चन्द्रगढी । उच्च अदालत विराटनगर इलाम इजलासमा झापा जिल्लाबाट नै बहस पैरवी गर्न पाइने भएको छ ।
जिल्ला अदालत झापाले गरेका फैसला उपर चित्त नबुझे उच्च अदालतमा बहस पैरवी गर्न झापा जिल्ला अदालतमा भिडियो कन्फरेन्स सेवा सुरु गरिएको छ ।
जसबाट अनलाईन भिडियो बहस सेवाको सुरुवात भएको छ । अनलाईन सेवा सुरु भएसँगै सोही कामका लागि इलाम पुग्नु पर्ने छैन ।
वर्तमानमा सूचना प्रविधिको विकास र उपयोग गर्न अदालतका श्रेस्तेदार बिरेन्द्र बस्नेत समेतको पहल र सर्वोच्च अदालतको सहयोग वमोजिम सेट जडान गरी सर्वोच्च अदालतका न्यायाधिश अनिल सिन्हाले उद्घाटन गरेका थिए ।
उद्घाटनमा जिल्ला न्यायाधिश चन्द्रमणी ज्ञावली, अशोककुमार बस्नेत, रोशन गजुरेल, ईश्वरमणी ओझा, मनोजकुमार श्रीवास्तव, ओमबहादुर सोडारी, भीम बहादुर निरौला, स्रेस्तेदार बिरेन्द्र बस्नेत, तहसिलदार रामचन्द्र बस्नेत र कानुन व्यवसायीको उपस्थित रहेको थियो ।
कानुन व्यवसायी अशोककुमार पोखरेलले बुधबार भिडियोबाट प्रथम बहस गर्दै अनलाईन बहस सेवाको उद्घाटन गरे । कानुन व्यवसायी एवम् नेपालबार उपाध्यक्ष सुरज खत्री तथा शान्ता पाठकखत्रीले समेत बहस गरेका थिए ।
यसका लागि जुम आइडि लिन डि–कोर्ट को फोन नंबर ९८५२६५५०८९ र ९८४१४३१८२१ मार्फत इलाम इजलास तथा सर्वोच्च अदालतको आइटि शाखामा सम्पर्क राख्न सकिने बताइएको छ ।