मेचीनगर । झापा जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोडले जितेको छ । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा चन्द्रगढी भेट्रान क्लबलाई ४–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । विजेता बिर्तामोडले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्दा उपविजेता बनेको चन्द्रगढीले नगद रु १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
विर्तामोडका लागि पहिलो हाफको अतिरिक्त समयमा भूपेन लिम्बूले गोलको खाता खोलेका थिए । दोस्रो हाफको आठौं मिनेटमा बिर्तामोडका लागि सन्तोष राईले दोस्रो गोल गरे । १२ औं मिनेटमा चन्द्रगढीका लागि कर्ण लिम्बूले सान्त्वना गोल फर्काए ।
लगत्तै १४ औं मिनेटमा सन्तोषले ब्यक्तिगत दोस्रो गोल गर्दा बिर्तामोडले ३–१ को अग्रता बनायोे । दोस्रो हाफको २६ औं मिनेटमा लिम्बूले ह्याट्रिक पुरा गर्दा बिर्तामोडले ४–१ को फाइनल अग्रता बनाएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता बिर्तामोडका भूपेन लिम्बू घोषित भए । त्यस्तै उत्कृष्ट गोल किपरमा बिर्तामोड कै सञ्जय ठाकुर घोषित हुँदा प्रतियोगिताको सर्वाधित गोल कर्ताको उपाधि विजेता टिमका सन्तोष लिम्बूले हात पार्न सफल भए ।
प्रतियोगिताको ज्येष्ठ भेट्रान खेलाडीको रुपमा चन्द्रगढी भेट्रानका ५९ वर्षीय उमेश ताम्राकार पुरस्कृत भए । विजेतालाई प्रमुुख अतिथि प्रदेश सांसद गोपाल तामाङ, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत, काँकरभिट्टा भेट्रान क्लबका अध्यक्ष गंगालाल गुरुङ, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, खेल संयोजक राजु गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
तुर्केनी स्पोर्टस क्लबको आयोजनामा असार १ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका ८ टिमको सहभागिता रहेको थियो ।