झापा । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्य सम्पादन परीक्षण मूल्यांकनका आधारमा झापाका पाँच उत्कृष्ट नतिजा हासिल गरेका विद्यालयको सूची सार्वजनिक गरेको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्र (एजुकेशन रिभ्यु अफिस, इआरओ) मार्फत व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका विद्यालयलाई कार्यसम्पादन परीक्षणबाट भएको मूल्यांकनमा उच्चतम अंक प्राप्त गर्ने विद्यालयको नाम सार्वजनिक गरेको हो ।
केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रबाट एक विद्यालय पर्ने गरी नामावली सार्वजनिक गरेको जनाएको छ । महानगर र उपमहानगरबाट थप २ विद्यालयको नाम समावेश गरेको छ ।
पाँच निर्वाचन क्षेत्र रहेको झापाबाट ५ विद्यालय छनोटमा परेका छन् । क्षेत्र नं १ बाट मेचीनगर–८ इटाभट्टामा रहेको आदर्श माध्यमिक विद्यालय, २ मा अर्जुनधारा–६ लक्ष्मीपुरमा रहेको लक्ष्मी माध्यमिक विद्यालय रहेका छन् ।
त्यस्तै क्षेत्र नं ३ बाट कचनकवल–३ डाँगिबारीमा रहेको मोती माध्यमिक विद्यालय, ४ मा शिवसताक्षी–११ दुधेमा रहेको राष्ट्रिय रमणीय मावि र ५ बाट कमल गाउँपालिका–३ केर्खामा रहेको सहिद धर्मभक्त माध्यमिक विद्यालय रहेका छन् ।
झापाका ५ सहित १६५ निर्वाचन क्षेत्र र थप ३५ गरी कुल दुई सय विद्यालयले ५–५ लाखको दरले नतिजामा आधारित प्रोत्साहन अनुदान पाउने भएका छन् ।
आर्थिक वर्ष २०७९–८० को कार्यक्रम अनुसार नतिजामा आधारित प्रोत्साहन अनुदानका लागि छनोट भएका विद्यालयहरूको लागि आवश्यक बजेट वित्तीय हस्तान्तरण गरिसकेको जनाएको छ ।
के हो 'इआरओ' ?
नेपालमा विद्यालयहरुको कार्यसम्पादन मूल्यांकन शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गर्छ । नेपालमा वि.सं २०६६ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्र (एजुकेशन रिभ्यु अफिस, इआरओ) को स्थापना भएको हो ।
केन्द्रले विद्यालय तहको राष्ट्रिय शैक्षिक उपलब्धि र विद्यालयहरूको कार्यसम्पादन परीक्षण गर्छ । यसै क्रममा केन्द्रबाट सिकाइ उपलब्धिको आवधिक परीक्षण साथै विद्यालय तथा निकायहरूको कार्यसम्पादन परीक्षण गरी सुधारका लागि पृष्ठपोषण प्रदान गर्ने कार्य हुँदै आएको छ ।
शिक्षा मन्त्रालयअन्तर्गतका निकायहरूको कार्य विवरण तथा जिम्मेवारीका आधारमा उक्त निकायको कार्यसम्पादनस्तरलाई दक्ष एवम् सम्बन्धित निकायका पदाधिकारीलगायतको सहभागितामा केन्द्रद्वारा तयार पारिएका विविध सूचकका आधारमा परीक्षण गरी कार्यान्वयनको अवस्था हेर्ने गरिन्छ ।
कार्यसम्पादन परीक्षणमा सम्बन्धित निकाय वा विद्यालयमा स्थलगत भ्रमण गरी अभिलेखहरूको अध्ययन, सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया गरी त्यहाँको यथार्थ अवस्था पत्ता लगाइन्छ । यस क्रममा राम्रो अवस्था देखिएमा त्यसको कारक पहिचान गर्ने र कमजोर अवस्था देखिएमा पनि त्यसका कारणको खोजी गरी सम्बन्धितलाई जानकारी गराइन्छ ।
केन्द्रबाट खटिएका कार्य सम्पादन परीक्षक, विद्यालय प्रशासन र व्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीबाट साधनमा उल्लेख भएबमोजिमका सूचकहरू प्राप्त भए–नभएको यकिन गर्दै परीक्षण गरिन्छ । यसैले कार्य सम्पादन परीक्षकले एकलरूपमा विद्यालयलाई मूल्यांकन गर्न पाउँदैन । पारदर्शी रूपमा काम हुन्छ भने दुई–तीन दिनको कार्यपछि विद्यालयको कार्यसम्पादन परीक्षणको नतिजा उतिखेरै विद्यालयले पाउँछ ।
‘इआरओ’ को मूल्यांकन सूचकले विद्यालयलाई समयानुकुल आफूलाई परिस्कृत बनाउँदै लैजान बाध्यकारी अवस्थाको सिर्जना गरेको नेपाल सरकार शिक्षा प्रशासन शाखाका उपसचिव होमनाथ भण्डारी बताउँछन् । उनले विद्यालयको हरेक गतिविधि र उपलब्धिलाई तथ्यांकमार्फत अभिलेखिकरण गर्नुपर्नेमा जोड दिए । उनले थपे,‘शिक्षालाई लगानी, प्रकृया र प्रतिफलसँग जोडेर हेर्न थालिएको छ ती सबैको अभिलेख पनि अब उत्तिकै जरुरी छ ।’
थप हेर्नुहोस् प्रोत्साहन अनुदान छनोटका आधार :