शान्तिनगर । प्रदेश १ की सांसद सबिना बजगाईंले शिक्षाको समुन्नतिमा प्रदेश सभाको ध्यानाकर्षण भएको बताएकी छिन् ।
बुधबार बुद्धशान्ति ५ स्थित गडिगाउँ माविको ६४ औं वार्षिकउत्सव समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांसद बजगाईंले समग्र देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने शिक्षा क्षेत्रमा हरेक तहका सरकारले ध्यान दिन जरुरी रहेको बताईन् ।
हरेक विद्यालयबाट उत्पादन हुने शैक्षिक जनशक्ति दक्ष हुन सके मात्र समाज विकासले गति लिने बताउँदै सांसद बजगाईंले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत हरेक विद्यालयको ध्यान जानु पर्ने बताईंन ।
सोही अवसरमा सांसद बजगाईंले विद्यालयका नृत्यमा सहभागी बन्ने विद्यार्थीका निमित्त सांस्कृतिक पहिरन व्यवस्थापनका लागि आफ्नो ब्यक्तिगत तर्फबाट नगद ३१ हजार रुपैयाँ प्रदान गर्ने घोषणासमेत गरिन् ।
कार्यक्रममा विशिष्ट अतिथि बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले विद्यालयको भौतिक व्यवस्थापनसँगै गुणस्तर अभिवृद्धिमा गडिगाउँ माविले सन्तोषजनक नतिजा प्राप्त गरिरहेको बताए । उनले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा वृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजनालाई निरन्तरता दिएकोमा विद्यालयप्रति धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष डेगेन्द्र कार्की, पूर्व शिक्षक एवम् जनप्रतिनिधि शम्भुप्रसाद पौडेललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
ढुंगेल उत्कृष्ट शिक्षक, कार्की उत्कृष्ट अभिभावक:
गडिगाउँ माविमा कार्यरत शिक्षक कर्मचारीको तर्फबाट यो वर्षको उत्कृष्ट शिक्षकको उपाधि विद्यालयका अंग्रेजी माध्यमका इन्चार्ज ललितप्रसाद ढुंगेललाई प्रदान गरिएको छ ।
उनले विद्यालयका जग्गादाता स्व. हेमनारायण श्रेष्ठको नाममा स्थापित अक्षयकोषबाट प्राप्त हुने नगद ५ हजार, दोसल्ला तथा सम्मान पत्र प्राप्त गरे । त्यस्तै डिल्लीरमण खतिवडाबाट वार्षिकरुपमा उपलब्ध हुने आधारभूत तहमा अध्यापन गराउने शिक्षकलाई प्रदान गरिने उत्कृष्ट विषउ शिक्षक सम्मानबाट शिक्षक कुमार कार्की पुस्कृत भए । उनले नगद २ हजार एक सय रुपैयाँ प्राप्त गरे ।
त्यसैगरी वर्ष उत्कृष्ट अभिभावकमा सिता कार्कीलाई सम्मान गरिएको छ । विद्यालयको सप्ताहब्यापी वार्षिकउत्सवको अवसरमा दर्जनौं विद्यार्थी पुरस्कृत भए । अन्तरसदन, समूहगत तथा एकल स्पार्धामा सयौं विद्यार्थी सहभागी थिए ।
अन्तर सदन नृत्य प्रतियोगितामा गोदावरी सदन प्रथम, लालीगुरास सदन द्वित्तीय तथा मखमली सदन तृतीय घोषित भए । समापन समारोहको अवसरमा आयोजित वृहत सांस्कृतिक कार्यक्रमको नृत्य निर्देशन छमछमी सिजन तीन की रनरअप दिलमाया सुब्बाले गरेकी थिइन् ।
सो अवसरमा साकेला, कौडा, थारु नाच, नेवारी, लिम्बू, मगरलगायत विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । औपचारिक कार्यक्रमको सञ्चालन शिक्षकद्वय जीआर धिताल र दुर्गा ढकाल तथा सांस्कृत कार्यक्रमको सञ्चालन विद्यार्थी प्राश्ना, शुभेच्छा कुईंकेल, अभिलाषा खतिवडा र दिपा शेर्मा लिम्बूले गरेका थिए ।