मेचीनगर । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदमा हालै पेश भएको शिक्षा विधेयकमा नहुनु पर्ने थुप्रै कुरा समावेश गरिएको बताएका छन् ।
पार्टीको क्षेत्रीय सम्मेलनमा शनिबार धुलावारीमा बोल्दै महामन्त्री शर्माले शिक्षकले कसरी राम्रो पढाउने भन्दा पनि मेयर साप नमस्कार भन्दै राम्रो बनिनु पर्ने अवस्था आउनु राम्रो नहुने बताए ।
शर्माले सर्वत्र अस्वीकार गरिएको शिक्षा विधेयक जस्ताको तस्तै पारित हुन नसक्ने बताए । “म संसदमा उभिएर सर्वत्र विरोध गरिएको यो शिक्षा विधेयकप्रति हाम्रो समर्थन छैन भनेर प्रधानमन्त्री समक्ष सुझाव राख्ने छु, शर्माले भने–यसलाई रुपान्तरण गरेर जान पर्छ भनेर संसदमा आवाज उठाउने छु ।”
उनले शिक्षकको श्रेणीको व्यवस्थापनदेखि शिक्षक सरुवा, आवधिक बढुवा, ट्रेड युनियनको अधिकार खोसिएको लगायतका विषयमा विधेयकमा त्रुटि रहेको औंल्याए । शर्माले विवादकै बीच विधेयकमा केही पक्षहरु भने राम्रासमेत रहेको बताए ।
सम्पत्तीको हक र हस्तान्तरण, बढुवामा आन्तरिक वा राहत कोटामा उमेरको हद नलाग्ने तथा सेवा अवधि जोडिएको जस्ता विषय सकारात्मक रहेको बताए ।
कार्यक्रमका वक्ता जिल्ला सभापति देउमान थेवेले समेत पछिले समय शिक्षा ऐनको विषयलाई लिएर शिक्षक साथीहरुको गुनासो आउन थालेको बताए ।
शिक्षा ऐनको विषयमा उठेका सवाललाई नीतिगत रुपमा हल हुनेमा उनले विश्वास व्यक्त गरे ।