झापा । बर्खामा ठूलो हुरी–बतासले स्कुलको छानोलाई तितरवितर पा¥यो । हामीलाई कम्ता दुःख लागेन ? एक हप्तासम्म हामी कलिला विद्यार्थीहरूले जंगलबाट कटुसको सेउला ओसारेर सकी नसकी छानो छाएका थियौँ । महिना दिन पनि नपुग्दै छानोलाई हुरीले जगल्ट्याएपछि हामी निरास हुनु स्वाभाविकै थियो । माथि डाँडामा रहेको मेरो बस्तीबाट तल्तिर नजर लगाउँदा स्कुलको थाप्लोमा जिग्रिङ्ग परेका छानाका करङ्गहरू मात्रै देखिन्थे । जाडो याम थियो । खापाबिनाको झ्याल निरीह बनेर भित्तामा आडेस लगाएर बसेको थियो ।
उत्तरबाट आउने हिमालको चिसो हावा ठूलो बेगसँग हुत्तिदै मेरो छातीमा आएर ठोकिन्थ्यो । टाँक नभएको खुल्ला सटबाट भित्र छिरेर काउकुती लगाउथ्यो । मास्तिर हेर्थें । छानो थिएन । आकाशमा बादलका गुजुल्टाहरू कहिले यता कहिले उता भौतारिरहन्थे । आकाशतिर हेर्दा बादललाई कल्पनाले विभिन्न आकृतिहरूमा परिवर्तन गथ्र्यो ।
मेरो बा, किस्नेको बा र गोविन्देको बा ले खर–सेउलाको छानो छाउने काम गर्थे । अहिले त गाउँमा लोग्ने मान्छे पनि खासै देख्न पाइँदैन । युवाहरू सबै विदेशिए । मेरो बा मुग्लान पसेको पनि ३ वर्ष भयो । किस्नेको बा घाँस झार्दा लडेर ढाड भाँचियो । कुजिएर बसेका छन् । गोविन्देका बा शहरमा मजदुरी गर्छन् । गाउँमा कोही नभएपछि हामी केटाकेटीहरू मिलेर स्कुलको छानो छाएका थियौँ ।
पहिले–पहिले भाँडाकुटी खेल्दा कटेरो बनाइन्थ्यो । त्यही अनुभवलाई हामीले स्कुलको छानो बनाउन प्रयोग ग¥यौँ । हावा हुरीले हाम्रो स्कुलको छानोलाई पनि भाँडाकुटीको छानो ठानेर मजाक ग¥यो । त्यो भन्दा अघि स्कुलमाथि राजनीति गर्नेहरूले हामीमाथि गरेको मजाकलाई त हामीले सामान्य रूपमा लिइसकेका थियौँ ।
सामुदायिक वनको लागि गाउँलेले नयाँ नियम बनाए । अबदेखि गाउँको जंगलबाट घाँस, दाउरा, स्याउला ल्याउन नपाइने भयो । जंगलको स्याउला काट्न नपाइने भएपछि स्कुलको छानो छाउने विकल्पका बारेमा हामीले सोच्यौँ । हाम्रो उमेर कच्चा भए पनि दुःख, पीडा र संघर्षले हामीलाई खारेको थियो । व्यावहारिक बनाएको थियो । मलाई अचम्म लाग्छ त्यतिबेलाको व्यावहारिकताले मलाई अहिलेसम्म किन साथ दिन सकेन होला । अक्षरसँग साक्षात्कार हुनको लागि नदीमाथिको त्यान्द्रे डोरीमा दैनिक एक मुठी सासलाई घिसार्दै वार पार गराउनु भन्दा कैयौँ गुणा विशेक घर नजिकैको छाप्रे स्कुललाई सपार्नु थियो । हामी स्कुलमा पढ्ने विद्यार्थीहरू मिल्यौँ । भीरपाखामा गएर खर काटेर लिएर आयौँ र स्कुलको छानो छायौँ ।
‘क्याप्टेन बा को परिवार पाल्ने जग्गा यही थियो । तैपनि क्याप्टेन बाले गाउँका सन्ततिको उज्यालो भविष्यको लागि भनेर आफ्नै परिवारको पेटमाथि बुट बजारे ।’
गाउँमा शिक्षाको ज्योति जगाउने काममा एक जना भूतपूर्व भारतीय सैनिकको निकै ठूलो योगदान रहेको छ । उहाँ हुनुहुन्थ्यो इण्डियन आर्मीका क्याप्टेन नरबहादुर बुवा । उहाँले नै यो स्कुल बनाउनुभएको थियो । गाउँका बुढापाकादेखि केटाकेटीहरू सबैले उहाँलाई क्याप्टेन बा भनेर बोलाउँथे । अहिले स्कुलको कटेरो भएको ठाउँको जग्गालाई गाउँलेहरू पहिले त्यो ठाउँको नम्बरी जग्गा मान्थे । सुनको थाल भन्थे ।
हल गोरू नार्न नमिल्ने, दुई चार सियो भन्दा बढी जोत्न नमिल्ने फोहोटा–फोहोटी र सुर्का–सुर्की मात्रै भएको ठाउँमा यो जग्गालाई ठूलो टारको रूपमा लिइन्थ्यो । चट्ट परेको रूमालको आकारमा रहेको जग्गामाथि आँखा लगाउनेहरूको कमी थिएन । उब्जनीको त कुरै नगरौँ । क्याप्टेन बा को परिवार पाल्ने जग्गा यही थियो । तैपनि क्याप्टेन बाले गाउँका सन्ततिको उज्यालो भविष्यको लागि भनेर आफ्नै परिवारको पेटमाथि बुट बजारे ।
गाउँलेहरू आफ्ना सन्ततिलाई भित्री मनदेखि नै पढाउन चाहदैनथे । ‘पढेर पो के हुन्छ ? किन बनाउनुप¥यो गाउँमा स्कुल ?’ अधिकांश अभिभावकहरूको मनसाय यस्तै खालको थियो । रोजगारीका लागि विदेशिएका एकाध व्यक्तिहरूले मात्र गाउँमा स्कुल बन्नुलाई सकारात्मक रूपमा लिएका थिए । गाउँमा स्कुल बन्नुभन्दा पहिले यहाँको साक्षरता दर निकै न्यून थियो । गैह्र सरकारी संघ संस्थाका व्यक्तिहरू यो ठाउँमा आउँथे । त्यहाँका गाउँलेहरूलाई प्रश्न गर्थे ‘तपाईंहरूले आफ्ना बालबच्चालाई किन पढ्न नपठाउनुभएको ?’ उनीहरूको जवाफ हुन्थ्यो ‘के गर्ने हजुर स्कुल धेरै टाढा छ । तुइनमा आफ्नो ज्यान बाजी लगाएर नदी पार गर्नुपर्छ ।’ यस्तै–यस्तै बहाना बनाएर पन्छिन्थे उनीहरू ।
‘तपाईंहरूलाई मैले एउटा खुसीको कुरा सुनाउँदै छु । अब हामीले गाउँपालिकाको कार्यालय तपाईंकै घर आँगनमा ल्याउँदैछौँ । अब यो स्कुललाई पारीको स्कुलमा मर्ज गर्दैछौँ ।’
गाउँमै स्कुल बन्यो । तर गाउँलेहरू खुसी हुनुको साटो झन दुःखी भए किनकि उनीहरूले आफ्ना छोराछोरीलाई मेलापातमा खटाएर घरमा बिहान बेलुकाको गर्जो टारेका थिए । अब छोराछोरीको काम खान नपाइने भयो । उनीहरूलाई यही चिन्ता थियो । क्याप्टेन बा को अगाडि भने उनीहरू यस्तो कुरा गर्ने आँट गर्दैनथे । क्याप्टेन बा हुँदा स्कुल निकै राम्रो थियो । क्याप्टेन बा स्कुलको लागि रात दिन खट्नुहुन्थ्यो । स्कुलमा क्याप्टेन बा आफैँले पनि पढाउनुहुन्थ्यो ।
आफ्नो पेन्सनबाट तलब खुवाउने गरी तीन जना शिक्षक राख्नुभएको थियो । क्याप्टेन बाले हामीहरूमा पढाइको यत्ति धेरै भोक र तिर्खा जगाइदिनुभएको थियो कि पढ्नको लागि हामीहरू जे गर्न पनि तयार थियौँ । अभिभावकको जतिसुकै ठूलो अवरोधलाई पनि सजिलै छिचोल्न सक्ने अवस्थामा पुगेका थियौँ । क्याप्टेन बाको मृत्युपछि स्कुलमा निजी श्रोतका शिक्षकलाई तलब खुवाउन निकै सकस प¥यो । गाउँपालिकाले स्कुलको स्वामित्व ग्रहण त ग¥यो । तर निजी श्रोतका शिक्षकले खाइपाइ आएको तलबमा समेत कटौती गरिदियो ।
गाउँपालिकाले स्कुल रहेको पाटाको छेउपट्टिको डाँडामा भ्यु टावर बनायो । दैनिक सयौँको संख्यामा मान्छेहरू भ्युटावरमा आउँथे । फोटो खिचेर लान्थे । त्यसमा हाम्रो स्कुल पनि कैद हुन्थ्यो । त्यो स्कुललाई कुनै फिरन्ते आदिवासीको बस्ती भनेर मान्छेहरू झुक्किने गर्थे । हाम्रो स्कुलमा जम्मा जम्मी विद्यार्थीहरूको संख्या २२ मात्रै थियौं । थोरै विद्यार्थीको कारण देखाएर गाउँपालिकाले शिक्षक दरबन्दी काटिदिएको थियो । चार जना शिक्षक भएकोमा पछि दुई जना मात्रै हुनुहुन्थ्यो ।
एक दिन स्कुलको अफिसमा निकै चर्काचर्की भयो । आखिर भएको के रहेछ हामीलाई जान्न मन लाग्यो । कमल सर र विष्णु सर ती अपरिचित व्यक्तिसँग निकै बेरसम्म बहसमा उत्रिनुभयो । उहाँहरू भन्दै हुनुहुन्थ्यो ‘विद्यार्थी कम छन् भन्दैमा विद्यालय मर्ज गर्न पाइन्छ रु भौगोलिक अवस्था पनि त हेर्नुप¥यो नि । तुइनमा हाम्रो प्राणलाई तपाईंहरू कहिलेसम्म झुण्ड्याएर राख्नुहुन्छ ?’
‘हामी पनि त नियम कानुन अनुसार चल्नुप¥यो नि १ शिक्षा ऐन, प्रादेशिक ऐन र स्थानीय सरकारको शिक्षा ऐनको परिधिभित्र रहेर काम गर्नुपर्छ हामीले ।’ ‘त्यस्ता ऐनको कुरा छोडिदिनुस् । स्थानीय स्तरको समस्या सम्बोधन गर्न नसक्ने त्यो कस्तो स्थानीय शिक्षा ऐन हो ? त्यो कस्तो स्थानीय सरकार हो ?’
हामी झ्यालमा ताँती लागेर ठाडो कान पार्दै सुनिरहेका थियौँ । यो देखेर विष्णु सरले हामीलाई कक्षामा गएर बस्न भन्नुभयो । हामी सरासर कक्षामा गयौँ । पछि बुझ्दा हामीले थाहा पायौँ त्यतिबेला विद्यालयमा गाउँपालिकाको शिक्षा शाखाबाट एक जना कर्मचारी आउनुभएको रहेछ । स्कुलमा विद्यार्थी कम भएको कारण देखाएर स्कुल मर्ज गर्न खोजिएको रहेछ ।
गाउँपालिकाले गाउँको अभिभावकहरूको भेला गरायो । त्यो भेलामा गाउँपालिका अध्यक्ष भन्नुभयो ‘तपाईंहरू गाउँपालिकाको कार्यालय टाढा भयो भनेर गुनासो गर्नुभएको होइन रु तपाईंहरूलाई मैले एउटा खुसीको कुरा सुनाउँदै छु । अब हामीले गाउँपालिकाको कार्यालय तपाईंकै घर आँगनमा ल्याउँदैछौँ । अब यो स्कुललाई पारीको स्कुलमा मर्ज गर्दैछौँ । यही स्कुल भएको ठाउँमा गाउँपालिकाको कार्यालय बनाउने हाम्रो योजना रहेको छ ।’
सबै गाउँलेहरू खुसी भए । त्यो जग्गा क्याप्टेन बाले स्कुललाई दिनुभएको थियो । अहिले उहाँकै छोरा बलबहादुर गाउँपाालिकाको अध्यक्ष बन्नुभएको छ । उहाँको त्यो योजना विफल बनाउने कसको आँट रु मलाई गाउँपालिका अध्यक्षको त्यो कुराले विक्षिप्त बनायो । नदी पारीको स्कुललाई एक टकले हेरेँ । नदीमाथि झुण्डिएको तुइनमा मान्छे ओहोरदोहोर गर्दै थिए । तल नदी सुसेल्दै गन्तव्यलाई पछ्याइरहेको थियो ।
तपाईंलाई लाग्ला यो कथा हो, धेरै पहिलाको । होइन यो यथार्थता नै हो र हालसालैको हो । पक्कै पनि तपाईं हामीलाई पत्याउन गाह्रो पर्छ । प्रविधिले स्कुललाई घर घरमा पु¥याएका बेला यस्ता घटनाहरू काल्पनिक लाग्नु स्वाभाविकै हो । यस्ता घटनाहरूले हाम्रो विकट गाउँले परिवेशमा अहिले पनि स्थान जमाइरहेका छन् । जबसम्म राज्य शिक्षा र स्वास्थ्य क्षेत्रप्रति संवेदशील हुन सक्दैन । तबसम्म यस्ता घटनाहरू यथास्थितिमै रहिरहनेछन् ।
(उल्लेखित लेख पीआर आकाशले शिलापत्रमा लेख्नुभएको हो ।)