बुद्धशान्ति । अस्ट्रेलियामा जारी टि२० विश्वकप फाइनलमा पुग्ने दुई भाग्यमानी टिम हुन् पाकिस्तान र इंग्ल्यान्ड । समूह चरणमा आयरल्याण्डसँग तितो पराजय र अस्ट्रेलियासँग अंक बाँड्दै समुह १ बाट उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको इंग्ल्ययान्डले उत्कृष्ट पुनरागमन गर्दै भारतलाई लज्जास्पद हार चखायो ।
उता समूह चरणको पहिलो खेल भारत र अर्कोमा तुलनात्मक रुपमा कमजोर मानिएको जिम्बाबेसँग १ रनले स्तब्ध बनेपछि सेमिफाइनल यात्रा लगभग टुंग्याएको पाकिस्तान नकआउट चरणमा जान अरुमा भर पर्नु प¥यो । जहाँ दक्षिण अफ्रिका नेदरल्याण्डसँग हार ब्यहोरेपछि सौभाग्यले पाकिस्तान समूह उपविजेता बन्दै अघिल्लो चरण पुग्न सफल भएको हो ।
पाकिस्तानले सेमिफाइनलमा उपाधि दावेदारीको प्रदर्शन गरेको न्युजिल्यान्डलाई स्तब्ध बनाएको थियो भने इंग्ल्यान्डले भारतलाई टि२० इतिहासकै नमिठो हारको स्वाद दिलाउन सफल भयो ।
नेपाली समय अनुसार आइतबार दिउँसो १ः४५ बजे मेलबर्नस्थित मेलबर्न क्रिकेट ग्राउन्ड 'MCG' मा यी दुई टोलीबीच उपाधि प्राप्तिका लागि सुरु हुने खेल रोमाञ्चक हुनेमा कुनै दुई मत छैन ।
त्यसो त सन् २००७ मा टि२० विश्वकप सुरुवात भएयता पाकिस्तानले सन् २००९ मा श्रीलंकालाई पराजित गर्दै र इंग्ल्ययान्डले सन् २०१० मा अस्ट्रेलियालाई पराजित गर्दै एक/एक पटक यो उपाधि आफ्नो नाममा पारिसकेका छन् । आइतबारको यी दुईवीचको खेल दोस्रो पटक उपाधि चुम्ने लक्ष्यका साथमा हुनेछ । टि२० विश्वकपमा वेस्ट इन्डिजले मात्रै सन् २०१२ र २०१६ गरी दुई पटक उपाधि चुमेको रेकर्ड छ ।
टि२० विश्वकपको इतिहासलाई फर्केर हेर्दा पाकिस्तानले इंग्ल्ययान्डसँग खेलेका २८ खेलमा ९ पटक जीत सुनिश्चित गरेको छ भने १७ पटक हारको सामना गरेको छ । यी दुईविचको दुई खेल वर्षाका कारण रद्ध भएको रेकर्ड छ ।
समग्रमा पाकिस्तानको इंग्ल्ययान्ड विरुद्द ३५.१८% मात्र जीत प्रतिशत छ । विश्वकपअघि पाकिस्तान भ्रमणमा गएको बेलायती टोलीले सो बेलाको ७ टि२० म्याचको सिरिज पनि ४–३ अन्तरले जितेको थियो । तथ्यांकमा कमजोर देखिएतापनि यतिबेला पाकिस्तानी टिमले बलिंग र ब्याटिंगको उत्कृष्ट लय समातेको छ । सोही आधार हेर्दा पाकिस्तानले इंग्ल्ययान्डलाई स्तब्ध पार्न सक्छ ।
अर्कोतर्फ बेलायत पनि कठिन मेहेनत र परिश्रमका साथ उपाधिका लागि विश्वस्त देखिन्छ । बलिंग , ब्याटिंग र फिल्डिंग तीनै पक्ष इंग्ल्ययान्डको मजबुत रहेको क्रिकेट पण्डितहरु चर्चा गर्छन् ।
त्यसो त सन् १९९२ मा अस्ट्रेलियामै सम्पन्न ५० ओभरको विश्वकपको फाइनलमा 'MCG' मै ८७,१८२ दर्शकका सामुन्ने पाकिस्तानले इंग्ल्यान्डलाई नै २२ रनले परास्त गर्दै पहिलो पटक विश्वकप जितेको थियो ।
यो पटकपनि उही मैदान र उही प्रतिद्वन्द्वीबीचको उपाधि लडाइँ १ लाख बढी प्रत्यक्ष दर्शक तथा विश्वभरिका करोडौं दर्शकले अप्रत्यक्ष रुपमा हेर्नेछन् ।
आगामी टी२० विश्वकप जून २०२४ मा वेस्ट इन्डिज तथा अमेरिकामा संयुक्त रुपमा संचालन हुनेछ ।
ध्यान केन्द्रित गराएका खेलाडी :
पाकिस्तान : अफ्रिदी, राउफ, ह्यारिस, रिजवन, बाबर, सदाब
इंग्ल्यान्ड : बटलर, हेल्स्, स्टोक्स, रषिद, वोक्स्, एस्– कुरान