बोर्डका अनुसार ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या गत वर्ष ९ हजार ६३३ जना रहेकामा यसवर्ष २२ हजार ४७५ जना रहेका छन् । गत वर्ष यो संख्या कुल परीक्षार्थीको १.९४ प्रतिशत रहेकामा यस वर्ष बढेर ४.६३ प्रतिशत पुगेको छ ।
त्यस्तै ३.२ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या गत वर्ष कुल परीक्षार्थीको ८.४ प्रतिशत रहेकामा यस वर्ष बढेर ११.३६ प्रतिशत पुगेको छ ।
यस्ता छन् कारण:
कोभिड–१९ को महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाएकाले नतिजामा सुधार भएको बोर्डले बताएको छ ।
विगतका वर्षहरुमा विद्यार्थीले कक्षाकोठामा नियमित उपस्थित हुन नपाएको र शिक्षक शिक्षिकासँग भौतिक रुपमा नै परामर्श गर्न नपाएकाले नतिजा कमजोर देखिएको बोर्डको भनाइ छ ।
त्यस्तै विद्यालय र कक्षाकोठाकोअवस्था सुधार र परीक्षा प्रणालीमा आएको सुधारका कारण पनि नतिजा राम्रो आएको दाबी छ । ‘कोभिड महामारी सकिनुका अलावा यो नतिजाले देखायो कि विद्यालय र कक्षाकोठाहरुको वातावरणमा सुधार आउँदैछ, त्यसपछि परीक्षा प्रणालीमा भएको सुधार, तथा उत्तर पुस्तिका परीक्षणमा भेरिएसन कम हुने गरी गरेका सुधारले गर्दा रिजल्ट राम्रो देखियो’ बोर्ड स्रोत बताउँछ ।
बोर्डले यस वर्षदेखि अंग्रेजी, गणित र विज्ञान विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेका कारणले नतिजा सुधार आएको बताइएको छ ।