धुलावारी । २२ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको आउन अब १८ दिन बाँकी छ । सोही अवधि छ नेपालमा चुनावी महासंग्रामको छिनोफानो हुन ।
मंसिर ४ गते एसियाली राष्ट्र कतारमा विश्वकप फुटबल सुरु हँुदै गर्दा नेपाल चुनावमय बन्दै हुुनेछ ।
३२ राष्ट्रका करिव एक हजार खेलाडीले विश्वकपमा स्पर्धा गर्दै गर्दा नेपालमा करिव ११६ राजनीतिक दल तथा स्वतन्त्र गरी लगभग ६ हजार राजनीतिक खेलाडी चुनावी मैदानमा स्पर्धा गर्दैछन् ।
५ पटकको विश्व विजेता ब्राजिल छैटौं पटक उपाधि उचाल्ने दाउमा हुँदा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा छैटौं पटक प्रधानमन्त्री हुने अभिलाषा बोकेर चुनावी मैदान होमिएका छन् ।
उता नवप्रवेशी राष्ट्रको रुपमा कतारले पहिलो पटक मैदानमा उत्रिएर विश्व फुटबलका हस्ती मानिएका राष्ट्रहरुलाई चुनौति दिदंैछ भने यता धेरै युवा यसपटकको चुनावी मैदानमा उत्रिएर पुराना र अग्रज भनिएका दल र तिनका अग्रज नेतृत्वलाई चुनौती दिन तयार देखिन्छन् ।
उता कतारको गर्मीमा वातानुकुलित स्टेडियमा चार पटकको विश्व विजेता जर्मनी, दुई पटकका विश्व विजेता अर्जेन्टिना, फ्रान्स, उरुग्वे तथा एक पटकका विश्व विजेता स्पेन र इङ्गलेन्ड थप उपाधि उचाल्न मैदान उत्रने तयारी गर्दैछन् ।
यता नेपालमा मंसिरको बढ्दो चिसोमा, प्रधानमन्त्रीको उपाधि चाखि सकेका खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल जस्ता नेता पनि चुनावी सरगर्मीमा पुनः देशको कार्यकारी पदमा पुग्ने चाहानाका साथ स्पर्धामा होमिएका छन् ।
चार पटकको विश्व विजेता इटली लगातार दोस्रो पटक विश्व कपको खेल मैदानबाट बाहिर रहेको यो विश्व कपमा चिलि, कोलम्विया, स्विडेन जस्ता फुटबलमा नाम कमाएका राष्ट्र पनि मैदान देखिने छैनन् भने नेपाली राजनीतिमा कहलिएका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराईसहित धेरै नेता यस पटक आम निर्वाचनको मैदान छैनन् ।
जे होस् विश्वकपको उपाधि कब्जा जमाएको हेर्न मंसिर ४ पछि २९ दिन पर्खनु पर्दा नेपालमा सिंहदरबार र बालुवाटारमा कस्ले कब्जा जमाउने यो थाहा पाउँन भने करिव १५ दिन पर्खनु पर्नेछ ।