झापा । अत्यधिक गर्मीका कारण झापाका सबै विद्यालय बन्द भएका छन् । झापामा सबैभन्दा पहिले कचनकबल गाउँपालिकाले गर्मीका कारण जेठ १८ गते बिहीबारबाट विद्यालय बिदा गर्ने निर्णय गरेको थियो ।
त्यस लगत्तै दमक, शिवसताक्षी र भद्रपुर नगरपालिका तथा हल्दिबारी गाउँपालिकाले बिहीबार बाटै लागू हुने गरी विद्यालय बिदा गर्ने निर्णय गरे ।
दिनप्रतिदिन गर्मी बढ्ने क्रम नरोकिएपछि झापाका अन्य पालिकाले समेत विद्यालय बिदा गर्ने निर्णय गरेका छन् ।
अत्यधिक बढेको गर्मीका कारण अवस्था असहज भएपछि १९ गते शुक्रबारबाट झापाका सबै पालिकाका विद्यालय बन्द छन् ।
पठनपाठनमा प्रतिकुल असर परेपछि बर्खे बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको पालिकाले उल्लेख गरेका छन् ।
मेचीनगर, कनकाई र अर्जुनधारा नगरपालिका तथा कचनकबल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाले सोमबारसम्म बिदा दिइएको जनाएका छन् । तर, अवस्था यस्तै रहे बिदा लम्बिन सक्ने पालिका स्रोतले बताएका छन् ।
त्यस्तै भद्रपुर, दमक र गौरादह नगरपालिका तथा बुद्धशान्ति र झापा गाउँपालिकाले मंगलबारसम्म बिदा दिएका छन् ।
बिर्तामोड नगरपालिका तथा गौरीगञ्ज र कमल गाउँपालिकाले भने बुधबारसम्म बिदा दिने निर्णय गरेका छन् ।
जिल्लास्थित सबै पालिकाका विद्यालय बन्द रहँदा बिदालाई एकरुपता दिन जिल्लाभर एकै पटक बिदा दिने सन्दर्भमा बुझ्दा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्माले विद्यालय बिदा दिने सम्बन्धमा पालिकाबाट कुनै समन्वय नभएको बताए ।
उनले भने, ‘पालिकाले आफ्नो अनुकुल बिदा दिइरहेका छन्, इकाईसँग यसबारे कुनै जानकारी आएको छैन् ।’
अत्यधिक गर्मीका कारण विद्यार्थीहरुमा स्वास्थ्य समस्या देखिन थालेको तथा बालबालिकाहरु बिरामी पर्न थालेका छन् ।
झापाको दिनको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको छ । केही दिनयता बढेको गर्मीका कारण तराईको जनजीवन नै प्रभावित बनेको छ ।