विर्तामोड । नेपाल शिक्षक संघ झापाको नवौं अधिवेशन शनिबार आयोजना हुँदैछ । अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने हुँदा यो अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।
गिरिजाप्रसाद स्मृती भवन विर्तामोडमा हुने अधिवेशनको उद्घाटन प्रमुख अतिथि काँग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गर्ने तय भएकोे छ ।
अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघका जिल्ला अध्यक्ष नेत्रप्रसाद खरेलले जानकारी दिए । मध्यान्न १२ बजे सुरु हुने उद्घाटन सत्र अपराह्न्न ३ बजेसम्म चल्ने खरेलले बताए । ‘तीन घण्टा उद्घाटन सत्र चल्ने छ, खरेलले भने– त्यसपछि ३ बजेबाट अधिवेशनको बन्दसत्र सञ्चालन हुने तयारी गरिएको छ ।’
उद्घाटन सत्रमा १७ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिने छ । प्रत्येक पालिकाबाट एक/एक जना तथा समग्र जिल्लाबाट थप एक महिला शिक्षक तथा एक बालविकास शिक्षक सम्मानित हुने खरेलले बताए ।
बन्दसत्रमा आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिने छ । नवौं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि संघका विशिष्ठ सदस्य तथा पूर्व जिल्ला सचिव प्रकाश भण्डारीको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरिएको जनाइएको छ । समिति सदस्यमा होमराज ढकाल तथा युवराज ढकाल रहेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार २७ गते शनिबार विहान १० बजे मतदाता नामावली प्रकाशन गरिने छ । नामावली उपर दावि विरोध ११ बजे, अन्तिम नामावली प्रकाशन १२ बजे रहने छ ।
अपराह्न्न ४ बजेदेखि ५ः३० बजेसम्म मनोनयन पत्र दर्ता गरिने कार्यक्रम रहेको समिति संयोजक भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।
उम्मेदवार माथिकोे दावि विरोधका लागि २८ गते आइतबार विहान १० बजेदेखि ११ बजेसम्म तथा उम्मेदवारी फिर्ताका लागि ११ बजेदेखि ४ बजेसम्मका लागि समय दिइएको छ । आइतबार बेलुकी ५ बजे उम्मेदवारकोे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समिति संयोजक भण्डारीले बताए ।
नेतृत्व चयनका मतदान प्रव्रिmयामा जानु परे चैत ४ गते विहान ८ बजेदेखि १ बजेसम्मका लागि निर्वाचनको मिति तय गरिएको भण्डारीले जनाकारी दिए । निर्वाचन पालिकागतरुपमा सञ्चालन हुने छ ।
अधिवेशनको अन्तिम तयारी हुँदै गर्दा जिल्लामा कहलिएका केही शिक्षक नेताहरु संघकोे नेतृत्वका आकांक्षीको रुपमा रहेको बुझिएको छ । तर, नेतृत्व चयनका लागि सर्वसम्मत सहमति जुटाउने प्रयत्न जारी रहेको जिल्ला तहका एक नेताले बताए ।
अधिवेशनमा प्रमुख अतिथि शर्मासँगै काँग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरु सहभागी बन्ने आयोजकले जानकारी दिएको छ ।
शिक्षक संघ झापामा हाल २ हजार ३३ सदस्य छन् ।