विर्तामोड । नेपाल शिक्षक संघ विर्तामोड अध्यक्षमा जयप्रसाद प्रसाई चयन भएका छन् ।
संघको दोस्रो नगर अधिवेशन तथा पाचौं प्रतिनिधि सभाले प्रसाईको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
सभाले उपाध्यक्षमा सरस्वती खतिवडा र ज्ञानु न्यौपाने, सचिवमा युवराज ढकाल तथा अर्थसचिवमा तेजेन्द्र थापालाई चयन गरेको छ ।
सोही अवसरमा सेवा निवृत्त शिक्षक रामप्रसाद अधिकारी, विरेन्द्र बुढाथोकी, विद्यालय सहयोगी कर्मचारी गोपाल खनाल र ऐतबहादुर तुम्रोक तथा समाजसेवी राजु (सन्तोष ) राजवंशीलगायतलाई सम्मान गरिएको थियो ।
त्यसैगरी विर्तामोड नगरपालिका भित्र नवनियुक्त तथा सरुवा भई आएका शिक्षकलाई स्वागत तथा सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा शिक्षक मैत्री साकोसका ४३ जना सेयर सदस्यलाई सेयर प्रमाणपत्र वितरण गरिएको थियो । सभाको बन्द सत्रले आगामी कार्यभारसमेत तय गरेको छ ।
नवनिर्वाचित समितिले शिक्षक मैत्री साकोसमा सम्पूर्ण शिक्षकलाई आवद्ध गराउने, शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक छलफल, बहस र रचनात्मक कार्यक्रम संचालन गर्ने, शिक्षक तथा कर्मचारीहरुलाई आवश्यक तालिम, गोष्ठी संचालनको निम्ति पहल गर्ने प्रतिवद्धता गरेको छ ।
साथै बाल शिक्षकलाई पारिश्रमिक २८ हजारबढी, विद्यालय सहायक कर्मचारीलाई प्राथमिक तृतीय श्रेणी बराबर र विद्यालय सहयोगी कर्मचारीलाई २५ हजारबढी पु¥याउन नेपाल शिक्षक महासंघमार्फत आवश्यक पहलकदमी गर्ने जनाएको छ ।
सोको लागि आवश्यक दबावमूलक कार्यक्रम तय गर्ने तथा शिक्षक तथा कर्मचारी दुर्घटना तथा प्राणघातक रोगबाट बचाउन शिक्षक तथा कर्मचारी उपचार कोष निर्माणको निम्ति आवश्यक बहस र छलफल संचालन गर्ने, संघीय शिक्षा ऐनको निम्ति आवश्यक दवाव र आन्दोलनको घोषणा गर्न नेपाल शिक्षक संघ राष्ट्रिय समिती र नेपाल शिक्षक महासंघ संघीय समितिलाई अनुरोध गर्ने जस्ता कार्यक्रमसमेत तय गरेको छ ।
कार्यक्रममा विशिष्ट अथिति नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल, शिक्षक महासंघ झापाका संस्थापक अध्यक्ष तेजप्रसाद चौलागाईं, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष कुलप्रसाद संग्रौला, विर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाईं, वडा नम्बर ६ का अध्यक्ष सुर्यप्रसाद कदङ्गवा, वडा नम्बर १० का अध्यक्ष दुर्योधन गुरुङ्ग, शिक्षा शाखा विर्तामोडका शिक्षा अधिकृत दिनेश आचार्य, नेपाल शिक्षक महासंघ विर्तामोड अध्यक्ष युवराज कट्टेललगायतको उपस्थिति रहेको थियो ।
लिला प्रसाद भण्डारीको अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस विर्तामोड सभापति भोजराज सिटौला रहेका थिए ।
धनकुमारी खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन कैलाश पोख्रेलले गरेका थिए । १९२ शिक्षक आवद्ध संघमा ८ जना विशिष्ट र १० जना कर्मठ सदस्य रहेका छन् ।