कचनकवल । एक कार्यक्रमका सहभागीले शिक्षण पेसालाई थप जिम्मेवार र मर्यादित बनाउनेमा जोड दिएका छन् ।
शिक्षक सेवा आयोग उत्तीर्ण गरी कचनकवल गाउँ पालिकामा पदस्थापन भएका नवनियुक्त शिक्षक स्वागत तथा सम्मान कार्यक्रमका सहभागीले सो बताएका हुन् ।
कार्यक्रमका अधिकांश वक्ताहरूले पछिल्लो समय धेरै प्रश्न उठ्ने गरेको र महत्वका साथ हेरिएको शिक्षा क्षेत्रको समग्र सुधारका निमित्त गर्नु पर्ने भूमिका सम्बन्धमा चासो र चिन्ता व्यक्त गरेका थिए ।
सो अवसरमा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले विद्यार्थीको शैक्षिक स्तर उकास्न आगामी दिनमा गर्नुपर्ने योजना बारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल शिक्षक संघ झापा अध्यक्ष तोयानाथ दाहालले शिक्षकका समग्र मुद्दा र पछिल्लो समय उठेका सवालमा जिल्ला नेतृत्व लगातार लागि रहेको बताए । उनले नवप्रवेशि शिक्षकलाई शिक्षा क्षेत्रको लामो यात्रामा निस्किएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा कर्तव्यनिष्ठ शिक्षकको रुपमा आफुलाई प्रस्तुत गर्नेमा शिक्षक नेतृत्व विश्वस्त रहेको बताए ।
अर्का अतिथि वक्ता कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले विद्यालयको खस्किएको अवस्था सुधार गर्न, प्रअ–शिक्षक–अभिभावक समन्वय बढाउँदै लैजाने योजना आफुहरुले अघि सारेको बताए । उनले पालिका भित्रका विद्यालयमा रिक्त रहेका दरवन्दी तत्काल पदपूर्ति गर्ने तयारी गरिएको समेत बताए ।
सबैको पहल कदमीबाट मात्र समग्र शिक्षाको अवस्था सुधार गर्न सकिने बताउँदै अध्यक्ष राजवंशीले माथिल्लो तहबाट प्राप्त हुने अनुदान रोकिँदा शिक्षकको सम्झौता भंग गर्नु पर्ने अवस्था आएको बताए ।
कक्षा ८ को नतिजालाई ईङ्गित गर्दै उनले भने, ’रिजल्ट यहाँहरुले हेर्नू भएकै होला, अब बालबालिकाको स्तर कसरी सुधार गर्ने भन्ने सन्दर्भमा सबै एक जुट भएर लाग्नुको विकल्प छैन ।’
स्थानीय सरकारले विगतमा शिक्षा क्षेत्रलाई पर्याप्त ध्यान दिन नसकेको स्विकार्दै उनले शिक्षालाई सुधार गर्न के कस्ता कार्यशाला, गोष्ठी आवश्यक छ? भन्दै प्रश्न गरे । साथै उनले यस विषयमा आवश्यक सहयोग गर्न सरोकारवाला सबैमा अपिलसमेत गरे ।
प्रमुख अतिथि प्रदेश सांसद भुमिप्रसाद राजवंशीले आँफुसमेत पूर्व शिक्षकको रुपमा काम गरेको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न सबैभन्दा पहिला विद्यार्थी संख्या घट्नुको कारण खोज्नु पर्ने बताए ।
विद्यार्थी घट्ने क्रम रोक्न नसके शिक्षकको पेसा नै धरापमा पर्ने अवस्था आउन सक्नेमा चिन्ता व्यक्त
विगतमा अंग्रेजी माध्यममा कक्षा संचालन गर्न शिक्षकलाई विषयगत तालिमको समेत व्यवस्था गरेको स्मरण गर्दै सांसद राजवंशीले विद्यार्थी घट्ने क्रम रोक्न नसके शिक्षकको पेसा नै धरापमा पर्ने अवस्था आउन सक्नेमा चिन्ता व्यक्त गरे ।
विद्यालय तहमा भएका कमजोरीलाई सुक्ष्म ढंगले नियालेर निराकरणमा लाग्नु पर्नेमा उनको जोड थियो ।
शिक्षण पेसा अमर्यादित नभएको भन्दै उनले दोषारोपण गर्ने प्रवित्तिले शिक्षा क्षेत्र कमजोर बन्दै ग इ रहेको धारणा राखे । उनले ग्रामिण भेगका विद्यालयको शैक्षिक अवस्था सुधार गर्न भए दरवन्दी नभए अनुदान कोटा ल्याउन आफु प्रदेश तहबाट लागि परेको बताए ।
सो अवसरमा बाल आविका प्रअ पुण्यप्रसाद राजवंशी, शिक्षक महासंघ कचनकवल अध्यक्ष भैरवप्रसाद सिंह राजवंशी, मोती माविका प्रअ छविलाल बस्नेत, शिक्षक संघ झापा अध्यक्ष दाहाल, पालिका अध्यक्ष राजवंशी, प्रदेश सांसद राजवंशीलगायतले बोलेका थिए ।
शिक्षक संघ कचनकवल अध्यक्ष मोहनप्रसाद सिंह राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत संघ सदस्य नरेन्द्रप्रसाद राजवंशी तथा संचालन सहसचिव शिवदेब पोख्रेलले गरेका थिए ।
सहभागीको तर्फबाट शिक्षक सागरमणी निरौलाले बोलेका कार्यक्रममा नवप्रवेशि शिक्षकलाई प्रसंशापत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा महिला वक्ताको रुपमा आयोजकले कसैलाई पनि प्रतिनिधित्व गराएको थिएन ।
सुकुनाडिकी सामुदायिक हलमा शनिबार आयोजित सम्मान तथा स्वागत कार्यक्रम नेपाल शिक्षक संघ कचनकवलको आयोजनामा सम्पन्न भएको थियो ।