मेचीनगर । विहीबार प्रदेश नं १ सरकारले वन मन्त्रीको निधनमा शोक विदा दिएको छ ।
प्रदेशका बहालवाला मन्त्रीको निधनमा प्रदेश सरकारले सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ । तर, केही निजी विद्यालयले भने प्रदेश सरकारको निर्णय लत्याउँदै विद्यालय सञ्चालन गरेपछि सर्वत्र आलोचना भएको छ ।
सामाजिक सञ्जालमा 'मृत्यु' र 'शोक' लाई बेपर्वाह गर्दै विद्यालय खोलेको भन्दै विद्यालय सञ्चालक तथा संगठनको चर्को अलोचना भएको छ । शोक विदाको बेवास्ता गर्दै मेचीनगरका केही संस्थागत विद्यालयसमेत सञ्चालन गरिएका छन् ।
एन–प्याब्सन मेचीनगर अध्यक्ष भगिरथ राईले ढिलो गरी सूचना प्राप्त भएको साथै विद्यालयहरुले अग्रीम शैक्षिक कार्यक्रम तय गरेकाले व्यवहारिकता हेरेर विद्यालय खोलिएको बताए । उनले मेचीनगरका करिब ७० प्रतिशत संस्थागत विद्यालय सञ्चालनमा आएको बताए ।
प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालले खोप कार्यक्रम, नतिजा प्रकाशनलगायतका कार्यक्रम रहेको भन्दै विद्यालयमा शोक सभा गरेर विद्यालय सञ्चालन गरिएको बताए ।
संस्थागत विद्यालय शिक्षक संगठन(इष्टु) झापा अध्यक्ष होमराज खतिवडाले मृत्यु, शोक जस्तो विषयमा सञ्चालकहरु संवेदनशिल बन्न नसकेको टिप्पणी गरे ।
प्याब्सन दमकका अध्यक्ष जनार्दन मैनालीले विद्यालय सञ्चालन गर्ने मौखिक छलफल भएको स्वीकार गरे । मैनालीले पनि विद्यालयमै शोक सभा गरेर विद्यालय सञ्चालन गरिएको बताए ।
प्याब्सन जिल्ला अध्यक्ष गौरीमान फागोले शोक विदा अवज्ञा गर्ने कार्य गलत भएको बताउँदै आगामी दिनमा यस्ता गल्ति सच्याएर अघि बढ्ने प्रतिक्रिया दिए ।
यो पनि पढ्नुहोस्ः
विहीबार प्रदेश १ मा सार्वजनिक विदा