झापा। पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्निच्युडको भुइँचालो गयो।
भुइँचालोले रूकुम र जाजरकोटमा अहिलेसम्म कम्तिमा ३५ जनाको ज्यान गएको पुष्टि भएको छ। रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ।
भुइँचालोको धक्का काठमाडौंदेखि भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। आधा रातमा गएको भुइँचालोले पश्चिम नेपालका धेरै ठाउँमा मान्छेहरू घरबाट निस्केर बाहिर जम्मा भएका थिए।
केही समययता पश्चिम नेपालका जाजरकोट, डोटी, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोल्पा लगायतका दुर्गम जिल्लालाई केन्द्रविन्दु बनाएर लगातार भुइँचालो कम्पन महसुस गरिएको छ। अहिलेसम्म सानो सानो स्तरमा गइरहेका भुइँचालाले राष्ट्रिय चर्चा पाउने गरी क्षति गराएको छैन। तर जुन दरमा भुइँचालोको कम्पन छुट्दैछ, त्यसले पश्चिम नेपालको ठूलो भूकम्पीय जोखिमलाई दस्तक दिइरहेको छ।
यो स्टोरीमा हामी पश्चिम नेपालका विभिन्न जिल्लामा गइरहेका भुइँचालाले त्यहाँको भूकम्पीय जोखिमबारे के संकेत गर्दैछ, त्यसबारे कुरा गर्नेछौं।
नेपाल भौगोलिक रूपले भूकम्पीय जोखिममा छ भन्ने हामी सबैलाई थाहा छ। हाम्रो भूसतहमुनि इन्डियन र युरेसियन प्लेटको निरन्तर घर्षणले ठूलो परिमाणको शक्ति उत्पन्न भइरहेको हुन्छ। त्यो शक्ति जमिनमुनि थुप्रिएर बस्छ। ठूलो भुइँचालो जाँदा जमिनमुनि थुप्रिएर बसेको शक्ति एकैचोटि बाहिर निस्कन्छ। त्यसपछि फेरि त्यति नै शक्ति जम्मा हुन लामो समय लाग्छ।
त्यति बेला गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भुइँचालो गएको थियो। उक्त भुइँचालोको प्रभाव गोरखाबाट काठमाडौं हुँदै दोलखासम्म पुग्यो। यसबाट मध्य–नेपालको भूसतहमुनि लामो समयदेखि थुप्रिएर बसेको ठूलो शक्ति बाहिर निस्क्यो। त्यो शक्ति अझै पूरै निख्रिएको छैन भनेर भूगर्भविदहरू बताउँछन्। त्यसको केही हिस्सा काठमाडौंको सतहमुनि थुप्रिएर बसेको भौगर्भिक अध्ययनले देखाएको छ। त्यही थुप्रिएर बसेको शक्तिले काठमाडौंमा अहिले पनि खुसुखुसु भुइँचालो ल्याइरहेको छ।
यति हुँदाहुँदै ७.८ म्याग्निच्युडको भुइँचालो गइसकेकाले अब काठमाडौंसहित मध्य–नेपालमा त्यति नै शक्ति जम्मा भएर त्यति नै ठूलो भुइँचालो जान केही समय लाग्नसक्छ भन्ने भूगर्भविदहरूको आकलन छ।
अब प्रश्न उठ्छ, पश्चिम नेपालको भूसतहमुनि कति ठूलो शक्ति जम्मा भएर बसेको छ त?
पश्चिम नेपालमा ठूलो भुइँचालो नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ। त्यहाँ सन् १५०५ मा ८.४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको थियो।
भूगर्भविद्हरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ। सय वर्षमा त्यो दुई मिटर हुन्छ। भन्नुको मतलब, विगत पाँच सय वर्षमा १० मिटर घुस्रिसक्नुपर्ने थियो। तर पाँच सय वर्षदेखि पश्चिम नेपाल क्षेत्रमा ८ म्याग्निच्युड हाराहारीको भुइँचालो नगएकाले इन्डियन प्लेट आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन।
यसले के संकेत गर्छ भने, पश्चिम नेपालको भूसतहमुनि त्यति नै भूकम्पीय शक्ति थुप्रिएर बसेको छ, जति शक्तिले इन्डियन प्लेटलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्छ। भौगर्भिक सर्वेक्षणबाट पनि यो क्षेत्रमा ठूलो भूकम्पीय शक्ति थुप्रिएर बसेको देखिन्छ।
२०७२ सालमा ७.८ म्याग्निच्युडको भुइँचालो जाँदा मध्य–नेपालमा इन्डियन प्लेट करिब साढे तीन मिटर सरेको थियो। यस हिसाबले पश्चिम नेपालमा एकैचोटि १० मिटर सर्यो भने त्यसले लगभग ९ म्याग्निच्युडको भुइँचालो ल्याउन सक्ने भूगर्भविदहरूले बताउँदै आएका छन्।
भूसतहमुनि रहेका चट्टानी खण्डहरू (टेक्टोनिक प्लेट) कसरी र कति सर्छन् भन्ने पूर्वानुमान गर्न सकिँदैन। पश्चिम नेपालका हकमा पनि इन्डियन प्लेट एकैचोटि १० मिटर सर्न पनि सक्छ वा नसर्न पनि सक्छ। एकैचोटि १० मिटर सर्यो भने त भूगर्भविदहरूले भनेजस्तो ९ म्याग्निच्युड भुइँचालो गएर सर्वनाश हुने भइहाल्यो, तर आधा मात्र सर्यो भने पनि त्यसले ल्याउने कम्पन ८ म्याग्निच्युड हाराहारीकै हुनेछ। त्यसबाट हुने मानवीय तथा भौतिक क्षति निकै ठूलो हुनसक्छ।
पश्चिम नेपालमा गएको सन् १५०५ को भुइँचालोबारे हामीलाई धेरै कुरा थाहा छैन। यो भुइँचालोको तरंग नेपालको कहाँ–कहाँसम्म फैलिएको थियो भन्ने हालसम्म पुष्टि भएको छैन। त्यसले नेपालमा के कति क्षति पुर्याएको थियो भन्ने पनि रेकर्ड छैन।
उक्त भुइँचालोको केन्द्रविन्दु तल्लो मुस्ताङलाई मानिन्छ। त्यसैले यसलाई ‘लो–मुस्ताङ भुइँचालो’ पनि भनिन्छ। यसले भारतको नयाँ दिल्लीदेखि उत्तर भारतको ठूलो हिस्सा प्रभावित भएको थियो भनिँदै आएको छ।
पाँच सय वर्ष पुरानो उक्त भुइँचालोले नेपालको कहाँ कहाँ प्रभाव पारेको थियो भन्ने पत्ता लगाउन भूगर्भविद् दिपक चाम्लागाइँसहितको टोलीले केही समयदेखि पश्चिम नेपालका विभिन्न ठाउँको जमिन उत्खनन गरिरहेको छ। उनको टोलीमा अमेरिकाको नेभादा विश्वविद्यालयका प्राध्यापक स्टेभन वेस्नोस्की र जापानको हिरोशिमा विश्वविद्यालयका सहायक प्राध्यापक याशुहिरो कुमाहारा पनि छन्।
यो टोलीले धनगढी वरिपरि र कर्णालीको माथिल्लो भेगमा केही दरार फेला पारेको थियो। त्यसको प्रकृति हेर्दा पाँच सय वर्षअघिकै हुन सक्ने देखिए पनि उनीहरूले उत्खनन गरेर वैज्ञानिक परीक्षण भने गर्न बाँकी छ।
धेरैअघि अमेरिकी वैज्ञानिक युलले कञ्चनपुरको मछडी खोलाछेउ उक्त भुइँचालोको दरार फेला परेको दाबी गरेका थिए। तर यसको विस्तृत विवरण उपलब्ध छैन।
भौगर्भिक अध्ययनबाट भुइँचालोको दरार फेला पर्ला कि नपर्ला यसै भन्न सकिन्न। तर पश्चिम नेपालमा भुइँचालोले लगातार दस्तक दिइरहेकै छ। हामी त्यो दस्तक सुनेर मात्र बस्ने कि सम्भावित जोखिम हेरेर पूर्वतयारी पनि गर्ने? पूर्वतयारीमा हामीले गर्न सक्ने के हो?
हामीले केही समयअघि यो प्रश्न चाम्लागाइँलाई सोध्दा उनले भनेका थिए, ‘हामी भुइँचालोको प्रभाव मूल्यांकन गर्न सक्छौं। कुनै दिन ८ म्याग्निच्युडको भुइँचालो आयो भने के हुन्छ, कति ठूलो क्षति हुनसक्छ भनेर प्रभाव मूल्यांकन गर्न सक्छौं। प्रभाव मूल्यांकनपछि जोखिम न्यूनीकरणको पूर्वतयारी गर्न सकिन्छ।'
आजको मितिमा पश्चिम नेपाल भूकम्पीय जोखिममा छ भन्ने थाहा भइसकेपछि क्षेत्र विभाजन गरेर जनसंख्या बढी भएका ठाउँमा जमिनको कम्पन मापन गर्न सकिन्छ। यसलाई ‘माइक्रो–ट्रेमर’ परीक्षण भनिन्छ। यसले कुन ठाउँको जमिन भुइँचालोका हिसाबले कति जोखिममा छ भनेर छुट्टयाउँछ,’ उनले भने।
यो अध्ययनबाट भुइँचालो जाँदा कुन ठाउँको माटोले कस्तो प्रतिक्रिया दिन्छ भन्ने थाहा हुन्छ। त्यसै आधारमा भूकम्पीय हिसाबले घर बनाउन योग्य जमिन निर्धारण गर्ने र कुन ठाउँमा कति अग्लो संरचना बनाउन दिने भनेर नियम लागू गर्न सकिने चाम्लागाइँ बताउँछन्।
सेतोपाटीबाट