झापा । प्रतिनिधि सभामा पेश गरेको विद्यालय शिक्षा विधेयकमा संशोधन दर्ता भएका छन् । बुधबार बेलुका ४ बजे सम्मका लागि निर्धारित अवधि भित्र एक सय ५५ वटा संशोधन दर्ता भएका छन् ।
भौतिक रुपमा एक सय ५५ वटा दर्ता गरिएको तथा केही संशोधन ईमेलमा पनि प्राप्त भएका संसद सचिवालय स्रोतले जनाएको छ । विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० मा उल्लेख गरिएको विभिन्न व्यवस्था माथि सांसदहरुले एकल र सामुहिक रुपमा संशोधन हालेका छन् ।
पछिल्लो ४ घण्टामा मात्रै भौतिक रुपमा ९६ संशोधन दर्ता भएको छ । दिउँसो १२ बजे सम्म ५९ वटा संशोधन दर्ता भएकोमा १२ देखि ४ बजेको बिचमा मात्रै ९६ संशोधन दर्ता भएको संसद सचिवालय विधेयक शाखाले जनाएको छ । संशोधन दर्ता गर्न दिउँसो ४ बजे सम्मको समय तोकिएको थियो । त्यो समय घर्कर्दै जाँदा पनि कतिपय सांसदहरुले सचिवालयका कर्मचारीलाई पर्खन अनुरोध गर्दै ढिलो गरी दर्ता गर्न आएका थिए ।
यस्ता छन् मुख्य सुझाव :
विधेयकको एउटै दफामा विभिन्न सांसदले छुट्टा छुट्टै तथा एक सांसदले विभिन्न दफामा संशोधन हालेका छन् ।
अधिकाँश सांसदहरुले संविधानको मर्म विपरितका प्रावधानमा संशोधन हालेका छन् ।
जिल्ला शिक्षा कार्यालय, शिक्षा विभाग जस्ता केन्द्रिकृत निकाय राख्ने व्यवस्थामा उनीहरुको संशोधन छ । निजी विद्यालयलाई गुठिमा सञ्चालन गर्नु पर्ने वाध्यकारी व्यवस्था हुनु पर्ने, कक्षा १० को अन्तिममा लिईने परीक्षा यथावत राख्नु पर्ने तथा शिक्षक र विद्यालय कर्मचारीहरुले उठाउँदै आएका विषयलाई सहयोग पुग्ने लगायतका विषयमा सांसदहरुले संशोधन दर्ता गराएका सचिवालय श्रोतले जनाएको छ ।
तोकिएको अवधि भित्र विधेयकमा संशोधन दर्ता गराउन शिक्षक महासंघ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, निजी विद्यालय सञ्चालकहरु लगायतले सांसदहरुसँग तिव्र लविगं गरेका थिए ।
सांसदहरुको संशोधन दर्ता सँगै शिक्षा विधेयक संसदीय समितिमा जाने छ । त्यहाँ हुने छलफल पश्चात पुन संसदमा दफावार छलफल भएर पास भए पछि राष्ट्रपतिबाट प्रमाणिकरण भए पछि बल्ल विधेयक ऐन बन्ने छ । संसदीय समितिमा हुने छलफलको आयातनले यो सबै प्रकृया कहिले सम्ममा सकिन्छ भन्ने निर्धारण गर्ने छ ।