गोमनसरी । नियमित जसो हुने चोरीको घटनाले विद्यालय पीडामा परेको पाइएको छ ।
मेचीनगर-७ स्थित गोमनसरीमा रहेको अरनिको माध्यमिक विद्यालयमा गएराती मात्र ४ वटा फेन एकाएक गायब भए।
'परीक्षा दिन विद्यार्थी कक्षामा जाँदा मात्र फेन नभएको थाहा पाइयो, विद्यालयका शिक्षक लोकेन्द्र थपलियाले भने,'हरेक सामान हराउने समस्याले हामी त आक्रान्त भयौं ।'
यो त पछिल्लो घटना मात्र हो । विद्यालय स्रोतका अनुसार यसअघि पनि विद्यालयमा भएका ग्याँस चुला, भाँडाकुँडा, धाराका टुट्टीलगायतका सामान हराउने गरेका छन् ।
विद्यालयमा घेराबेरा नभएको तथा खुला मैदान र भवन कै कारण हरेक सामान हराउने गरेको स्वयम् विद्यालय प्रशासन स्विकार गर्छ।
सोको सुरक्षाका लागि विद्यालयमा 'कम्पाउण्ड वाल' लगाउनका लागि धेरै तिर पहल गरे पनि हालसम्म पूरा हुन नसकेको बताइएको छ ।
चोरी भए पश्चात सुरक्षा तथा छानबिनका लागि प्रहरी चौकी सत्तिघट्टासमक्ष निवेदन दिने गरेको शिक्षक थपलियाले बताए ।
उनले वडा कार्यालय तथा सुरक्षा निकायसँग सुरक्षा तथा अन्य सहयोगको विषयमा अनुरोध गर्ने गरेको तर, अझै समस्या निराकरण हुन नसकेको दुखेसो गरे।
विद्यालयको यस्तो समस्यामा ध्यानाकर्षण गराइदिन सरोकारवाला सबैमा उनले आग्रहसमेत गरेका छन् ।
गोमनसरीमा रहेको अरनिको मेचीनगर-७ मा रहेको प्रस्तावित माविको रुपमा रहेको छ।