इटाभट्टा । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताले गणतन्त्रको स्थापना र व्यवहारिक कार्यान्वयनमा प्रेसको अतुलनीय भूमिका रहेको बताएका छन् ।
विद्यार्थीबीच सम्पन्न अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताका सहभागीले गणतन्त्र र प्रेस सन्दर्भमा आफ्ना अभिब्यक्ति दिएका हुन् ।
गणतन्त्रको स्थापना भएपनि जनताले शासनको सुःखभोग गर्न पाउने अधिकारको प्रत्याभूत अझै हुन नसकेको भन्दै सहभागी वक्ताले प्रेसको सशक्त खबरदारी आवश्यक रहेको बताए ।
कार्यक्रमका सहभागी अतिथि वक्ताले देशको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा गणतान्त्रिक शासन र न्यायपूर्ण राज्य व्यवस्थाको उपस्थिति जनाउन मिडियाको स्मरणीय योगदान रहेको चर्चा गरे ।
कार्यक्रमका प्रमुख अतिथि उपसचिव मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले शिक्षा क्षेत्रमा सोचे जस्तो वजेट छ्ट्टिन नसकेको भन्दै सिमित स्रोतका वापजुत विद्यार्थीलाई अतिरिक्त विधामा सहभागी बन्ने अवसर दिनुपर्नेमा जोड दिए ।
वक्तृतामा रमेश नेपाल पहिलो
मेचीनगरका आठ विद्यालय सहभागी प्रतियोगितामा बाल सुबोधिनी माध्यमिक विद्यालयका रमेश नेपाल ३१ अंकसहित प्रथम भएका छन् ।
यस्तै, कविशिरोमणि माध्यमिक विद्यालयकी उषा निरौला ३० दशमलव ३२ अंकसहित दोस्रो भइन् भने एभरेष्ट अंग्रेजी माध्यमिक विद्यालयकी सन्ध्या कट्टेल २९ दशमलव ८४ अंकसहित तेस्रो भएकी छिन् ।
पुरस्कार राशीको प्रायोजन उप्रेती सहमिलका सञ्चालक युवा व्यवसायी उमेश उप्रेतीले गरेका थिए । युवा व्यवसायी उप्रेतीले विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार उपलब्ध गराएको बताए ।
प्रतियोगिताको मुख्य निर्णायकको भूमिकामा साहित्यकार तथा शिक्षक मिलनकुमार ढुंगाना तथा सदस्यहरुमा साहित्यकार भुवन सुब्बा खरेल र सञ्चारकर्मी हरिकृष्ण भण्डारी रहेका थिए ।
प्रतियोगितामा प्रथम भएका विद्यार्थी नेपालले नगद ३ हजार, दोस्रोले २ हजार र तेस्रो स्थान हासिल गर्नेले नगद १ हजारसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
क्लबका अध्यक्ष डम्बर बरालको सभापतित्वमा मेचीनगरको आदर्श माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नगर शिक्षा अधिकारी भण्डारीले गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपाने, क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष मुक्ति पौडेल, सहभागी विद्यालयका तर्फबाट बाल सुबोधिनी माविका प्रधानाध्यापक विश्व थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लबका सचिव देबु बानियाँले उद्घाटन सत्र र उपाध्यक्ष जीआर धितालले स्वागतसहित प्रतियोगिताको सञ्चालन गरेका थिए । प्रेस क्लब मेचीनगरले गणतन्त्र दिवसको महत्व बुझाउन विद्यार्थी तहमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्रतिस्पर्धी विद्यार्थीहरुले गणतन्त्रको महत्वलाई विभिन्न पाटोबाट उजागरको प्रयास गरेका छन् ।