मेचीनगर । लेखक निरोज कट्टेलको पुस्तक झापा विद्रोहको अन्तर्कथा ‘२०२८’ माथिको अन्तरसंवाद सम्पन्न भएको छ ।
शनिबार काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित संवादमा लेखक तथा अधिवक्ता लीला उदासी, साहित्यकार भवानी क्षेत्री तथा पुस्तकका लेखक निरोज कट्टेलले पुस्तकले समेटेका विषयमा थप चर्चा गरेका थिए ।
झापाको पुरानो तथा ऐतिहासिक राजनैतिक घटनाक्रम ‘झापा विद्रोहको अन्तर्कथा–२०२८’ माथि सन्दर्भ, कारण र प्रभाव सन्दर्भमा खास चर्चा गरिएको थियो ।
कार्यक्रमका वक्ताहरुले पुस्तक झापामा भएको तात्कालिन विद्रोहको नालीबेली केलाउन सफल भएको धारणा राखे ।
तीन घण्टासम्म चलेको संवादमा लेखक, प्राध्यापक, शिक्षक, राजनीतिक तथा सामाजिक व्यक्तित्व, साहित्यकार, सञ्चारकर्मीलगायत सहभागी थिए ।
संवादको दोस्रो शेसनमा शिक्षक तथा साहित्यकार ज्ञानेन्द्र ढुंगाना, पत्रकार मोहन काजी, सहकारीकर्मी रामचन्द्र उप्रेती, दुर्गाप्रसाद सापकोटा, बैंकर्स केदार ढकाल, शिक्षक कविन्द्र श्रेष्ठ, शिक्षक दामोदर ढुंगेल, सञ्चारकर्मी नवराज सुवेदीलगायतले जिज्ञासासहित प्रतिक्रिया राखेका थिए ।
कार्यक्रमको सहजीकरण अध्यापक सागर शिवाकोटीले गरेका थिए । पाठकले रुचाएको कट्टेलको खोजमूलक पुस्तक यतिबेला बजारमा छ । पुस्तकको केही समय अघि राजधानी काठमाण्डौंमा विमोचन गरिएको थियो ।
पुस्तकको सन्दर्भमा झापामा भएको यो पहिलो औपचारिक कार्यक्रम हो । लेखक कट्टेल पेशाले निजामती कर्मचारी हुन् ।