बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि लोक साँस्कृतिक प्रतियोगिताको उपाधि होलिबेलले जितेको छ ।
जेसीज सप्ताहको अवसरमा शनिवार सामुदायिक हलमा सम्पन्न प्रतियोगितामा मेचीनगरका १४ वटा विद्यालयलाई पछि पार्दै होलिबेलले उपाधि चुमेको हो ।
उपाधिसँगै होलिबेलले नगद १५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा हिमालयन एकाडेमी धुलावारी दोस्रो भएको छ ।
हिमालयनले नगद १० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ भने इष्ट होराइजन अंग्रेजी मावि तेस्रो भएको छ ।
होराइजनले नगद ५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । प्रथम पुरस्कार रितिका रेडी उद्योग, दोस्रो पुरस्कार कानुनी सल्लाहकार समिर राई र तेस्रो पुरस्कार पूर्व अध्यक्ष बद्रि निरौलाले सौजन्य गरेका थिए।
प्रतियोगितामा मेचीनगरका १५ वटा विद्यालयको सहभागिता रहेको जेसीज सप्ताहका मुल कार्यक्रम संयोजक सामुल रायाले बताए।
बाहुण्डाँगी जेसीजका अध्यक्ष केवल निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर २ का वडा अध्यक्ष दिपक बराल, नेपाल जेसीजका उपाध्यक्ष बिरबहादुर बेगा बिरु, मातृ शाखा धुलावारी जेसीजका अध्यक्ष योगेश राजवंशी, बाहुण्डाँगी जेसीजका निवर्तमान अध्यक्ष सिनेटर हेमन्त मोक्तानलगायतको आतिथ्यतामा रहेको थियो ।
कार्यक्रम संयोजक देबु बानियाँले स्वागत गरेको कार्यक्रमको आस्थापाठ कार्यकारीणी उपाध्यक्ष सुस्मिता खतिवडा, सञ्चालन महासचिव नित्यानन्द चम्लगाई र एलसी श्रेष्ठले गरेका थिए ।