कोभिड संक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरी काम अगाडि बढाइएको हो ।
नगर प्रमुख अध्यक्ष र सामाजिक विकास प्रमुख सचिव रहेको राजनीतिक पार्टीका प्रमुख, उद्योग वाणिज्य संघ, रेडक्रस प्रतिनिधि रहेको कोभिड संक्रमण नियन्त्रण कार्यदल गठन गरिएको छ ।
यस्तै, सामाजिक विकास समिति संयोजक, सामाजिक विकास शाखा प्रमुख, विपद व्यवस्थापन समिति सचिव, स्वास्थ्य शाखा फोकल पर्सन र सूचना प्रविधि अधिकृत रहेको कोभिड संक्रमण नियन्त्रण कार्यदलको सचिवालय गठन गरी कोभिड संक्रमण नियन्त्रणको दैनिक कार्य व्यवस्थापन गरिएको जनाइएको छ ।
कोभिड संक्रमण नियन्त्रणका लागि कोभिड कोष स्थापना गरी परिचालन गरिएको, नगर प्रत्येक वडामा कोभिड संक्रमण नियन्त्रणका लागि अलग–अलग स्वास्थ्य फोकल पर्सन तोकेर उनीहरुमार्फत संक्रमितलाई निशुल्क औषधि पुर्याइएको छ ।
साथै, स्वास्थ्यकर्मीमार्फत् संक्रमितको अक्सिजनको मात्रा चेक गर्ने र नियमित स्वास्थ्य अवस्था बुझ्ने व्यवस्था मिलाइएको कोभिड संक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलका सचिव अनन्तप्रकाश वस्तीले बताए ।
यस्तै, कोभिड संक्रमण नियन्त्रणका लागि संक्रमितको पहिचान गर्न निशःुल्क पिसिआर परीक्षण नियमित गरिएको र २–३ भित्रै परीक्षणको दायरा बढाउने तयारी भइरहेको छ ।
२ जना डाक्टर, २ जना स्टाफ नर्ससहित कोभिड संक्रमितको उपचारका लागि अक्सिजन सहितको ३० बेडको आइसोलेसन सेन्टर धाइजन स्वास्थ्य चौकीमा स्थापना गरी संक्रमितको निशुःल्क उपचार भइरहेको छ ।
यस्तै, कोभिड संक्रमितको स्वास्थ्य केन्द्र अस्पतालसम्मको पहुँचका लागि २ वटा निशुःल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ भने नगर भित्र सञ्चालनमा रहेका एम्बुलेन्सका चालकहरुलाई निशुःल्क पिपिई, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सुरक्षण सामाग्री उपलब्ध गराइएको छ ।
कोभिड संक्रमणका कारण मृत्युु हुनेहरुको शव व्यवस्थापनका लागि निशुःल्क शववाहनको व्यवस्था गरिएको छ भने कोभिड संक्रमितको चेस्ट परीक्षणका लागि आम्दा मेची अस्पताल धुलाबारीमा निशुःल्क एक्स रे सेवा उपलब्ध छ ।
वडा समितिमार्फत सम्भावित संक्रमितको पिसीआर परीक्षण गर्न यातायातका लागि व्यवस्था गरिएका टेम्पू चालकलाई पिपिइ मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइएको छ ।
नेपाल सरकारको सहयोगमा सीमा नाका काँकरभिट्टामा एन्टीजेन चेकसहितको हेल्प डेस्क स्थापना गरी सञ्चालन भइरहेको छ । स्थानीय प्रहरी प्रशासनसँग सहकार्य र समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको कार्यदलका सचिव वस्तीले बताए ।
नगर सरकारले वडागतरुपमा विपन्न परिवारका कोभिड संक्रमितको खाद्यान्न व्यवस्थापनका लागि फुड बैँक सञ्चालनको तयारी गरेको पनि जनाएको छ ।