धुलाबारी । युवा तथा खेलकुद मन्त्री डिक बहादुर लिम्बुसमक्ष हरेक विद्यालयमा खेलकुद शिक्षकको दरवन्दी व्यवस्था गर्न माग गरिएको छ ।
शुभकामना तथा भेटघाट कार्यक्रममा सहभागी हुन बुधबार धुलाबारी आईपुगेका मन्त्री लिम्बुसमक्ष कार्यक्रमका सहभागीले सो माग गरेका हुन् ।
संघीय मन्त्री समक्ष अन्तरक्रियात्मक कार्यक्रमका सहभागीले आफ्नो सुझाव तथा प्रतिकृया राखेका थिए ।
नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईंले संसदीय समितिमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा शिक्षकका माग मुद्दामा परेका संशोधनका विषयमा आवाज उठाउन माग गरे ।
उनले हरेक विद्यालयमा एकवटा दरवन्दी खेल शिक्षकका निमित्त छुट्याउन जोडदार माग गरे । "मन्त्री डिकबहादुर लिम्बुको पालामा व्यवस्था भएको खेलकुद शिक्षकको दरवन्दी भन्ने इतिहास बन्नेछ, चौलागाईंले भने, 'तपाईँबाट यो निर्णायक पहल होस्।"
झापा जिल्ला कृक्रेट संघका अध्यक्ष प्रबिन थापाले झापामा क्रेक्रेट एकाडेमी स्थापना गर्न माग गरे । कृकेट संघ झापाले खेलकुद मन्त्री लिम्बुलाई मायाको चिनोसमेत प्रदान गरेको थियो ।
महाधिवेशन प्रतिनिधि बालजित राईले युवा पलायनलाई रोक्न खेल्कुदमा लगानी गर्न आग्रह गरे ।
बिनय कार्कीले २०७२ सालमा आएको युवा नीति परिवर्तन किन नभएको भन्दै प्रश्न गरे । उनले प्रति युवा १ रुपैयाँ पर्ने गरी छुट्याइएको युवा बजेट लज्जास्पद भएको बताए ।
उनले स्थानीय तहमा युवा समिति बन्न नसकेको सुझाव राखे । संघीय नीति बनिनु पर्ने धारणा राख्दै युवा लक्षित बजेट न आउने हो भने युवा देशमा बस्ने अवस्था नरहेको बताए ।
भुमि पौडेलले कबड्डी खेललाई विशेषरुपमा प्राथमिकतामा राख्न आग्रह गरे ।
अन्य सहभागीले कोशी प्रदेशमा कुनै पनि खेलकुदको राम्रो मैदान हुन नसकेको धारणा राखे । पूर्वमा खेल्नका लागि पश्चिमबाट खेलाडी आउनु पर्ने अवस्था आएको उनीहरुले बताए ।
बाँहुण्डागीका एक सहभागीले मेचीनगरको बाँहुण्डागीमा खेलकुद मैदान स्थापना गर्न पहल सुरु गरिएको बताउँदै सहयोग गर्न मन्त्री समक्ष आग्रह गरे ।
पूर्व जनप्रतिनिधि गोपाल खड्काले पार्टीको कार्यकर्ता भन्न लाजमर्दो अवस्था आएको बताउँदै युवामा आएको निराशा हटाउन आग्रह गरे ।
बुधबार नेपाली काँग्रेस मेचीनगर समितिले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो ।
नगर सभापती सुवेश कुमार पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति धनकाजी खत्री तथा संचालन मुकेश लिम्बुले गरेका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य उषा गुरुङ, महाधिवेशन प्रतिनिधि राम कट्टेल, प्रदेश सदस्य बिमल आचार्य, जिल्ला उप सभापती केशवराज पाण्डे, महाधिवेशन प्रतिनिधि राम कट्टेललगायतले सुझाव राखेका थिए ।