झापा । सरकारी कर्मचारी र शिक्षकलाई निर्वाचन आयोगले स्पष्टिकरण माग गरेको छ ।
राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले स्पष्टिकरण माग गरेको हो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम आचारसंहिताको अनुगमन र कारबाहीको प्रबन्ध रहेको छ ।
पदीय दायित्वसमेत ख्याल नगरी निर्वाचनसम्बन्धी दलका बैठक, भेलालगायत कार्यक्रममा सहभागी हुने केही शिक्षकलाई स्पष्टीकरण सोधेको आयोगले बुलेटिनमार्फत जानकारी गराएको छ । स्पष्टीकरण २४ घण्टाभित्र आयोगमा वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी पेस गर्नसमेत निर्देशन दिएको छ ।
पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारी, कुस्मा नगरपालिकास्थित नारायणी माध्यमिक विद्यालयका शिक्षक सुभन्तराज सुवेदी, महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय, मुसिकोटका प्रधानाध्यापक अनन्तलाल भण्डारी र नवलपरासी ९बर्दघाट सुस्ता पूर्वको सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिवारी लगायतलाई स्पष्टीकरण सोधेको बुलेटिनमा उल्लेख गरेको छ ।
त्यस्तै, आयोगले पर्वतको पञ्चकोशीका प्रधानाध्यापकलाई तरुण दलका नाममा विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।
आयोगले पर्वतको कुस्मा नगरपालिकास्थित नारायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुभन्तराजलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधेको छ ।