कोरोना भाइरसविरूद्ध खोप लगाएपछि शरीरमा विकास हुने प्रतिरोधक क्षमता कम्तिमा एक वर्ष रहने र यो समयक्रममा अझ बलियो हुँदै जाने भएकाले सम्भवत: जीवनभर पनि रहन सक्ने दुईवटा नयाँ अध्ययनले देखाएका छन्।
कोरोना खोपले रोगसँग लड्न मद्दत गर्छ कि गर्दैन वा यसले कम समय मात्र काम गर्छ कि भन्ने भ्रम संसारभरि कायम रहेका बेला पछिल्ला अध्ययनहरूको निष्कर्षले सबैलाई खोप लगाउन प्रोत्साहित गर्ने वैज्ञानिकहरूको विश्वास छ।
अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले दुइटा वैज्ञानिक जर्नलमा छापिएका अनुसन्धान प्रतिवेदन उद्धृत गर्दै भनेको छ, ‘एकचोटि कोरोना लागेर निको भइसकेका व्यक्तिले पहिलो खोप लगाएपछि दोस्रो डोज नलिए पनि हुने अध्ययनले देखाएको छ। एकचोटि पनि संक्रमण नभएको व्यक्तिले भने दुवै खोप लिनु जरूरी छ।’
‘कहिलेकाहीँ संक्रमण भइसकेको व्यक्तिमा शरीरले पर्याप्त प्रतिरोधक क्षमता विकास नगरेको हुनसक्छ,’ न्यूयोर्क टाइम्स लेख्छ, ‘त्यस्तो अवस्थामा दुवै डोज खोप लिनुपर्नेछ।’
यी दुवै अध्ययन करिब एक वर्षअघि कोरोना संक्रमण भएका व्यक्तिहरूमाथि गरिएका हुन्।
दुईमध्ये एउटा अध्ययन–प्रतिवेदन अन्तर्राष्ट्रिय जर्नल ‘नेचर’ मा मंगलबार प्रकाशित भएको थियो। नेचरले नयाँ–नयाँ वैज्ञानिक शोधपत्रहरू सार्वजनिक गर्छ।
यो रिपोर्टअनुसार कोरोना लागेर निको भएका व्यक्तिमा हड्डीको भित्री तह (बोन म्यारो) मा रहेका कोषहरूबाट भाइरससँग लड्ने एन्टिबडी विकास हुन्छ। शरीरलाई भाइरससँग लड्न आवश्यक परेका बेला यस्तो एन्टिबडी विकास हुने उक्त रिपोर्टमा उल्लेख छ।
अर्को प्रतिवेदन ‘बायोआर–एक्सआइभी’ नामक अनलाइनमा प्रकाशित भएको थियो। जैविक विषयका शोध सामग्रीहरू सार्वजनिक गर्ने यो अनलाइनको रिपोर्टअनुसार कोरोनासँग लड्ने एन्टिबडी संक्रमण भएको कम्तिमा १२ महिनासम्म सक्रिय रहन्छ। यो अवधिमा उक्त एन्टिबडी थप बलियो हुँदै जाने रिपोर्टमा उल्लेख छ।
शरीरमा दुई तरिकाले एन्टिबडी विकास हुन्छ। एउटा, कोरोना भाइरसको संक्रमणपछि र अर्को, कोरोनाविरुद्ध खोप लगाएपछि। दुवै अवस्थामा एन्टिबडी लामो समय जीवित र सक्रिय रहन्छ भन्ने यी अध्ययनले पुष्टि गरेको अमेरिकाको पेन्सेलभेनिया विश्वविद्यालयका इम्युनोलोजिस्ट (प्रतिरोधक क्षमता विशेषज्ञ) डा. स्कट हेन्स्लेले बताएका छन्।
‘सामान्य रुघाखोकीको भाइरसविरुद्ध खोप लगाउँदा त्यसको असर लामो समय रहँदैन। कोरोना भाइरस खोपको असर पनि छोटो समय मात्र रहन्छ कि भन्ने धेरैलाई डर थियो। यी अध्ययनले त्यो डर कम गर्न मद्दत गर्छन्,’ डा. हेन्स्लेलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स लेख्छ, ‘हामी रुघाखोकी गराउने भाइरसबाट जिन्दगीभरि संक्रमित भइरहन्छौं। यसको कारण हाम्रो कमजोर प्रतिरोधक क्षमता होइन, भाइरस आफैं नयाँ नयाँ प्रकारमा विकास भइरहने हुँदा यस्तो भएको हो।’
न्यूयोर्कस्थित रेकफेलर विश्वविद्यालयका इम्युनोलोजिस्ट माइकल नुसिन्जवेगी त यो पनि भन्छन्, ‘कोरोना संक्रमणपछि हाम्रो शरीरमा जुन एन्टिबडी विकास हुन्छ, त्यो एन्टिबडी खोपको असरले अझ बलियो भएर आउँछ। यस्तो बलियो एन्टिबडी कोरोना भाइरसका विभिन्न प्रकारसँग लड्न सक्षम हुन्छ। त्यसैले, एकचोटि संक्रमण भएर निको भइसकेको व्यक्तिले दोस्रो डोज खोप नलगाए पनि फरक पर्दैन।’
उनका अनुसार कोरोना संक्रमण पनि भएको र खोप पनि लगाएको व्यक्तिमा एन्टिबडीले राम्रो असर देखाएको छ। त्यस्तो व्यक्तिमा एन्टिबडी क्रमिक रूपले विकास हुँदै र थप बलियो पनि हुँदै गएको उनले बताए।
‘मलाई यस्तो एन्टिबडीले लामो समय काम गर्छ भन्ने विश्वास छ,’ उनले भने।
तर, यस्तै लामो असर खोपले मात्र नदेखाउन सक्छ, किनभने संक्रमणपछि प्राकृतिक रूपले शरीरमा विकास हुने एन्टिबडीको दाँजोमा खोप लगाएपछि आउने एन्टिबडी फरक हुने अध्ययनको निष्कर्ष छ।
‘जो व्यक्तिलाई कोभिड–१९ संक्रमण भएको छैन, उसलाई एउटा मात्र खोपले पुग्दैन। दोस्रो बुस्टर डोज पनि लगाउनैपर्छ,’ डा. नुसिन्जवेगीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स लेख्छ, ‘यो कुरा व्यवहारिक रूपमा पनि हामी सबैले एकदमै छिटो थाहा पाउनेवाला छौं।’
अध्ययनअनुसार कोरोना संक्रमण भइसकेपछि शरीरले ठूलो परिमाणमा एन्टिबडी विकास गर्छ। जब मान्छे संक्रमणबाट निको हुन्छ, तब एन्टिबडीका केही कोष हड्डीको भित्री तहमा गएर बसेका हुन्छन्। ती कोषले हड्डीको भित्री तहबाटै थोरै परिमाणका एन्टिबडी लगातार उत्पादन गरिरहन्छन्।
यी कोषले कसरी काम गर्छन् भनेर अनुसन्धान गर्न सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालयका अली एलेबेडीको नेतृत्वमा अनुसन्धाताहरूले तीन महिना लगाएर ७७ जना व्यक्तिको रगत विश्लेषण गरेका थिए। कोरोना संक्रमण भएको अर्को महिनाबाट उनीहरूको रगत जाँच्न थालिएको थियो।
ती ७७ जनामध्ये जम्मा ६ जना मात्र कोभिड–१९ का कारण अस्पताल भर्ना हुनुपरेको थियो, बाँकीलाई सामान्य लक्षण देखिएको थियो।
यी व्यक्तिको शरीरमा एन्टिबडीको मात्रा संक्रमणको चार महिनापछि तीव्र गतिमा घट्न थालेको थियो भने त्यसपछिका महिना विस्तारै घटेको थियो। यो नतिजा अन्य अध्ययनको निष्कर्षसँग मिल्दोजुल्दो रहेको वैज्ञानिकहरूले बताएका छन्।
यसरी एन्टिबडीको मात्रा घट्नुलाई केही वैज्ञानिकले प्रतिरोधक क्षमता कमजोर हुँदै गएको संकेतका रूपमा व्याख्या गरेका छन्। केही वैज्ञानिक भने यसलाई स्वाभाविक बताउँछन्। उनीहरूका अनुसार संक्रमणको केही महिनासम्म एन्टिबडी सक्रिय रहन्छ। त्यसपछि हड्डीको भित्री तहमा गएर निस्क्रिय अवस्थामा बस्छ। तर, जब कोरोना भाइरसले फेरि हमला गर्छ, तब एन्टिबडीले तुरुन्तै आफ्नो काम सुरू गर्छ र भाइरससँग जुध्न सक्रिय हुन थाल्छ।
डा. एलेबेडीको टिमले आफ्नो अनुसन्धान क्रममा संक्रमित व्यक्तिहरूको बोन म्यारो परीक्षण गरेका थिए।
यो टिमले १९ जना व्यक्तिबाट संक्रमण भएको लगभग सात महिनापछि बोन म्यारोको नमूना संकलन गरे। तीमध्ये १५ जना व्यक्तिको बोन म्यारोमा एन्टिबडी कोष पाइएको थियो भने चार जनामा त्यस्तो कोष फेला परेन।
यसले के देखाउँछ भने, केही व्यक्तिमा संक्रमण भएको सात महिनापछि पनि एन्टिबडी कोषहरू हुन सक्छन् भने केहीमा नहुन पनि सक्छन्।
‘तपाईं कोरोना संक्रमित हुनुभयो भन्दैमा सधैंका लागि भाइरस प्रतिरोधक क्षमता विकास भयो भन्ने हुँदैन,’ डा. एलेबेडीले भने, ‘यो निष्कर्षबाट हामी के बुझ्छौं भने, एकचोटि कोरोना भइसकेको व्यक्तिले पनि भविष्यमा हुनसक्ने संक्रमणबाट सुरक्षित रहन खोप लगाउनु जरूरी छ।’
उनको अनुसन्धानमा सहभागी १९ मध्ये ५ जनाले संक्रमण भएको सात वा आठ महिनापछि आफ्नो बोन म्यारो दान गरेका थिए। त्यसको चार महिनापछि उनीहरूले दोस्रोचोटि बोन म्यारो दान गरे। यस अवधिमा ती व्यक्तिको बोन म्यारोमा एन्टिबडी कोष स्थिर रहेको पाइएको थियो।
यसअघि सन् २००७ मा भएको एउटा अध्ययनले पनि सैद्धान्तिक रूपमा एन्टिबडी लामो समय जीवित रहने देखाएको थियो। यसपालि नयाँ अध्ययनले त्यसलाई पुष्टि गरेको टोरेन्टो विश्वविद्यालयका इम्युनोलोजिस्ट डा. जेनिफर गोमरम्यान बताउँछन्।
डा. नुसिन्जवेगीको टिमले समयक्रममा यस्तो एन्टिबडी कोष कसरी परिपक्व हुन्छ भनेर पनि अनुसन्धान गरेको थियो।
यसको निम्ति अनुसन्धाताहरूले एक वर्षअघि नै कोरोना लागेर निको भइसकेका ६३ जना व्यक्तिको रगत विश्लेषण गरेका थिए। तीमध्ये अधिकांशलाई सामान्य लक्षण देखिएको थियो भने २६ जनाले कम्तिमा एक डोज मोडर्ना वा फाइजर–बायोएनटेक खोप लगाएका थिए।
यसबाट के थाहा भयो भने, फेरि भाइरस संक्रमण हुनबाट रोक्ने एन्टिबडीको मात्रा ६ देखि १२ महिनासम्म कुनै परिवर्तन भएन। त्यसपछि विस्तारै कम हुँदै गए पनि नयाँ एन्टिबडी उत्पादन हुने क्रम जारी रहेको पाइयो, जसमा कोरोना भाइरसको नयाँ प्रकारसँग लड्ने क्षमता थियो।
खोपको एक डोज पनि नलगाएका व्यक्तिमा भने संक्रमणसँग लड्ने प्रतिरोधक क्षमता निकै कम पाइएको अनुसन्धानको निष्कर्ष छ।
केन्टकीका सांसद र्यान्ड पलले आफूलाई गत वर्ष मार्चमा संक्रमण भइसकेकाले कोरोनाविरुद्ध खोप नलगाउने बताएका छन्। वैज्ञानिकहरू भने एकचोटि संक्रमण हुनुले मात्र वर्षौंसम्म भाइरससँग लड्ने क्षमता विकास हुन्छ भन्ने ग्यारेन्टी नभएको बताउँछन्।
भाइरसका विभिन्न प्रकार विकास भइरहेकाले शरीरको प्रतिरोधक क्षमताको भरमा मान्छे दोहोर्याएर संक्रमित हुनबाट नबच्न सक्छ। यसको निम्ति खोप लगाउनु अनिवार्य भएकोमा वैज्ञानिकहरू जोड दिन्छन्।
बरू कोरोना लागेर निको भइसकेको व्यक्तिले कम्तिमा एक डोज खोप लगाएको छ भने उसको शरीरमा एकदमै बलियो प्रतिरोधक क्षमता विकास भएको अनुसन्धानबाट देखिएको छ। यो अवस्थामा त्यो व्यक्तिले नयाँ प्रकारका कोरोना भाइरससँग पनि लड्ने सामर्थ्य राख्छ।
(न्यूयोर्क टाइम्समा प्रकाशित समाचारमा आधारित)