कचनकवल । कचनकवल–३ डाँगिबारीस्थित मोती माविले शुक्रबार धान दिवस मनाएको छ । स्थानीय दुर्गा राजवंशीको पाँच कठ्ठा खेतमा रोपाईं गरी धान दिवस मनाएको हो ।
सो अवसरमा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत हिरादेवी यादव, वडाध्यक्षसहितका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक सहभागी थिए ।
‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि’ अभियानका साथ विद्यालयले राष्ट्रिय धान दिवस मनाएको विद्यालयका प्रअ छविलाल बस्नेतले जानकारी दिए । रोपाईंमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, अतिथिसहित ८० बढीको सहभागीता रहेको थियो ।
रोपाईं कै अवसरमा आयोजित औपचारिक कार्यक्रममा पालिका उपाध्यक्ष भट्टराईले मौलिकता जोगाउँदा व्यवहारिक शिक्षामा सँधै जोड दिने मोती माविको प्रशंसा गरे ।
प्रमुुख प्रशासकीय अधिकृत यादवले मोती माविले उत्पादन गरेका दक्ष प्राविधिकले आगामी दिनमा पालिकामै रहेर सेवा पुर्याउन सक्ने अवस्थाको सिर्जना भई रहेको बताईन् । उनले निकट भविष्यमा पालिकाले स्थानीय स्तरमा कृषि प्राविधिक उपभोग गर्न पाउने दावी गरिन् ।
वडाध्यक्ष ग्यास अजमल मियाँले विद्यालयलाई प्रयोगात्मक कार्य गराउनका लागि थप जग्गा उपलब्ध गराउन आफु लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे ।
सो अवसरमा विद्यालयका प्रअ बस्नेतले तीन दर्जनबढी जेटिए प्राविधिक मोती माविले उत्पादन गरि सकेको बताए । शिक्षक अभिभावक संघका अध्यक्ष वैजनाथ राजवंशीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।