झापा । सरकार सञ्चालनको प्रमुख हिस्सा बन्ने प्रमुख राजनीतिक दलले चुनावताका फुस्रा आश्वासन मात्र बाढ्ने गरेको चर्चा हुने गरेको छ ।
हरेक चुनावअघि प्रत्येक दलले आफ्ना प्रतिवद्धतासहित घोषणा पत्र तयार पार्ने गरेका छन् । तिनै घोषणा पत्रमा अहिलेका फरक चुनावी गठबन्धमा रहेका प्रमुख तीन दल नेकपा माओवादी, एकीकृत समाजवादी र राप्रपाले शिक्षालाई कसरी समेटेका छन् भन्ने बिषयमा आधारित रिपोर्ट :
नेकपा माओवादी केन्द्र
सत्ता गठबन्धन दलको अर्काे मुख्य घटक माओवादी केन्द्रले आफ्नो प्रतिबद्धतापत्रमा शिक्षालाई समाजवाद निर्माणको आधार मानेको उल्लेख गरेको छ ।
आफ्नो घोषणा पत्रमा माओवादी केन्द्रलेसमेत शिक्षालाई प्राथमिकताका साथ राखेको देखिन्छ । शिक्षा नागरिकको अधिकार, समाजवाद निर्माणको आधार, सबैका लागि गुणस्तरीय शिक्षा, माओवादी केन्द्रको प्रतिबद्धता भन्ने मुल नारासहित अघि बढाएको प्रतिबद्धतामा उल्लेख छ ।
यस्ता छन् मुख्य सवाल :
- शैक्षिक क्षेत्रमा बन्द हड्ताल निरुत्साहित,
- शैक्षिक विकृति, विसंगतिको अन्त्य,
- कक्षा १२ सम्म निःशुल्क साथै अनिवार्य शिक्षा,
- पाठ्यक्रममा आमूल परिवर्तन, सैद्धान्तिक एवम् व्यावहारिक पक्षबीच सन्तुलन,
- विद्यार्थीलाई एक महिना अगावै पुस्तक,
- योग्यता र क्षमताको आधारमा कर्मचारीहरूको नियुक्ति,
- एक प्रदेश न्यूनतम एक प्रादेशिक विश्वविद्यालय,
- प्रत्येक जिल्लामा त्रिवि आंगिक क्याम्पस,
एकीकृत समाजवादी
सरकारमा आबद्ध दल एकीकृत समाजवादीले सार्वजनिक गरेको घोषणापत्रमा गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारः राष्ट्र निर्माणको आधार भन्ने मुल नारासहित शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ ।
एकीकृत समाजवादीले कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने कुरा घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्ता छन् प्रमुख शैक्षिक सवाल :
- माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क,
- सामुदायिक विद्यालयको पढाइको स्तर निजीकोे भन्दा राम्रो,
- प्राविधिक विषयमा ७० प्रतिशत जनशक्ति उत्पादन,
- ‘एक जिल्ला, एक बहुप्राविधिक शिक्षालय’, ‘एक पालिका, एक प्राविधिक विषय,’
- विद्यार्थीले ‘सिक्दै र कमाउँदै’ गर्ने प्रणालीको विकास,
- राजनीतिक हस्तक्षेपमुक्त शैक्षिक क्षेत्र,
- विद्यालय एवं बालबालिका शान्ति क्षेत्रका रुपमा स्थापित,
राप्रपा
‘शिक्षा, स्वास्थ्य र न्याय - निःशुल्क तथा समान’ भन्ने मूल नाराका साथ शिक्षालाई समेटेर राप्रपा नेपालले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ ।
वर्तमान शासकीय प्रणालीप्रति नै फरकमत राखिरहेको प्रतिपक्षी दल राप्रपाले आफ्नो चुनावी घोषणापत्रमा शिक्षालाई महत्व दिएको पाइन्छ ।
हेर्नुहोस् मुख्य बुँदा,
- काठमाडौंको बूढानिलकण्ठ स्कुल सातै प्रदेशमा स्थापना,
- प्राविधिक विद्यालयहरूलाई स्रोतसाधानयुक्त बनाइने,
- आधारभूत तहमा स्थानीय मातृभाषा शिक्षा लागु,
- कक्षा १२ सम्म पूर्णरुपमा निःशुल्क र गुणस्तरीय शिक्षा,
- प्रतिष्पर्धाबाट कुलपति, सहकुलपति र उपकुलपति चयन,
- शिक्षामा देखिएको अत्यधिक राजनीतिकरण, दलीय भागवण्डा, अराजकता र विसंगतिलाई कानूनी रुपमा अन्त्य,
- प्रत्येक स्थानीय तहमा बेरोजगार युवाको लागि सीपमूलक तालिम केन्द्र,
- सीप सिकेका युवालाई स्वदेशमै रोजगारी,
समग्रमा मूलतः सबै मुख्य दलले शिक्षालाई प्राथमिकतामा राखेर घोषणा पत्र तयार पारेको देखिन्छ । यो साँची कै व्यवहारिकरुपमा कार्यान्वयन होस् ।