झापा । संसदमा हालै दर्ता भएको विद्यालय शिक्षा विधेयकका व्यवस्थामा विरोध जनाउँदै देशभरका शिक्षक यतिबेला आन्दोलनमा छन् ।
नेपाल शिक्षक महासंघले असोज ३ गते बुधवारबाट काठमाण्डौं केन्द्रित सडक आन्दोलनको घोषणा गरि सकेको छ । आन्दोलनमा होमिएका देशभरका शिक्षक यतिबेला काठमाण्डौंमा भेलाहुने क्रम जारी छ ।
देशका ७७ वटै जिल्लाबाट शिक्षकहरु राजधानी प्रवेश गर्ने क्रम जारी रहेको तस्विरहरु सामाजिक सञ्जालमा आइरहेका छन् ।
आन्दोलनमा सहभागी हुन् झापाबाट मंगलबार मात्रै दर्जनबढी बस काठमाण्डौं प्रस्थान गरेको शिक्षक महासंघ झापाका सचिव तोया दाहाल 'भाष्कर' ले बताए । “हरेक पालिकाबाट कम्तिमा एउटा बस रिजर्भ गरेर काठमाण्डौं जाने पूर्ववत् तयारी अनुसार हामी काठमाण्डौं जाँदैछौं, शिक्षक संघ झापाका अध्यक्षसमेत रहेका दाहालले भने,–मंगलबार साँझसम्ममा पाँचसयबढी शिक्षक काठमाण्डौं प्रस्थान गरिसक्नु भएको सूचना छ ।”
उनले झापाबाट मात्र हजारबढी शिक्षक सहभागी हुने अपेक्षा गरिएको बताए । दाहालका अनुसार मेचीनगरबाट दुईवटा बसमा ६० बढी शिक्षकको टोली काठमाण्डौं प्रस्थान गरेको छ ।
टोलीमा विद्यालयका प्रधानाध्यापक, विभिन्न तहमा कार्यररत स्थायी, राहत, उच्च मावि, वाल विकास शिक्षक, कर्मचारी सबैको प्रतिनिधिमूलक सहभागीता रहेको दाहालले बताए ।
महासंघ स्रोतका अनुसार छिमेकी जिल्लाहरुबाट समेत हज्जारौंको संख्यामा काठमाण्डौंमा भेला हुने व्रmम देखिएको छ ।
बुधबार ११ बजे काठमाण्डौंको माइतिघर मण्डलामा शिक्षक महासंघले व्यापक सडक प्रदर्शन गर्ने जनाएको छ ।
पटकपकटको वार्ताबाट सहमती भइसकेका बुँदाहरु समेत विधेयकमा नसमेटिएको भन्दै शिक्षा मन्त्रालयले गरेको वार्ताको आह्वान महासंघले अस्वीकार गरेको छ ।
दलका प्रमुख सचेतसहितको वार्ता टोलीसँगमात्र सार्थक वार्ता गर्न सकिने महासंघले जनाएको छ ।