बाहुण्डाँगी । मेचीनगर–३, बडाखालस्थित थेसिस अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीले चरा अवलोकन गरेका छन् ।
थेसिस अंग्रेजी मावि र र मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको सह–आयोजनामा विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ७० बढी विद्यार्थीले चरा अवलोकनमा सहभागी थिए ।
विद्यार्थीले मेचीनगर–३, महल्या चोकदेखि निन्दा खोला हुँदै पर्यटकीयस्थल बृन्दाबनसम्म पुगेर चरा अवलोकन गरेका थिए । ४५ बढी चराको नाम र जात पहिचान गरेको विद्यार्थीले बताए ।
कक्षा १० का अंकित आचार्य भन्छन् ‘हाम्रो वरिपरी यती धेरै चराहरु रहेछन् हामीलाई थाहा नै थिएन, आफ्नै गाउँका यती धेरै चराहरु चिन्न पाउँदा खुसी लागेको छ ।’ विद्यालयलाई चराहरुको अवलोकन गराएकोमा धन्यवाद दिदै अर्की विद्यार्थी समिक्षा रुचालले भनिन् ‘चराको अवलोकन त हामीले सोचेभन्दा रमाइलो भयो, हाम्रो गाउँमा कति धेरै चराहरु रहेछन् ।’
त्यस्तै कक्षा ९ मा अध्ययनरत कमल सुवेदी र १० कि सुचिता मेचेलेसमेत चरा अवलोकन गर्ने अवसर पाएकोमा विद्यालयप्रति खुशी ब्यक्त गर्दै आँफूमा चरा संरक्षणप्रति उत्सुकता जागेको प्रतिक्रिया दिए ।
विद्यार्थीलाई चराहरु चिन्न र गुण प्रकृतिलगायतको जानकारी गराउन चर्चित चरा फोटोग्राफर देवेन खरेलले सहजीकरण गरेका थिए । मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको अध्यक्षसमेत रहेका खरेलले विद्यार्थी जीवनदेखि नै सबै प्रकृति प्रेममा पर्न सके मात्रै प्रकृतिको रक्षा हुने बताए । उनले अन्य विद्यालयले पनि यस किसिमको कार्यक्रम आयोजना गरे आफू सहयोगको लागि तत्पर रहेको बताए ।
विद्यार्थीलाई किताबी ज्ञानले मात्र व्यवहारिक बनाउन नसकिने र यस्तो अध्ययन अवलोकन गराउने गरेको विद्यालयका संस्थापक प्रिन्सिपल डम्बर रुचालले बताए । विद्यार्थीलाई अवलोकन पछि अर्गानिक र रचनात्मक लेख समेटिएको अवलोकन प्रतिवेदन तयार पार्न लगाउने रुचालले बताए ।