मेचीनगर । चाडपर्वको सन्दर्भ पारेर मेचीनगर नगरपालिकाले समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
सहभागीले शान्ति-सुरक्षा, सार्वजनिक निकायका प्रशासनिक भुमिका, सीमानाका, चोरिलगायतका विषयमा सवाल उठाए ।
अन्तरकृयातमक कार्यक्रममा सडकका खाल्डा खुल्डी किन नपुरिएको? स्वास्थ्य सचेतना, हातीको विषयदेखि स्वास्थ्य चौकीको फोहोर व्यवस्थापनसम्मका सवाल उठे ।
चोरीका घटना बढ्दै गएको भन्दै मेची उद्ध्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंले क्यामेरा र सुरक्षाको बन्दोबस्त मिलाउन आग्रह गरे ।
सहकारीकर्मी डिल्लिकुमार काफ्लेले चाडपर्वमा मासु व्यवसाय र कारोबारलाई व्यवस्थापन कसरी गर्ने भन्दै प्रश्न गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल अधिकारीले सडक बत्ति किन नफेरिएको? नेपाल-भारत मैत्री पुल सबैका लागि किन प्रयोगमा आएन ? लगायतका सवाल उठाए ।
राप्रपाका नगर सचिव विशाल वास्तोलाले फ्रेस हाउस किन नाम मात्रका भए? कसले नियमन गर्ने? सामाजिक सुरक्षा भत्ता वितरणमा किन अस्तव्यस्त भएको भन्दै प्रश्न गरे ।
काँग्रेसका क्षेत्रीय सचिव सुरेन्द्र बुढाथोकीले महंगिएको बजार अवस्थाबारे ध्यानाकर्षण गराए ।
नेकपा एमाले नगर इन्चार्ज चन्द्र प्रसाईंले सडक सुरक्षाको नाममा सर्वसाधारण र आगन्तुकले सास्ती भोग्नु नपरोस् भन्ने सुझाव राखे ।
काँग्रेस नेता मणिकुमार उप्रेतीले हाल सन्चालनमा रहेको धुलाबारी मेला सन्चालनमा अनुमति र अनुगमनको विषयमा आवाज उठाए । विद्यालय क्षेत्र आसपास मदिरा बिक्रीवितरण गर्ने गरिएको विषयमा नियमन गर्न ध्यानाकर्षण गराए ।
बसपार्क व्यवस्थापन समिति अध्यक्ष डिल्लीराम घिमिरेले दिनानुदिन काँकरभिट्टा नाकाको अवस्था दयनीय बन्दै गएको टिप्पणी गरे । हाम्रै कारणले नाकाको चेकजाँच, यात्रुले पाएको सास्तीले पर्यटक पुनः नाका फर्किएर आउन नसक्ने अवस्था बनेको बताए । काँकरभिट्टा नाका खण्डहर बनिदै गएको उनले सुझाव राखे ।
यातायात व्यवसायी संघका अध्यक्ष विष्णु श्रेष्ठले सिटी व्यवस्थापन र सोको व्यवस्थित संचालन गर्ने विषयमा ध्यानाकर्षण गराए । उनलेसमेत धुलाबारी मेलामा विकृति बढेको भन्दै रोक्न आग्रह गरे ।
अनुगमन किन दशैंमा मात्र हुन्छ ? भन्दै सहकारीकर्मी तथा व्यवसायी भगिरथ राईले व्यवहारिक अनुगमन र व्यवस्थित सीमानाका सन्दर्भमा सुझाव राखे ।
नेकपा माओवादी केन्द्रका नेता प्रकाश भण्डारीले स्थानीय सरकारले अघि सारेका योजना प्रस्तुत गर्दै आई परेका समस्या प्रस्तुत गर्न आग्रह गरे ।
भण्डारीले औपचारिक शुभकामनाभन्दा नगरका प्रगति र काम गर्नमा आई परेका व्यवधानका विषय उठान गर्न ध्यानाकर्षण गराए।
काँग्रेस जिल्ला उपसभापति केशवराज पाण्डेले चाडपर्वमा जोकोही भोकै बस्नुपर्ने अवस्थाको ख्याल गर्न आग्रह गरे ।
सकारात्मक सोच पौदा गरी समाज बदल्ने कुराको सुरुवात गर्न सबैमा उनको आग्रह थियो ।
निवर्तमान मेयर विमल आचार्यले ठगी र अनियमितता तथा दशैंको समयमा हुने मुल्यवृद्दिलगायतका विषयमा प्रभावकारी अनुगमन गर्न आग्रह गरे ।
चाडपर्वको समयमा उनले स्वास्थ्य चौकी तथा अन्य सेवा सुबिधा सुचारु गर्ने वैकल्पिक व्यवस्था मिलाउनसमेत आग्रह गरे ।
छलफलमा सहभागी सुरक्षा निकायका प्रमुखहरुले समसामयिक विषयमा उठेका सवालमा ध्यानाकर्षण भएको बताए ।
प्रदेश सांसद गोपाल तामाङले स्थानीय क्लबका युवाहरुलाई जोडेर चाडपर्व सचेतना अभियान चलाउन सुझाव राखे । उनले नाका समस्या सन्दर्भमा प्रदेश सरकार तहबाट समन्वय गर्न पहल गर्ने बताए ।
संविधान सभा सदस्य रवीन कोइरालाले चाडपर्वले हामीबीचको तिक्तता चिर्न सकोस् भन्ने कामना गरे । उनले देशमा भइ रहेको धार्मिक, सामाजिक अस्थिरतामा गम्भीर बन्न सबैमा अपिल गरे ।
बजार अनुगमन चित्तबुझ्दो भएको छैन : नगर प्रमुख बुढाथोकी
कार्यक्रममा उठेका विषयमा जवाफ दिँदै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पछिल्लो बेलायत भ्रमणका कारण अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्न ढिला भएको सहभागीलाई अवगत गराए ।
बुढाथोकीले सामाजिक सुरक्षा वितरण सवालमा सरकारले लाभग्राहीको खातामा सोझै रकम हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरेकाले वितरण प्रक्रियामा केही कठिनाई आई परेको र पर्याप्त सहजीकरण गर्न नसकिएको बताए ।
उनले बोर्डरको सहजीकरणका निमित्त हरेक नागरिक नै जिम्मेवार बन्नु पर्ने बताए । बजार अनुगमन चित्तबुझ्दो नभएको स्विकार्दै उनले यसलाई अझ प्रभावकारी बनाउने प्रतिवद्दता जनाए ।
नगरप्रमुख बुढाथोकीले स्वागत गरेको अन्तरकृयात्मक कार्यक्रमको सहजीकरण वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।
कार्यक्रममा राजनीति दलका नेतृत्व, संघ-संस्था, सामाजिक व्यक्तित्व, अगुवा नागरिक, व्यवसायी, सुरक्षा निकायका प्रमुख, पूर्व जनप्रतिनिधि, पत्रकारलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।